कुल देवता पूजा पद्धति

image_pdfimage_print

कुलदेवता पूजापद्धति
– प्रा. डा. हरिप्रसाद गौतम

कुलदेवता–संस्थापन विधि
कुलमा आफ्नो कुलको कल्याण र अभीष्टसिद्धिका लागि पहिलोपटक कुलका देवता स्थापना गर्दा ज्योतिर्विज्ञानअनुसार शुभसाइत जुराएर शुभमुहूर्तमा शुद्धजल एवं गाईको गउँत र गाईकै दूधले पवित्र बनाइएका शुभ लक्षणका मूर्ति–(प्रतिमा) हरूको “मनोजूतिः” लगायतका वैदिकमन्त्रहरूले प्राण–प्रतिष्ठा गरेर मात्र शुद्ध र सुरक्षित स्थानमा सविधि स्थापन गर्नुपर्दछ । सो सम्बन्धमा देवताको प्राधान्यको आधारमा दिक्सम्बन्धी यावत् नियमहरूको पनि विचार पु¥याउनुपर्दछ ।

कुलदेवता पूजाको पूर्वा·
कुलका देवता पूजा गर्ने दिनको अघिल्ला पूर्वाङ्गको दिनलाई चोखो खाने देवताहरू समीपमा आई बस्ने “उपवसथ” भनिन्छ । सो दिन आफ्नो घर र कुलदेवताको स्थानलाई सफासुग्घर गर्नुपर्दछ । लुगा धुने, घर लिप्नेजस्ता कार्यहरू गरेर घरका परिवारहरू शुद्ध भइरहने गर्नुपर्दछ ।

कुल देवता पूजा गर्ने दिन
सो दिन घरका परिवारले स्नान गरी पञ्चगव्य सेचन र प्राशनसमेत गरी शुद्ध भएर मात्र कुलदेवताका यावत् पूजासामग्रीहरू यथासम्भव त्यही दिनमा नै तयार गर्ने गर्नुपर्दछ ।

कुल देवता मण्डपमा गरिने कार्य
सर्वप्रथम हातगोडा धोएर सफा भई विधिपूर्वक बनाएको पञ्चगव्यले वरिपरि शुद्ध गराई मण्डप प्रवेश गर्ने सबैले नै सो पञ्चगव्य सेचन र प्राशन गरी शुद्ध हुनुपर्दछ । एकातर्फ चुलो बनाई त्यसमा पायस, हलुवा, पुरी, बाबर, पुवा, लड्डू आदि बनाउनुपर्दछ । उता मण्डपमा चाहिं कर्म गर्नका लागि तीनपटक आचमन गरी भुईंमा फूल अक्षता राखेर सोमाथि सुन, चाँदी, तामो आदिमध्ये कुनै एकबाट बनेको भाँडामा यथाविधि कर्मपात्र बनाउनुपर्दछ । त्यसपछि कर्मपात्रको कुश जलले अभिषेक गरी त्यही कुश लिएर कुलको कल्याण र अभीष्ट–सिद्धि हुने वाक्य मिलाएर कुलदेवतापूजापाठ र होमको सङ्कल्प गर्नुपर्दछ । मण्डपको वरिपरी पाँचै किसिमका वातावरणहरू अनुकूल गराउन पाँच प्रकार पृथ्वी (पूजा स्थान) का संस्कारकर्महरू गर्नुपर्दछ, जसलाई पञ्चभूसंस्कार भनिन्छ । अनि होमवेदि निर्माण गरी चोखो पिठोले रेखी हाल्नुपर्दछ । त्यसपछि त्यहाँ यज्ञियकाठका पवित्र† समिधाहरू ५+३ + ३ + ३ + २१ वटा र दक्षिणमा तीनवटासमेत मिलाएर राख्नुपर्दछ । अनि अग्निको दशसंस्कार कर्महरू गरेर कुण्डमा बाल्नुपर्दछ । त्यसै मौकामा प्रत्येक घरबाट लगेका दीयाहरू बाल्नु पर्दछ । यज्ञियपात्र, द्रव्य, हविहरू यथास्थानमा राखी तिनीहरूको संस्कार गर्नुपर्दछ । त्यसपछि अग्निदेवको “कुलकल्याणका लागि” प्रार्थना पूजा गरेर दशै दिशाका देवताहरूको पूजा गरेर अर्घ स्थापना गरी ब्रह्मा, विष्णु प्रजापतिका साथै उत्तरपट्टि प्रणीता र प्रोक्षणीपात्रमा नल र कुबेर देवताको पूजा पनि गर्नुपर्दछ । ती पवित्रकुशसहितका सिप्लिकानका प्रणीता र प्रोक्षणीका जल–पवित्रले वरिपरि र कर्ताहरूको शिरमा सेचन गर्नुपर्दछ । अनि पाँचै दिशामा कलशहरू संस्थापन गरी दीप, कलश र गणेशका साथै रक्षासूत्रको समेत यथाविधि पूजा गर्नुपर्दछ । त्यसपछि कलशको मुखमा संक्षेपमा तेत्तीसकोटि देवताहरूको नै पूजा हुने विधि अपनाइन्छ । यदि माथि सङ्कल्प गरेको छैन भने यहीँ होमको र कुलदेवतापूजा पाठ जे जे गर्ने हो ती ती सबैको वचन मिलाएर सङ्कल्प गर्नुपर्दछ । पछि प्रत्येक देवताको छुट्टाछुट्टै संकल्प वाक्य उच्चारण गरेर पूजा पनि गर्न सकिन्छ । सो गर्दा अग्निःस्थापनाको होम चतुःस्वस्तिसम्म पु¥याएर आफ्ना कुलदेवताहरूका निमित्त सामूहिक सङ्कल्प गरेर वैदिक पुरुषसूक्तका सोह्र मन्त्रहरूले क्रमशः षोडश उपचार पद्धतिद्वारा पूजा गर्ने विधिको शातातप र महर्षि पराशरले उल्लेख गरेका छन् । यसमा कसैले तिनै मन्त्रहरूद्वारा छुट्टाछुट्टै देवताहरूको पृथक्–पृथक् षोडशउपचारले पनि पूजा गर्दछन् । जे गरे पनि हुन्छ, कसै कसैले त उक्त वैदिक मन्त्रहरूका साथै पौराणिक र तान्त्रिक मन्त्रहरूसमेत मिलाई सामूहिक वा छुट्टाछुट्टै पृथक् सङ्कल्पवाक्यसमेत मिलाएर अभीष्टसिद्धिका लागि पूजा गर्ने पनि गर्दछन् । यदि छुट्टाछुट्टै (पृथक्) सङ्कल्प गरेर पूजा गर्ने हो भने त्यसका लागि “नित्यकर्मपूजापद्धति, गौरीशङ्कर गुटिका, सङ्कल्परत्नावली, सत्कर्म रत्नावली, अग्निःस्थापना पूजापद्धति” आदि हेरेर तदनुसार पूजा गर्नुपर्दछ । त्यसपछि कुलायनीसम्म होम गरेर प्रत्येक कुल देवताको निमित्त एकसयआठको आहुति दिएर होम गर्ने गरिन्छ । त्यसपछि अग्निःस्थापनको होम सकेर पूजा, पाठ, होम, जप आदिको पूर्णताको निमित्त पूर्णपात्र र भूयसी गरेर कुलदेवतामा नै अर्पण गर्ने गरिन्छ । यदि ब्राह्मण पुरोहित भएमा त आदिमा ब्राह्मणवरणसमेत गरेपछि ब्राह्मणलाई नै उक्त पूर्णपात्र र भूयसी पनि दिने चलन छ । सो गरेपछि अग्निस्थापनका कलशस्थापनका र कुलका दीयामा आवाहितसमेतका देवी देवताहरूको मात्र विसर्जन गरेर “कायेन वाचा” गरिन्छ । अनि “अब्राह्मन् ….. आ राष्ट्रे ….. योगः क्षेमो नः कल्पताम्” भन्ने वैदिक राष्ट्रगानमा आधारित मन्त्र पढेर हातमा–थालीमा हालेको प्रसादी लिने गरिन्छ । सोही कार्यलाई पाती पढ्ने भनिन्छ । त्यसपछि कलशको औषधमयजल कर्मपात्रको जलमा मिलाई समन्त्रक सबैले अमृताभिषेक लिने गरिन्छ । अनि सबैले रक्षासूत्र बाँध्ने, भष्मतिलक टीकाप्रसादि लगाई भगवान्लाई चढाएको पञ्चामृत, खीर, फल, लड्डू, वाबर, पुवा, मालपुवा आदि सेवन गरिन्छ । बढी भएको चोखो स्थानमा मात्र विसर्जन गरिन्छ । सबै कार्य सकेपछि कुलदेवताहरूलाई गोप्य गरी (छोपेर) राख्ने चलन छ ।

कुलदेवताको पूजा यथासम्भव वर्षको एक पटक गर्ने गरिन्छ । सो सम्भव नभएमा चाहिँ दुइ, तीन, चार वर्षमा त गर्नै पर्दछ ।

कुलदेवता विवेक
कुलायन र कुलायनी शब्द
सो सम्बन्धमा अथर्ववेदमा कुललाई संकेत गर्ने ‘कुलाय’ शब्दको निम्नअनुसार उल्लेख भएको छ– “कुलायं कृणवादिति” “कुलायेऽधि कुलायम्” शुक्लयजुर्वेदको वाजसनेयशाखामा कुलदेवतालाई बुझाउने “कुलायनी” शब्दबाट सुरु गरिने मन्त्रको उल्लेख छ ।

वैदिकधर्मावलम्बी हामी आर्यहरूले आफ्ना आफ्ना कुलका देवीदेवताको पूजा–होम गर्दा परापूर्वकालदेखि नै सोही मन्त्रको प्रयोग गर्दै आएका छौं । यो परम्परा कुलदेवताको पूजा होमगर्ने चलन भएदेखि नै सुरु भएको मानिन्छ ।

कुलदेवता परिचय
सृष्टिको आरम्भयुगदेखि नै आ–आफ्ना कुलको कल्याणका लागि र आफ्नो अभीष्टसिद्धिका निमित्त आ–आफ्ना कुलमा पूजा, होम (आहुति) दिंदै आएका वैदिक, पौराणिक र तान्त्रिक मान्यताभित्रका र बौद्धसंप्रदायअन्तर्गतका मुख्य देवी–देवताहरूका साथै कसैकसैले त उक्त देवीदेवताका गणभित्र पर्नेलाई र अगति परेर कुलमा मरी वायु (प्रेत) भएकालाई र काल गतिले मरेर पितृको स्थानमा रहेकाहरूलाई समेत कुलायन मान्ने गरेका छन् । कसैकसैको त आफ्ना कुलका सिद्धमहात्माहरूको पनि देवी देवतासँग पूजा गर्ने चलन पनि देखिन्छ । तर वैदिकधर्मावलम्वी हामी आर्यहरूको मुख्य मान्यता चाहिं शाश्वत् र सनातन स्रष्टा, द्रष्टा, हर्ता, भर्ता, कर्ता आदिको भूमिका निर्वहनगरी यो लोकका लागि भोग–ऐश्वर्य र परलोकका निमित्त मुक्तिसमेत दिनसक्ने देवी र देवताहरूलाई नै कुलका मुख्य देवी र देवता मान्ने हो । अगति परेर मरेका प्रेतलाई उद्धार गर्ने हाम्रो छुट्टै पौराणिक शास्त्रीय विधि र विधान छ, जुन आधारमा प्रेत भएका धुन्दुकारीको गोकर्णले समेत उद्धार गरेका थिए । कालगतिले मरेर पितृ भएकाहरूको निमित्त पनि श्राद्ध गर्ने लौकिक र वैदिक दुवै पद्धतिहरू छन् । वेदमा र श्रौतसूत्रहरूमा पितृहरूका निमित्त प्रत्येक महीनाको औंसीतिथिमा गरिने पिण्डपितृयज्ञको स्पष्ट विधान छ । अतः शुक्लयजुर्वेदको “कुलायनी” शब्द त्यस्ता प्रमुख शाश्वत् र सनातन देवी र देवताको कुलमा पूजा गरिने र उनीहरूलाई होम (आहुति) दिने कर्मलाई बुझाउने रूपले नै उल्लेख भएको बुझिन्छ । रुद्र गणेश र देवीका गण एवं देवयोनि मानिने वीर वेताल भूत प्रेतहरू त केवल बलि खाने र कुललाई भविष्यमा हानि गर्ने हुन्छन् । तिनीहरूलाई त कुलबाट पन्छाउनु पर्दछ भन्ने नै हाम्रो शास्त्रीय मान्यता हो ।

वैदिककालीन तीन देवता
यास्काचार्यले निरुक्तशास्त्रमा वेदमा उल्लेख गरेका अनेकौं देवताहरूलाई द्युलोक, अन्तरिक्षलोक र पृथ्वीमा रहने भनी तीन श्रेणीमा विभाजन गरेका छन् । तिनीहरूमध्ये पनि केवल तीनवटा देवतालाई मात्र मुख्य मानेर अरूहरूलाई उनीहरूकै सहभागी सहयोगी ठहर गरी निम्नअनुसार उल्लेख गरेका छन्– द्युलोकका विष्णु, सूर्य आदिमध्ये सूर्यलाई प्रमुख मानेका छन् । त्यस्तै अन्तरिक्षका रुद्र, इन्द्र, वरुण र वायुहरूमध्ये ‘वायुवेन्द्र’ भनी वायु र इन्द्रमध्ये एकलाई मुख्य मानेका छन् । त्यस्तै पृथ्वीवासी देवीदेवताहरूमध्ये अग्निलाई प्रमुख मानेका छन् । अरूलाई उनीहरूकै सहयात्री मानेका छन् ।

कलश–मुखमा पूजिने देवता
कुलदेवताहरूको निमित्त पूजा गर्दा सर्वप्रथम पृथ्वीका मुख्य मानिएका अग्निदेवको प्रतीक दीपस्थनारायणको पूजा गरेर मात्र द्युलोक र अन्तरिक्षका जलका अधिपति मानिने वरुणको कलशमा पूजा हुने गर्दछ । त्यसपछि गणेशको र कलश नजिकै स्थापित रक्षासूत्रको पूजा गरिन्छ । अनि कलशकै मुखमा धात्रादि बाह्र सूर्यको, वीरभद्रलगायतका एघार रुद्रहरूका साथै ध्रुव आदि आठवसुको र प्रजापति र देवताको मुखमा हवि पु¥याउने वषट्कार रूपमा अग्निको पूजा हुने गर्दछ । तीनै तेत्तीस देवताहरूको भेद उपभेदभित्र नै अरू सबै देवताहरूको अन्तर्भाव हुने शास्त्रीय मान्यताअनुसार तीनै तेत्तीस देवताको भेद उपभेद गर्दै गई पुराणहरूमा तेत्तीसकोटि देवताको नाम संख्या गणना गरिएको छ । अतः शास्त्रीय उक्त मान्यताअनुसार दीयो र कलशको त्यसरी पूजा गर्दा नै संक्षेपमा तेत्तीसकोटि देवी देवताहरूको समेत पूजा हुने गर्दछ । त्यसैकारण नेपालका प्रायः सबै जातजातिहरूले नै शुभकार्यमा र कुलदेवतापूजामा समेत दियो, कलश, गणेशलाई क्रमशः अग्रस्थान दिंदै आएका हुन् भन्ने कुरा स्पष्ट हुन्छ । एउटै तŒव (ईश्वरीय पराशक्ति) लाई नै कार्य र कारणको आधारमा तेत्तीसकोटिसम्मको नामरूपले प्रार्थना पूजा होम गरिने गरिएको हो भनी वेदमा उपदेश गरिएको छ । अतः हामीले जे नामले षोडशोपचारपूजा गर्दा पनि पुरुषसूक्तका मन्त्रहरू प्रयोग गर्ने गरेका हौं ।

कुलदेवताका रूपमा पूजिने देवताहरूको संक्षिप्त नाम
मष्ट
‘मखे स्थः’ यज्ञमा रहने, ‘मह्यां स्थः’ द्युलोकमा र पृथ्वीमा रहने देवता, मस्त . मष्टः, शिरस्थानी देवता, मस्ता . मष्टा शिरस्थानीय देवी, यस किसिमका मिल्दाजुल्दा व्युत्पत्तिको आधार लिएर सो शब्द बनेको मान्न सकिन्छ । शिवसहस्र नाम भित्र पर्ने ‘महोष्ठ’ शब्दबाट रूप परिवर्तन हुँदै स्थानीय भाषामा आइपुग्दा ‘मष्ट’ भनिएको हुन सक्तछ । मष्टका बाह्रदेखि चौरासी र त्योभन्दा पनि बढी भेद र उपभेद मानिएको छ । जसमध्ये लाटा मष्ट, रमाल (रुमाल) मष्ट, सिम मष्ट, बूढा मष्ट आदि अनेक नाम राखिएका छन् ।

लट
लटतीति लट निरन्तर गमनशीलका, हनुमान्पिता अन्तरिक्षका अधिपति प्राणीमात्रको शरीरभित्र र बाहिर पनि रहने सबैका रक्षक जीवात्मा र परमात्मरूपले पनि रहने सनातन वैदिक देवता पवन (वायु देव) जसलाई कसैले लाटा मष्ट देव भनेर पनि सायद पूजा गर्लान् । किनकि मष्टको सम्बन्ध त विशेष गरेर वायु र रुद्रका हजारौं भेद उपभेदमध्ये मुख्य (रुद्र २४०, वायु– ४९) सँग हुने शास्त्रीय आशय भएकोले । कसैले यिनैलाई नै ‘लाटा वायु’ भनेर पनि पूजा गर्ने गरेका छन् ।

मल्ल
मल्लयते “दुष्टदानवादिप्रवृत्तिनिवारणायेति मल्लः ।” दुष्ट दानवप्रवृत्तिसँग लडेर पृथ्वीको र वेदका साथै अत्रिऋषिजस्ता सज्जनहरूको सदा रक्षा गर्न लडाकु मल्लरूप लिनु हुने साक्षात् भगवान् शिव तथा नरनारायण भगवान्, जसको पूजा प्रत्येक व्यक्ति र समाजले सधैं गर्नैपर्दछ । “मायाकर्ता मल्लरूपो मल्लो मारान्तको मुनिः ।” (महामृत्युञ्जय सहस्रनाम पृ. ३१) मा भगवान् महामृत्युञ्जय शिवलाई मल्लरूप र मल्ल भनी लेखिएको छ ।

मण्डली
(मण्डलस्याधिपतिः) मण्डलका अधिपति भन्नाले भगवान् सूर्य वा “महासुखी महाजङ्घो मण्डली कुण्डली नटः ।”
(महामृत्युञ्जय सहस्रनाम पृ. ३७) यस उद्धरणअनुसार भगवान् शिवलाई पनि मण्डली भन्न सकिन्छ । यो नामले जुन देवतालाई उद्देश्य गरेर पनि पूजा गर्न मिल्दछ । देवगणलाई पनि भावना त्यस्तै भएमा यो नामबाट पूजा हुन सक्तछ ।

वराहः– यो नामबाट विष्णु, शिव र मेघको समेत पूजा हुन सक्तछ । सो शब्दले उक्त तीनवटैलाई बुझाउँदछ ।

रुद्रः– रुद्र नाम शिवको र सूर्यको छ ।

इन्द्रः– यो नामबाट सूर्य र इन्द्र दुवैको पूजा गर्न सकिन्छ ।

मरुत्वान्ः– यो नामले इन्द्र र वायुको पूजा हुन सक्तछ । इन्द्र र वायुको अभिन्न सम्बन्ध हुन्छ ।

यी र यस्ता अनेकौं नामहरूको नेपालका धेरै जातजातिहरूले कुलदेवताको रूपमा पूर्जा गर्दै आएका छन् । तीमध्ये केही शिव, विष्णु, सूर्य र गणेश, इन्द्र र वायुसँग सम्बन्धित छन् भने केही नाम ती देवताकै पाश्ववर्तीसँग पनि कर्ताको भावनाअनुसार आवद्ध हुन सक्ने देखिन्छन् । त्यस्तै विषहरीमाई, संसारी देवी, डोल्मा जस्ता केही नामहरू त आर्यधर्मका मूलदेवीहरूसँग र उनका गणसँग समेत कर्ताको भावनाअनुसार आबद्ध हुन सक्नेछन् ।

नेपालका विभिन्न जातजातिहरूले आफ्नो आफ्नो कुलमा पूजा गर्ने गरेका केही देवी र देवताहरूको सारसंक्षेप—
पूर्वेली अत्रिगोत्री खतिवडा र गौतम, आत्रेयगोत्री पोख्रेल र पौडेल, लुईंटेल, चरिकोटे चौलागाईहरू, जुम्लेली खस र खसियाहरू, अधिकारीहरूका साथै आदिबासी राउटे र डोल्पाली मगरहरूसमेत “मष्ट” लाई कुलदेवता मान्दछन् । आदिवारा मान्ने बाह्र भाइ मष्टमध्ये आदिका छ भाइ मष्टहरूको पूजा गर्ने पूर्वेली पौडेलहरू पहिले ‘आदिवारा’ भनिन्थे । हिजोआज आदिवारामा ‘ह’ अन्तिममा जोडेर ‘आदिवाराह’ को नामले पूजा गर्दछन् । जुन नाम शिव र विष्णुसँग सम्बन्धित छ ।

नेपालका आदिबासी धिमालहरूले काली र ठाकुरको, सुदूरपश्चिमका मतवाली क्षेत्रीहरूले बाह्र भाइ मष्टका साथै मालिका र मुयाँर–भैरवको, मध्यपश्चिमका मगरहरूले बागवनेर विधि नपुगी बिजालिएर मरेका मानिने आफ्ना पुर्खाको नाममा ‘मण्डले’ को र वराहको, चेपाङ्हरूले सिद्ध अकलादेवी, कालिका, मालिकाका साथै चारमाने ‘सिकारी र भूमिदेवताको, पूर्व सोलुतर्फका दश थर भएका सेर्पाहरूले (डोल्मा) देवीको, पूर्वेली कोचेहरूले कालीको, राजवंशीहरूले सर्वमङ्गला, विषहरीमाई, चण्डीदेवी र महाकालका साथै शिवठाकुर र लक्ष्मी ठकुरानीको, छन्तेलहरूले भूमेवराहको, जिरेलहरूले पार्वती र भीमसेनका साथै चारमाने सिकारी देवताको, ज्यापूहरूले भैरव भैरवी, आजू अजिमा र मच्छेन्द्रनाथका साथै भोगद्वारा पूजा गर्ने गरेका नटराज शिवको, काठमाण्डौका शाहहरूले दक्षिणकालीको, तामाङ्हरूले ‘ल्हा’ ‘चङ्’ आलि देवताको पहरीहरूले सरस्वती, वनीजखाने र गम्बारको, पूर्वेली मेचेहरूले शिवपार्वतीका साथै सरस्वती, वासमती र रक्तकालीको, दनुवारहरूले “डिहीवार” नामक देवताको, बोटेहरूले जलदेवी, खम्बादेवी र चण्डीदेवीका साथै सुनझाँक्रीको, धादिङ् भिरपानीका लुईंटेलहरूले रमाल (रुमाल) नामक मष्टको, पूर्वबाट नुवाकोट बसाइँ सरेका भनिने नेपालहरूले एउटा देवता ‘भानिज’ भनिनेलाई माथि राखेर अरू काँढा ब्रह्मा, विन्ध्यवासिनी र जालपादेवीको, दशमहाविद्याका पक्षधर नरदेवीका भट्टहरूले आनन्द भैरवको, पूर्वेली सतारहरूले ठाकुर देवको, पोखरेली रेग्मी र पूर्वेली राजवंशीहरूले नारसिंहा (नृसिंह) को, आचार्यहरूले काढा ब्रह्मा, महादेव, विन्ध्यवासिनी आदि ब्राह्मदेवताको धादिङे अधिकारीहरूले हरेक वस्तु दुई दुई भाग दिई (दूध, सेता अक्षता, सेतै श्रीखण्डचन्दन) आदिले दुईपटक पूजा गरिने र दुई सय सोह्र आहुति होम दिई कोरीपूजा गरिने कुलका मूल देवता मानिने “नानी” (नाग नागिनी) को ग र गि वर्णलोप भई सायद ‘नानी’ भनिने गरिएको हो कि ?) का साथै अरू बोकाको भोगसमेत एक एक भागद्वारा पूजा गरिने ‘नानादेवी’ ‘मष्टा’, ‘मण्डली’ ‘छरी’ ‘तपसी’ र दुर्गा गरी सातवटा देवताहरूको पूजा गर्ने गर्दछन् । तर तीन भाइका सन्तानहरूमध्ये एक थरी जिजूबज्यैले माइतिबाट कोसेलीको रूपमा ल्याएका भनी अर्कापट्टिका सन्तानहरू चाहिं उक्त सातमध्ये सायद अन्तिमका दुईटालाई छाडेर आदिका पाँच देवताको मात्र धान्यपूर्णिमामा पूजा गर्ने गर्दछन् । यस्तो कुलदेवतालाई विभिन्न सङ्कल्प गरी नेपालका धेरै जातजातिहरूले आफ्नो इष्टसिद्धिका लागि बलि दिएर पूजा पनि गर्दछन् । नेपालका पूर्वेली र पश्चिमेली (पूर्वतर्फका र पश्चिमतर्फका) गौतमहरू ‘आद्यमष्टा गौडी, क्षेत्रपाल, कटार मल्ल, गोकुलामाला–श्यामसुन्दर, पञ्चकन्या (पाँच कुमारी देवीहरू), दारेमष्ट, लाटावायु, शतभैया, अष्ट वैनी, वारामण्डली र पुरुषोत्तमको पनि पूजा गर्दछन् ।’ ती सबै नाम द्वयर्थबोधक र समानता, न्याय, गुण, दुष्टनाश, कुलमा छोरा र छोरी बराबर हुन्, उनीहरूको योगदानको कदर गरिनु पर्दछ भन्ने कुराका प्रतीक एवं बाह्र सूर्यबोधक पनि छन् ।

पूर्वेली एकथरी भट्टराईहरू पहिला पहिला बाह्र भाइ मष्टको पूजा गर्दथे । तर हिजोआज आदिका छ वटा चाहिं छोरी–ज्वाई, भाञ्जा पौडेललाई कोसेली दिइएको मानेर केवल अन्तिमका छ भाइ मष्टको मात्र पूजा गर्दछन् । वाग्लुङे पौडेलहरू कुलदेवता पूजा गर्दा अग्निस्थापनको होम चतुःस्वस्तिसम्म पुगेपछि प्रत्येक घरबाट लगिएका दीयाहरूको र कलशको पूजा गरेर कलशकै मुखमा तेत्तीसकोटि देवताको संक्षेपमा पूजा गरिसकेपछि आफ्ना मूल कुलदेवता ‘मष्ट’ को समेत त्यहीं कलशकै मुखमा षोडश उपचार विधिद्वारा पूजा गर्ने परम्परा चलिआएको बताउँदछन् । पूर्वेली अत्रिगोत्री खतिवडाहरू चाहिं अग्निस्थापनको होम चतुःस्वस्ति पुगेपछि मण्डपमा स्थापना गरिएका ‘मष्ट’ लाई महादेव मानेर पुरुषसूक्तका सोह्र ऋचाहरूद्वारा क्रमशः षोडशउपचार पूजा गर्ने र वाजसनेयसंहिता (१६ ।१–१६) नमस्तेदेखि पुनर्नमस्तेसम्मका सोह्र ऋचा सो समयमा पाठ गर्ने परम्परा चलिआएको बताउँदछन् । धादिङे एकथरी खतिवडाहरू चाहिँ सहस्त्रलिङ्ग (शिव) को र शिरोमणि (कृष्ण) का साथै दुर्गाको पूजा गर्दछन् । जुम्ला हुम्लातर्फ ‘मष्ट’ लाई हावा–हुरी, झरी–बादल र रोगव्याधिबाट रक्षा गर्ने इन्द्रका छोरा भन्दछन् । अन्तरिक्षका देवताहरूमध्ये रुद्र, वायु र इन्द्रको प्रमुख स्थान रहिआएकोले र रुद्रका मुख्य भेद २४० र वायुका सामान्यतः ४९ भेद मानिएको हुँदा त्यो भनाइ रुद्र र वायुमा मिल्ने देखिएकाले आफ्नो कुल परम्पराअनुसार मष्ट भन्नाले रुद्र वा वायु जसलाई लिए पनि हुन्छ । भावनाको कुरा हो– “सूर्यको दक्षिणपाश्र्वमा रहनेलाई माठर (यम) भनिन्छ, यम नाम शिव, विष्णु र यमराजको पनि छ । त्यही माठरबाट मष्ट भएको मानेर अथवा मार्तण्डबाट मष्ट भएको भनी सूर्यका बाह्रभेदलाई नै बाह्र मष्ट र बाह्रबराह भनिएको हो भनी कसै कसैले त मष्ट र वराह नामबाट भगवान् सूर्यको पूजा गर्न पनि सक्तछन् । एउटै तŒवको नै कार्यका भेदले अनेक नामले स्तुति प्रार्थना गरिने शास्त्रीय मान्यताभएकोले कर्ताको भावनाअनुसार जुन कुनै नामबाट पनि उनै एकलाई लक्ष्यगरी पूजा हुनसक्तछ भन्ने कुरा विष्णु, शिव, सूर्यका र महालक्ष्मी, काली, तारा, दुर्गा, त्रिपुरासुन्दरीहरूका नामहरू एक अर्काका सहस्रनाममा पाइनुबाट पनि सो सिद्ध हुन्छ । त्यही ईश्वरीय शक्ति नै सधैं कार्यमा निर्विघ्नपूर्वक सफलता दिलाउने र अनेक उपद्रवबाट र रोगव्याधिबाट रक्षा गर्ने होउन् भनेर नै आफ्ना सन्तानको नाम राख्दासमेत कुलदेवताहरूको नामसँग मिल्दो नाम राख्ने परम्परा भएको कुरा सूत्रस्मृतिमा पनि बताइएको छ ।

अत्रिगोत्री गौतमहरूले गोत्रप्रवर्तक महर्षि अत्रिको भावनामुताविक आफ्नो कुलमा जुन उद्देश्यले कुलदेवताहरूको पूजा गर्ने परम्परा बसाए त्यही उद्देश्य नै नेपालका प्रायः सबै जातजातिहरूमा पाइन्छ । विशेष गरेर दुष्टको नाश र सज्जनको उद्धार गर्ने सृष्टिका आदिम रूपका नृसिंह, वराह, महारुद्र, मल्ल, मष्ट, महालक्ष्मी, काली, दुर्गा आदिको कुलमा पूजा गर्ने परम्परा राखिनुबाट आर्यहरूको कुलदेवता पूजाको प्रमुख उद्देश्य सिङ्गो समाजकै रक्षा र उद्धार गर्ने स्वतः स्पष्ट हुन्छ ।

यस सम्बन्धमा खोजी गर्दा नेपाल, अधिकारी र गोर्खाका भट्टहरूको कुलदेवताहरूमध्ये नेपालको काँढा ब्रह्मा, अधिकारीको, झरी, तपसी र भट्टहरूको लाटा जस्ता नामको पछाडि भट्ट जोडिएको छ वटा देवता र एउटी भोग दिई पूजा गरिने देवी मानिनु, नेपालहरूको सबभन्दा माथि भानिज नामका देवता राखिनुबाट समेत देवताका साथमा सारूप्य मुक्ति पाएको विश्वासको आधारमा आफ्ना कुलका र दिदी बहिनीका कुलका समेत सिद्धमहात्माहरूको पनि कुलका देवीदेवताका साथमा पूजा गर्ने गरिएको बुझिन्छ । मध्यपश्चिमाञ्चलका मगरहरूको ‘मण्डले’ पूजा पनि यसकै रूपान्तर मान्न सकिन्छ । यस्तो परम्परा गौतमका साथै अरूहरूको कुलमा पनि चलेको भेटिन्छ । बाह्रभाइ मष्टपूजापरम्परा पनि सायद यस्तै पनि हुन सक्तछ । तेह्रथुमका ढकालहरू त मष्ट र मष्टिनी भनी कोरीपूजा गर्दछन् ।

यसरी विश्लेषण गर्दा मष्ट, मष्टा, मष्टिनी आदि नामहरूद्वारा आर्य धर्मभित्रका प्रमुख देवता शिव, वायु, (रुद्र रुद्राणी, भैरव, भैरवी) का साथै उनीहरूकै गणदेवताहरूको समेत कर्ताको भावनाअनुसार पूजा उपासना हुने गरेको बुझिन्छ ।

कुलदेवता पूजामा पशुबलि
उपनिषद्मा पशुशब्दद्वारा आफूभित्र रहेका काम, क्रोध, लोभादिहरूलाई लिइएको छ । त्यस्तै महानिर्वाणतन्त्रमा चाहिं आफूभित्र रहेका काम, क्रोधरूपका पशुहरूको बलि नचढाई देवपूजा होम जपपाठ गर्नु बेकार हुन्छ भनी लेखिएको छ । पद्मपुराण, पद्मोत्तर खण्ड, उमामहेश्वर संवादमा देवपूजा होममा पशुबलि दिनेले मरेपछि पशु भई जन्मनु पर्ने, कुम्भिपाकनरकको दुःख भोग्नु पर्ने, देवीदेवताले भोग नखाने, सात्विकवस्तुबाट नै देवीदेवता प्रसन्न हुने कुरा उपदेश गरिएको छ । देवीभागवतमा र महाभारतमा पनि सोही कुरा लेखिएको छ । अतः आफूभित्र रहेको पशुभावको बलि चढाउने उद्देश्य नै कुलदेवता पूजा–पाठ, होम–जपको रहेको हुँदा पशुबलि दिनेहरूले पनि सो नगरी ‘पशु, अज, मेष, रुधिर, रक्त’ आदि नाम भएका र परम्पराअनुसार पशुबलिको विकल्पको रूपमा प्रयोग हुँदै आएका ऊखू, कुभिण्डो, घिरौंला, नरिवलको दूध, गाईको दूध, तीनवर्षे धानको चामलबाट बनाइएका वस्तुहरू, नागरमोथे, मेषपर्णी, मेषश्रृङ्गी, मेधा, महामेधा, दालचिनी, केशर, गुग्गुलधूप, रक्तचन्दन आदि चढाउनु नै वेश छ, जसबाट देवीदेवता कुलमा कल्याण गर्ने र अभीष्टसिद्धि गराउने हुन्छन् भन्ने कुरा श्रुतिस्मृति पुराणतन्त्र र आयुर्वेदको अध्ययनबाट प्रष्ट हुन्छ ।

यसरी व्यक्ति र समाजकै कल्याण हुन सकोस् भन्ने उद्देश्यले परापूर्वकालदेखि नै गरिंदै आएको कुलदेवता पूजामा अर्काको प्राणहरण गरेर बलि दिंदा कुलको कल्याण नहुने शास्त्रीय आधारसमेत भएको हुँदा देवीदेवतालाई प्रसन्न गराउन सात्विक वस्तुहरू अर्पण गर्नु र आफूभित्र रहेको पशुभावको चाहिं बलि दिनु नै उचित देखिन्छ ।

विशेषः वेदको कर्मकाण्डभागमा मानवप्रकृति एकै प्रकारको नहुने विचार गरेर तोकिएको निश्चित समयमा यथाविधि सम्पन्न गरिने यज्ञमा मात्र पशुबलि र सुराको समेत प्रयोग हुन सक्ने छुट दिइएको हुँदा लोकमा पनि सोही आधारमा देव–पितृ–अतिथिपूजा, कुलदेवता पूजा यज्ञहरूमा सो कार्य हुने गरेको हो । तर वेदकै ज्ञानकाण्डमा चाहिं अहिंसालाई नै विशेष प्रश्रय दिइएकाले यथासम्भव कुलदेवता पूजा गर्दा पनि सात्विक (कोरी) पूजा गर्नु नै राम्रो हो ।

निष्कर्षः
यो धर्तीमा जन्मेका प्रत्येक चेतनशील मानवको मनमा आफूले गर्नुपर्ने यावत् कर्महरू निर्विघ्नपूर्वक सफल हुन सकून् भन्ने आकांक्षा हुन्छ नै, त्यसको लागि ज्ञान र बुद्धिको उसलाई सधैं उत्तिकै आवश्यकता पर्ने गर्दछ । त्यसको आपूर्ति हुन सकोस् भनी ऊ सधैं आफूभित्रको अन्तरात्मासँग प्रार्थना गर्न पुग्दछ । त्यही अन्तरात्मशक्ति नै विष्णु देवी र मङ्गलमूर्ति विनायक हुन् । यो धर्तीमा जन्मेका चेतनशील सबै मानवहरू सधैं कुनै पनि दैविदुर्घटना, प्राकृतिक प्रकोप, अल्पमृत्यु, अकालमृत्यु झेल्नु नपरोस्, सधैं सर्वत्र उल्लास र उमङ्गको वातावरण भइरहोस् भन्ने चाहना गर्दछन्, त्यो त केवल महारुद्र आदि दैवी शक्ति दाहिना भए भने मात्र सम्भव हुने कुरा हो । त्यस्तै यो धर्तीमा यथासमयमा अक्षिजनयुक्त जीवनदायी वायु प्रवाहित भइरहुन्, शरीरमा रहने प्राण, अपान, व्यान, समान, उदान वायुहरू ठीकसँग सञ्चालित भई हामीलाई सधैं स्वस्थ र सक्षम निरोगी गराई राखुन्, समय–समयमा सुवृष्टि भई सुभिक्ष्य भइरहोस् । यो मानवीय आकांक्षा तब सफल हुन्छ, जब पवनदेव हाम्रा निमित्त खुशी हुने गर्दछन् । त्यस्तै आफूलाई आवश्यक हुने यावत् धन धान्य ऐश्वर्य, ऐच्छिक वस्तुहरू र विजयश्रीको कमी कहीं कतैबाट नहोस् यो मान्छेले चाहना गर्ने कुरा हो । तर त्यो त्यसै सम्भव हुन्न कार्यमा निर्विघ्नपूर्वक सफलता, कार्य सफल गर्ने विशेष शक्ति त्यो परिचालन गर्न शारीरिक र मानसिक स्वस्थता क्रमशः गणेश, महारुद्र र पवनदेवबाट मिल्नु प¥यो । अनि मात्र महालक्ष्मीले उसलाई राम्रोसँग वरण गर्दछिन् । यी सबै कुरा देखेर डाह गर्ने दानवहरूबाट जोगिन पनि त मल्लयुद्धमा निपुण भगवान् शिव वा विष्णु नरनारायणको सहयोग र शुभाशीर्वाद नभई हुन्न भन्ने वस्तुतथ्य विचार गरेर नै हाम्रा पूर्वज महर्षि अत्रिका सन्तति गौतमहरूले ती पूर्वोक्त देवीदेवताहरूलाई दैवी र आध्यात्मिक विज्ञानअनुसार (कुलायनी) बनाई कुलमा पूजा गर्ने गरेका हुन् ।

नेपालका सबै जातजातिहरूले कुलदेवता पूजा गर्नुको व्यवहारिक उद्देश्य पनि त्यही हो । त्यसमा आफ्नो प्रकृति र परिवेशमुताविक कसैले आर्यधर्मभित्रका तीनै देवीदेवताहरूलाई नै भिन्न नामले पूजा गर्दै आएका देखिन्छन् त कसैले तीनैका गणलाई पनि देवताको रूपमा प्रमुख मानेर कुलदेवता पूजा गर्ने गरेका छन् । जेहोस् त्यसबाट सबैको उद्देश्य चाहिं कुलको कल्याण गर्नु र आफ्नो अभीष्ट सिद्धि गर्नु नै हो भन्ने स्पष्ट हुन्छ ।

कुल (देवता) पूजाको महिना
कुलदेवताको पूजा गर्दा मासका अधिष्ठाता देवीदेवताहरूमध्ये जसलाई मुख्य मानेर कुलमा पूजा गरिने हो सोही महिनाको पूर्णिमालाई प्रायः प्राथमिकता दिने गरिन्छ । धनधान्यऐश्वर्यकी अधिष्ठात्री महालक्ष्मीलाई कुलको प्रधान देवी मान्ने परम्परा भएका गौतमहरूको कुलपूजा चाहिं मुख्य बालीनाली भित्र्याई भकारी भर्ने मंसिर शुक्ल पूर्णिमामा गरिन्छ । नेपालका सबै जातजातिहरूको कुलदेवता पूजा प्रायः मंसिरदेखि ज्येष्ठ महीनाभित्रका पूर्णिमा तिथिहरूमध्ये आफ्नो परम्पराअनुसार कुनै एक पूर्णिमा तिथिमा वा माघ शुक्ल पञ्चमी (श्रीपञ्चमी) मा गर्ने चलन छ । नेपालका आदिवासीमध्ये कोही चाहिं लक्ष्मीको पूजा गरिने कार्तिक महीनाको पूर्णिमा तिथिमा पनि कुलदेवताको पूजा गर्दछन् ।

गैंडूपूजा गर्ने महिना
पशुधनवृद्धिका लागि गरिने गोठको गंैडू पूजा भने अत्रिगोत्री गौतमहरूको ज्येष्ठ शुक्ल पूर्णिमामा गर्ने चलन छ । गर्मी चढेपछि पशुहरूलाई लाग्ने अनेक किसिमका रोगव्याधिबाट र जङ्गली हिंस्रक जन्तु–जनावरबाट समेत रक्षा हुन सकोस् भन्ने उद्देश्यले गरिने गोठको गैंडुपूजामा– लक्ष्मीदेवीको लक्ष्मी गैंडू नामले र देशान र भूतादिले दुःख नदेओस् भनेर चाहिं सिकारी गैडूको छुट्टाछुट्टै स्थानमा पूजा गरी, गाईलाई दुःख दिने भोटे देवताहरूलाई भने बाजेको पालामा नाङ्लामा सबै सर्जाम राखी गोठमा घुमाई ‘छासमिसे’ वस्तुहरू धामीद्वारा फाल्ने गरिन्थ्यो । तर हिजोआज चाहिं त्यो चलन छैन । गोठको रक्षाहेतु रुद्रको पूजा गरी रुद्राष्टाध्यायी पाठ गरिन्छ । यो पूजा मंसिर पूर्णिमामा गर्न पनि सकिन्छ ।

कुलदेवता पूजाहोमपद्धति स्वास्थ्य विज्ञानका दृष्टिले
कुलदेवतापूजाहोमस्थान
सर्वप्रथम प्रत्येक कुलका सबै सदस्य जबसम्म शारीरिक र मानसिक दुवै दृष्टिबाट स्वस्थ र सक्षम हुन सक्तैनन् तबसम्म समाज स्वस्थ हुन सक्तैन । समाज स्वस्थ नभई राष्ट्रको सर्वतोमुखविकास सम्भव हुँदैन । यी सबै कुरा विचार गरेर हाम्रा पूर्वजहरूले कुलको कल्याणका लागि पूजा होम गरिने कुलदेवताको स्थानलाई वातावरणविज्ञान र स्वास्थ्यविज्ञानका दृष्टिबाट समेत उत्तिकै उचित गराउन सर्वप्रथम सफासुग्घर पारेर निरोगी गाईका गोबरले लिप्नै पर्ने नियम राखेका छन् । अतः उक्त स्थानलाई यथासम्भव जङ्गल चरेका निरोगी कोरली काली गाईका गोबरले लिप्ने गरिन्छ ।

गाईका गोबरले लिपेको स्थानको आधुनिकयन्त्रद्वारा परीक्षणगर्दा अणु र परमाणु बम–विस्फोटन भई निस्केका प्राणी मात्रका निमित्त अनेक रोग गराउने धूलिकणहरू स्वतः निस्तेज हुन जाने वैज्ञानिक निष्कर्ष भारत यात्रामा आएका पश्चिमेली वैज्ञानिक डेलिगेशनको छ । त्यस्तै धूलिकणहरूबाट नै सर्वप्रथम एड्सजस्ता खतरनाक रोगका भाइरसहरू प्रादुर्भाव भएको हुन सक्ने निष्कर्ष आधुनिक तद्विशेषज्ञ वैज्ञानिकहरूको पनि छ । हाम्रा प्राच्य तान्त्रिकहरू त्यस्तो गाईको गोबरले लिपेको स्थानमा बस्ने गरेमा सूर्यको ‘अल्ट्राभ्वाइलेट किरण’ इन्द्रेणी किरणको छाँयादोषबाट पैदा हुने शारीरिक र मानसिक (मस्तिष्क) दुवै थरी पक्षाघात हुँदैन भन्दछन् । उन्माद र पक्षाघातको उपचारका लागि सर्वप्रथम उनीहरू गाईको गोबरले नै लिपेको स्थानमा बिरामी राखेर त्यहीं सूर्यका सप्तकिरणको तान्त्रिक पूजा विधिसमेत गर्दछन् । त्यसरी गाईको गोबरले लिपेको स्थानमा बस्नेलाई पृथ्वीबाट र अन्तरिक्षबाट पैदा हुने विद्युत्तरङ्गहरूले असर नगर्ने कुरा आयुर्विज्ञान र धर्मविज्ञानको अध्ययनबाट स्पष्ट हुन्छ । त्यसकारण हाम्रा पूर्वज आर्यहरूले कुलदेवता पूजा एवं अग्निःस्थापनपूर्वक होम गर्ने स्थानमा सर्वप्रथम पञ्चभूसंस्कार गर्दा गाईको शुद्ध गोबरले नै लिप्नुपर्ने अनिवार्य नियम राखेका हुन् भन्ने कुरा बुझिन्छ । धार्मिक विज्ञानअनुसार पहिले हात गोडा धोएर मुख कुल्ला गरी चोखो धोती फेरी कुशको आसनमा बसेर तामाको भाँडामा राखेको जल अर्को भाँडामा राखी तीनपटक आचमन गर्नुपर्दछ । कुशको आसनमा बस्दा वायुजन्य, तेजजन्य, शीतजन्य तीनदोषबाट मुक्तभई स्वास्थ्य राम्रो हुन्छ भनी आयुर्वेदमा लेखेको छ । त्यस्तै तीन पटक थोरै थोरै पानी अचाउँदा श्रम, भ्रम, उन्माद, घाँटी सुक्नेजस्ता विभिन्नरोगबाट छुटकारा मिल्ने कुरा भगवान् धन्वन्तरिले सुश्रुतसंहितामा लेखेका छन् । अथर्ववेदमा चाहिं स्फटिक जस्तो कञ्चन शुद्ध जलले शारीरिक र मानसिक यावत् दोषहरू हट्दछन् भनिएको छ । फेरि आयुर्वेदमा तामाको भाँडामा राखेको जल मात्रा मिलाई पिउने गरेमा शरीरमा ताम्र गुणको आपूर्तिहुनगई चिलाउने, पिड्का उठ्ने, शरीरमा डावर देखिने चितेरोग जस्ता चर्मरोगहरू हुन्नन् भनी लेखिएको छ । धर्मविज्ञानमा त तामाको भाँडामा राखेको जल तीर्थजलसमान पवित्र हुन्छ भनेको छँदैछ ।

अतः त्यस्तो जलले आचमन गर्दा शारीरिक, मानसिक र जैविक दोष निवारण हुन गई शुद्ध हुने धर्मविज्ञानको भनाइ आयुविज्ञानअनुसार पनि सत्य सावित हुन्छ । अतः हाम्रा पूर्वज महर्षिहरूले सो नियम राखेका हुन् भन्ने कुरा स्पष्ट हुन्छ । कुलदेवताको पूजा जस्तो कार्यमा शुद्ध हुनका निमित्त हाम्रा पूर्वजहरूले यथाविधि निरोगी गाईहरूबाट बनाइएको पञ्चगव्यप्राशन र शिरमा र वरिपरिसमेत सेचन गर्नुपर्ने नियम राखेका छन् । भगवान् धन्वन्तरिले त “गोमूत्रं विषं हन्ति सुदुस्तरम्” भनी सुश्रुतमा लेखेका छन् । केवल गाईको गउँतले मात्र त क्यान्सर, कुष्ठजस्ता रोगकीट मर्दछन् भने, कुश, जल, दूबो, गाईकै दूध, दही र घिउ गोबर मात्रा मिलाई बनाएको र पूर्व फर्केर प्रातःकालीन सूर्य किरणद्वारा समेत प्रशोधित गराइएको उक्त पञ्चगव्यले शारीरिक र मानसिक रोगहरू शमन हुने कुरा सर्वविदित र प्रयोगसिद्ध पनि छ ।

अतः हाम्रा पूर्वज महर्षिहरूले शरीरलाई तन्दुरुस्त गराउने, अनेक किसिमका विषदोष एवं कीट–निवारण गर्ने, पेटको ग्याष्टिक रोगशमन गर्ने, हाड र छालाका अनेक खाले कुष्ठ र क्यान्सर दोष हटाउने पञ्चगव्यद्वारा शारीरिक र मानसिक दोषनिवारण गर्न धार्मिक कार्य गर्दा सेवन गर्नैपर्ने नियम राख्नु आधुनिक चिकित्सा विज्ञानका दृष्टिबाट पनि उत्तिकै सान्दर्भिक ठहर्दछ । कुलदेवताको पूजापाठ र होम पूर्व फर्केर दिनको पहिलो भागमा गर्नुपर्ने नियम शास्त्रमा बताइनुबाट पनि हाम्रा पूर्वजहरूले प्रातःकालीन दूषित कीटनाशक भिटामिन डी (पौष्टिक तत्वयुक्त) सूर्य किरण स्नानसमेत सो समयमा हुन सकोस् भन्ने उद्देश्य राखेको बुझिन्छ । त्यस्ता किरणहरूले शारीरिक अनेक कीट नष्ट हुन्छन् र औषधिको इञ्जेक्सनको कार्य पनि हुन्छ भनी अथर्ववेदमा स्पष्ट शब्दमा निम्नअनुसार उपदेश गरिएको छ ः

कृमीन् हन्तु रश्मिभिः ।

सूर्यः कृणोतु भेषजम् । ।

पूजा स्थानमा र अग्निवेदिको चारैतर्फ वात, पित्त र कफजन्य त्रिदोष नाश गर्ने गुण भएका कुश मिलाएर ओछ्याउनै पर्ने नियम राखिनु, शरीरमा रक्तसञ्चार ठीकसँग गराउन मद्दत पु¥याउने कुशको आसनमा बस्नै पर्ने र होम गर्दा पनि देबे्र हातमा त्यस्तै कार्य गर्ने उपनयन कुश लिएर दाहिने हातले शरीरका ‘३६०’ मुख्य नशाहरूमा र भित्री धमनीहरूमा समेत रक्तसञ्चार ठीकसँग गराउने हेतुले संक्षेपमा तेत्तीसकोटि देवताहरूलाई खयरको सुरोले घिउ हवन गर्नैपर्ने, फेरि उत्तरपट्टि त्रिदोषनाशक पवित्रले शोधन गरेको नयाँ सिप्लिकानको काठबाट बनेको वात, कफ, कृमि, मूत्राघात, पत्थरी, वात, रक्त, शीर्षवात र हृदयरोगसमेत नाश गर्ने गुण भएको प्रणीता र प्रोक्षणीको जल मिलाएर वरिपरि चारैतर्फ र कुलका सबै सदस्यहरूको शिरको ब्रह्मरन्ध्रमा समेत सेचन गर्नैपर्ने नियम राखिनुबाट उक्त पूजापद्धतिको वैज्ञानिता स्वतः स्पष्ट हुन्छ । कलशको मुखमा छोटकरीमा तेत्तीसकोटि देवीदेवताहरूको नै पूजा गर्ने सन्दर्भमा मानव स्वास्थ्यका लागि अत्यन्त नै महत्वपूर्ण कार्य गर्ने पञ्चपल्लव, पञ्चामृत, पञ्चरत्न, सर्वौषधि, जौ, तिल, कुश, सुपारी, सात ठाउँँको माटो, सस्र्यूं, दूबोका साथै उक्त देवता पूजा गर्न पाद्य, अध्र्य र आचमनीय र स्नानीय जल बनाउँदा राखिने अनेकौं द्रव्र्यौषधिहरू पनि त्यहाँ पूजा गर्दा राम्रोसँग घोलिन पुग्दछन् । त्यसरी तयार गरिएको अमृत जल कर्मपात्रको जल, प्रणीता प्रोक्षणीको जलसमेत मिलाई कर्ताहरूको शिरको मुख्य केन्द्र मानिने ब्रह्मरन्ध्रका साथै शिवरन्ध्रमा समेत अभिषेक गर्दा सबै दुर्भाग्य नाश हुन गई शारीरिक र मानसिक यावत् रोगकारक दोषहरू हट्दछन् । त्यस्तै हुतशेष–भष्मसेवन गर्नाले र उक्त भष्म मुख्य–मुख्य मर्मस्थानहरूमा प्रलेपन गर्नाले टाइफडका कीटजस्ता अनेकौै खाले (भाइरस) हरूसमेत नाश हुन्छन् । सर्वौषधि, सस्र्यू, दूबो, दहि अक्षता मिलाइएको गोबरमा डुबाई तामाको भाँडामा राखी मन्त्रचिकित्सा विधि गरिएको रक्षासूत्र बाँध्नाले भूतादि दोषबाट मुक्त होइन्छ ।

कुलदेवताको पूजा गर्दा बालिने दश धूपको धूमवाष्पद्वारा देवताहरू प्रसन्न भएर सबै कुरा राम्रो हुन्छ भन्ने शास्त्रीय सिद्धान्त छ भने अथर्ववेदमा र आयुर्वेदमा त्यस्तो धूमवाष्पप्रसारणगर्नाले– कुष्ठ, क्यान्सरजस्ता खतरनाक रोग गराउने कीट (भाइरस) हरू स्वतः नाश हुन्छन् भनिएको छ । त्यस्तै गाईको घिउ, कालातिल, उखू, नरिवल, दारव आदि द्रव्यहरू मिलाएर कुल देवताहरूको होम गर्नाले दैवी र आध्यात्मिक वातावरण अनुकूल हुन गई सबै किसिमका ऐश्वर्यहरू प्राप्त हुन्छन् र सबै किसिमका रोगबाट छुटकारा पाउन सकिन्छ भन्ने कुरा अथर्ववेद र आयुर्वेदका साथै धर्मशास्त्रको समेत अध्ययनबाट बुझिन्छ । त्यस्ता द्रव्यको धूमवाष्पले त सिसाको चूर्ण राखी तयार गरिएको मानवको मुटुलाई सोझै असर गर्ने पेट्रोलियम पदार्थबाट निस्केको धूवाँको विकारसमेत नाश हुने निष्कर्ष आधुनिक वैज्ञानिकहरूको प्रयोग परीक्षणबाट सिद्ध भइसकेको कुरा वसन्तपराञ्जपेले लेखेको र अमेरिकाको अग्निहोत्रशाला विश्वविद्यालय वासिङ्गटनबाट (२०४१–२०४५) मा सो परीक्षणको डाटा दिई प्रकाशित अग्निहोत्रपद्धतिबाट स्पष्ट हुन्छ । त्यस्तै हवनीय द्रव्यद्वारा वातावरण परिशोधित हुन सकेमा त हरितगृहको संरक्षणसमेत स्वतः हुन जाने निष्कर्ष वेलायतका वातावरणविद्हरूको पनि छ ।

त्यस्तो देवपूजा गर्दा बजाइने शङ्ख घण्टबाट दुष्टात्माहरूको निवारण हुन जाने आध्यात्मिक मन्त्रोच्चारणबाट मानसिक शान्ति प्राप्त हुने देवीदेवताका विभिन्नपूजापाठबाट र होमबाट सबै किसिमका अनिष्टहरू नाश हुनुका साथै प्रत्येक व्यक्ति एवं समाजको र सिङ्गो राष्ट्रकै कल्याण हुने शास्त्रीय सिद्धान्त भएकाले नै हाम्रा पूर्वजहरूले परापूर्वकालदेखि सोही लक्ष्य प्राप्त गर्न नै कुलदेवता पूजा पाठ, होम गर्दै आएका हुन् भन्ने कुरा स्पष्ट हुन्छ ।

कुलदेवता पूजा पद्धतिबाट प्राप्त स्वास्थ्य लाभ सारांश
१) पञ्चगव्यको सेचनप्राशनबाट विभिन्न खाले कीटादिदोष निवारण, २) कर्मपात्रको र प्रणीताप्रोक्षणीको कुशजलसेचन तथा कलशको अमृतजलसेचनबाट सर्वदौभ्र्याग्य एवं ग्रह र भूतादिदोष निवारण, कुशास्तरण, कुशासन र उपनयनकुशग्रहणबाट शीतत्व, उष्णत्व र वातजन्य– विकारनाश, तीनपटक गरिने आचमनबाट– भ्रम, श्रम, मूच्र्छा, उन्माद रोग शमन हुने, पूर्व फर्केर त्यतिबेला गरिने पूजापाठबाट प्रातःकालीन सूर्य किरण स्नान र त्यसबाट शारीरिक कीटनाश एवं भिटामिन डी युक्त पौष्टिक तत्व प्राप्ति हुने, त्यतिबेला बझाइने शङ्ख–घण्टबाट दुष्टात्माहरूको निवारण हुन जाने र होमजन्य र दश धूपजन्यधूमवाष्पद्वारा सबै खाले वातावरणदोष निवारण भई हरितगृहको संरक्षणद्वारा दैवीप्रकोप उपशन हुन गई सुवृष्टि र सुभिक्ष्य हुने, सर्वौषधि, सस्र्यूंलगायतका वस्तुमा डुबाई ताम्रपात्रमा राखी मन्त्रेको रक्षासूत्रले भूतादिदोषनिवारण एवम् शान्तिस्वस्तिपाठबाट मानसिक शान्ति र मनोचिकित्सा, रुद्री पाठबाट सर्वरोग निवारण हुन गई दैवी वातावरण अनुकूल भएर सर्वत्र सफलता, देव्यथर्वशीर्ष र श्री सूक्त आदिको पाठबाट अभीष्टसिद्धि, सो समयमा पूजा होम गर्दा र पात्रहवि संस्कार गर्दा दुवै हात र शरीरका ३६० नशा धमनीहरू सञ्चालनबाट ती सबै तन्दुरुस्त हुन गई रक्तसञ्चारमा समेत कुनै गडबड नहुने, हुतशेष सेवन र भष्मादिप्रलेपनबाट टाइफाइड जस्ता कीट निवारण हुन जान्छ र स्पर्श चिकित्सा कार्य पनि सम्पन्न हुन्छ । यसरी गरिने पूजा, होमबाट जलचिकित्सा, मन्त्रचिकित्सा, ध्वनिचिकित्सा, रत्नजल र रत्नौषधि–चिकित्सा, यज्ञियचिकित्सा पूरा हुन गई आयुर्वैदिक रसादि काष्ठादि र भष्मादि औषधिकार्य एवं कलशमा राखिएका सप्तमृद्द्वारा त मृज्जलचिकित्साको कार्यसमेत सम्पन्न हुन पुग्दछ । अतः स्वास्थ्यविज्ञानका दृष्टिले नै हाम्रा पूर्वजले उक्त पूजा पद्धति अपनाउने गरेका हुन् ।

कुलदेवता पूजा विधि
पञ्चगव्य बनाउने विधि
यसमा गउँत एक भाग, गोबर आधा भाग, दूध तीन भाग, दही दुई भाग, कुश पानी एक भाग मिलाएर क्रमशः तल लेखिएका मन्त्र पढ्दै एक एक गरेर एउटा चोखो भाँडामा राख्नू । यसमा यथासम्भव निरोगी नीली अथवा कैली गाईको गउँत, काली गाईको गोबर, राती गाईको दूध, सेती गाईको दही, कैली गाईको घिउ लिनू अथवा सेती गाईको दूध, राती गाईको दही, माली गाईको घिउ लिनू । त्यो नपाए त आकार प्रकार नहेरी केवल निरोगी गाईहरूको लिनू ।

मन्त्रः– गउँतको– गायत्रीमन्त्र ………

गोबरको– ॐ गन्धद्वारां दुराधर्षां नित्यपुष्टां करीषिणीम् ।

ईश्वरीं सर्व भूतानां तामिहोपह्वये श्रियम् ।

दूधको– ॐ आप्यायस्व समेतु ते विश्वतः सोभ वृष्ण्यम् ।

भवा वाजस्य सङ्गथे ।

दहीको– ॐ दधिक्राब्णोऽअकारिषञ्जिष्णोरश्वस्य वाजिनः ।

सुरभिनो मुखाकरत् प्रणऽआयूंषि तारिषत् ।

घिउको– ॐ तेजोसि शुक्रमस्य मृतमसि धामनामासि ।

प्रियन्देवानामनाधृष्टं देवयजनमसि । ।

कुशजलको– ॐ देवस्य त्वा सवितुः प्रसवेऽश्विनोर्बाहुभ्यां पूष्णो हस्ताभ्याम् । ।

यसरी मन्त्र पढेर सबै राखिसकेपछि हातमा पवित्र र दूबो लिएर तलको मन्त्रले चलाउनू

ॐ आपो हिष्ठा मयो भुवस्ता न ऊर्जे दधातन । महेरणाय चक्षसे । ।

त्यसपछि तलको मन्त्रले मन्त्रिनू–

ॐ मा नस्तोके तनये मा न ऽआयूषिं मानो गोषु मानोऽश्वेषु रीरिषः ।

मा नो वीरान् रुद्र भामिनो वधीर्हविष्मन्तः सदमित्वा हवामहे । ।

यसै गरी गायत्री मन्त्रले दश पटक सूर्यतर्फ फर्केर भिटामिन डी सूर्यकिरण पर्ने गरी मन्त्रनू अनि शिरको ब्रह्मरन्ध्र र शिवरन्ध्रमा सेचन गरी तलको मन्त्रले खानुपर्दछ–

“यत् त्व गस्थि गतं पापं देहे तिष्ठति मामके ।

प्राशनात् पञ्चगव्यस्य दहत्वग्निरेवेन्धनम् । ।

विशेष
जङ्गल चरेका कोरली निरोगी सलक्षणा गाईहरूको गउँत र गोबर त्यस्तै पहिला दोस्रा बेते निरोगी सवत्सा सलक्षणा गाईहरूको दूध, दही, घिउ मात्रा मिलाएर राख्नुपर्ने र त्यसमा त्रिदोष निवारक कुश र जल राखी सूर्यकिरणद्वारा र मन्त्रद्वारा समेत प्रशोधित पञ्चगव्यमा कुष्ठ, क्यान्सर, दाद, लुतो, भिरिङ्गी, प्रदर आदि सबै खाले शारीरिक तथा मानसिक रोगहरू निको गर्न सक्ने गुणले गर्दा मानिस सधैं स्वस्थ तन्दुरुस्त भइरहने भएकोले हाम्रा पूर्वजहरूले हाड र छालाभित्रका पाप (कीट) हरू पनि नाश गरी स्वस्थ र पवित्र हुनलाई नै पञ्चगव्यप्राशनविधिलाई नित्य र नैमित्तिक दुवै कार्यमा अनिवार्य गरेका हुन् भन्ने कुरा वेद आयुर्वेदका साथै तन्त्र र पुराणहरूको समेत तुलनात्मक अध्ययनबाट स्पष्ट हुन्छ । अतः धर्मविज्ञानले पनि चान्द्रायण व्रत गर्नुपर्ने पापको प्रायश्चित्तका लागि समेत यथाविधि तयार गरिएको पञ्चगव्यको नै महत्व बताएको हो भन्ने कुरा छर्लङ्ग हुन्छ । पञ्चगव्य नपाएमा चाहिं तामाको भाँडामा कुश, जल, सुन राखी तयार गरिएको शुद्ध जल सेचनप्राशन गर्नू ।

कर्मपात्र बनाउने विधि
कर्मपात्र बनाउने कर्ताले हातगोडा धोई मुख कुल्ला गरी शुद्ध वस्त्र पहिरिएर चोखो भइकन पूजा गर्ने स्थानमा आएर पूर्व फर्की कुशको आसनमा बस्नु र तीनपटक शुद्ध जल आचमन गर्नु अनि ॐ आधारशक्तये नमः भनेर आफ्नो अगाडि भूँईमा फूल अक्षताहरू चढाएर त्यसमाथि तामाको कर्मपात्रो राख्नू र त्यसमा क्रमैले तलका मन्त्रहरूद्वारा पवित्र कुश, जल, चन्दन, अक्षता, फूलहरू राखेर कर्मपात्र तयार गर्नू ।

पवित्र र कुश राख्ने मन्त्र
ॐ पवित्रेस्थो वैष्णव्यौ सवितुर्वः प्रसव उत्पुनाम्यछिद्रेण पवित्रेण सूर्यस्य रश्मिभिः । देवीरापोऽअग्रे गुवोऽअग्रे पुवोग्रऽइममद्य यज्ञन्नयताग्रे यज्ञपतिंः सुधातुं यज्ञपतिन्देवयुवम् । ।

जल राख्ने मन्त्र
ॐ शन्नो देवीरभिष्ट्य ऽ आपो भवन्तु पीतये ।

शंयोरभि स्रवन्तु नः । ।

चन्दन राख्ने मन्त्र
ॐ गन्धद्वारां दुराधर्षां नित्यपुष्टां करीषिणीम् ।

ईश्वरीं सर्वभूतानां तामिहोपह्वये श्रियम् । ।

अक्षता राख्ने मन्त्र
ॐ अक्षन्नमीमदन्त ह्यवप्रियाऽअधूषत ।

अस्तोषत स्वभानवो विप्रानविष्ठयामती योजान्वीन्द्रते हरी ।

जौ राख्ने मन्त्र
ॐ यवोसि यवयास्मद्द्वेषो यवयारातीः …………….

तिल राख्ने मन्त्र
ॐ तिलोसि सोमदेवत्यो गोसवो देवनिर्मितः ।

प्रत्नमद्भि पृक्तः स्वधया पितृंल्लोकान् प्रीणाहि नः स्वाहा । ।

फूल राख्ने मन्त्र
ॐ श्रीश्चते लक्ष्मीश्च पत्न्यावहोरात्रे पाश्र्वे नक्षत्राणि रूपमश्विनौ व्यात्तम् ।

ईष्णन्निषाणा मुम्मऽइषाण सर्वलोकम्म इषाण । ।

कुलदेवता पूजा संकल्प
कर्मपात्रको जल अभिमन्त्रण
कर्मपात्रबाट तीन टुक्रा कुश लिएर सर्वप्रथम त्यसले कर्मपात्रको जललाई चलाएर तलका तीन मन्त्रले अभिमन्त्रण गर्नू–

ॐ यद्देवा देवहेडनन्देवासश्चकृमावयम् ।

अग्निर्मा तस्मादेनसो विश्वान्मुञ्चत्वं हस । ।

ॐ यदि दिवा यदि नक्तमेनांसि चकृमावयम् ।

वायुर्मा तस्मादेनसो विश्वान्मुञ्चत्वं हसः ।

ॐ यदि जाग्रद्यदि स्वप्नऽएनांसि चकृमावयम् ।

सूर्योर्मा तस्मादेनसो विश्वान्मुञ्चत्वं हसः । ।

त्यसपछि त्यही कुशले आफ्नो शिरमा र वरिपरि कर्म गर्ने स्थानमा समेत सेचन गर्नू र पुनः जल लिई तलको संकल्प गर्नू–

कुलदेवता पूजा संकल्प
हरिः ॐ हरिः ॐ हरिः ॐ ॐ तत्सत् ॐ तत्सत् ॐ तत्सत् विष्णुः विष्णुः विष्णुः श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य सकलजगत्सृष्टिकारिणो ब्रह्मणो द्वितीयपराद्र्धे श्रीश्वेतवाराहकल्पे वैवस्वतमन्वन्तरे अष्टाविंशतितमे कलियुगे कलियुगस्य प्रथमचरणे (भारतवर्षे भरतखण्डे) जम्बूद्वीपे (आर्यावर्तान्तर्गते हिमवद्दक्षिणेपाश्र्वे वाग्मतिविष्णुमतिसमिपे वा तयोः अमुकपाश्र्वे (वा अमुकतीरे) अमुकपुण्यभूमौ पाशुपतक्षेत्रे१) बौद्धावतारे षष्टिसंवत्सराणां मध्ये अमुकनाम्नि संवत्सरे अमुकायने अमुकर्तौ अमुकमासे अमुकपक्षे अमुकवासरे अमुकतिथौ अमुकराशिस्थिते श्रीसूर्यनारायणे अमुकराशिस्थिते चन्द्रमसि अमुकराशिस्थिते देवगुरौ शेषेषु ग्रहेषु यथायथास्थानस्थितेषु सत्सु एवं ग्रहगुणविशेषणविशिष्टायां अमुकपुण्यतिथौ अत्रिगोत्रोत्पन्नस्य त्रिप्रवरस्य अमकनाम्नो मम सभार्यस्य सपुत्रस्य सकुटुम्बस्य सवंशस्यायुरारोग्यैवर्योत्तरोत्तरहर्षविजयोदयपूर्वकदारिद्रयदुःखदुर्भिक्षदौर्मनस्यदौर्भाग्यो–पसर्गमहामारी(त्रासोल्कापातनिर्घातभूकम्पादिसूचितदोषग्रहभूतादिदोषदेवीदेवतादिदोषनागादिदोषाल्पमृत्यु अकालमृत्युदोषो पशमनार्थं, दुःस्वप्न–सुस्वप्नतावाप्तिपूर्वकबालग्रहदशान्तर्दशागोचरदशादोषोपशान्त्यर्थं, बाह्याभ्यन्तरज्वरातिसारापस्मारश्वासकास–कुष्ठार्बुदैड्सादिसमस्त शारीरिकमानसिकरोगाणां झटितिनिवृत्तिपूर्वकारोग्यावाप्तये, कुलदेवताप्रीतिद्वारा मनोवान्छासिद्ध येच अग्निस्थापनविधिपूर्वकं दीपकलशयोः पूजां विधाय कलशमुखे समेषां देवीदेवानां तथा तत्समीपे रक्षासूत्रस्य च पूजनपुरःसरं स्थापितकुलदेवतानां पूजनञ्चाहं करिष्ये । भनी कुशका टुक्रा भुईंमा छाडिदिनू ।

अथवा

निम्नअनुसारको सङ्कल्पवाक्य पढेर सबै कुलदेवताहरूलाई क्रमशः एकै पटक पुरुषसूक्तका र अरू मन्त्रहरूले समेत आवाहन, आसन दिई पाद्यादिषोडशोपचारविधिले पूजा गर्नू–

संक्षिप्तसंकल्पवाक्य
हरिः ॐ हरिः ॐ तत्सत् तत्सत् विष्णुः विष्णुः पूर्वोक्तसङ्कल्पसिद्धिरस्तु अत्रिगोत्रोत्पन्नस्य त्रिप्रवरस्य अमुकशर्मणो मम सभार्यस्य सपुत्रस्य सकुटुम्बस्य सवंशस्य कृते श्रुतिस्मृतिपुराणोक्तफलावाप्तये तथा पुरुषचतुष्टयावाप्तये देवीदेवप्रीतिद्वाराऽभ्युदय–निःश्रेयसःसिद्धये, सर्वरोग–दोष–दौर्भाग्यादिनिवृत्तिपूर्वक श्रीसौभाग्यावाप्तये, अल्पमृत्यु, अकालमृत्यु, दौर्घटनादिदोष–निवृत्तये, तापत्रयोन्मूलनाय, सर्वत्रसाफल्यावाप्तये, षडैश्वर्यावाप्तये, शारीरिक– मानसिकस्वास्थ्यलाभाय, विद्याबुद्धि–मेधाशक्त्यभिवर्धनाय मनोवाञ्छाफलावाप्तये चाग्निस्थापनविधिपूर्वकं दीपकलश–रक्षासूत्रादिपूजनःपुरःसरं कुलदेवताप्रीत्यर्थं षडङ्गरुद्रपाठं, श्रीसूक्तपाठं देवीसूक्तपाठं, गणेशरुद्रलक्ष्मी–सहस्रनाम–गायत्रीजप–स्तोत्रादिपाठपूर्वकं कुलदेवतानां ( . . . . . . . . .) वैदिकपुरुषसूक्तद्वारा षोडशोपचारमाध्यमेन पूजनञ्चाहं करिष्ये, भनी दाहिने हातमा लिएको कुश जल भूमिमा छाडिदिनू । अनि आवाहनं, आसनं, पाद्यं, अध्र्यं आदि कुलदेवताभ्यो नमः भनी क्रमशः अर्पण गर्दै जानू ।

कुलदेवता पूजाका निमित्त गरिने दीपादिपूजा विधि
दीपपूजा विधि
पहिले फूल अक्षताहरू लिएर तलको मन्त्रले दियोमा आवाहन गर्नू– ॐ दीपनारायण इह आगच्छ इह तिष्ठ मम पूजां गृहाण, यावत् पूजां करोमि तावत् त्वं सुस्थिरो भव सुवरदो भव ।

त्यसपछि–

ॐ पृष्ठोदिवि पृष्ठोऽग्निः पृथिव्यां पृष्ठो विश्वा ओषधीराविवेश ।

वैश्वानरः सहसा पृष्ठोऽअग्निः सनोदिवा सरिषस्पातु नक्तम् ।

ॐ नमोस्त्वनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षिशिरोरुबाहवे । सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणे नमः । भन्ने मन्त्र पढेर ॐ “कर्मसाक्षिणे दीपनारायणाय नमः” भनी पाद्यं (जल), अघ्र्यं (अर्घ), आचमनीयम् (जल) स्नानीयं (स्नानको निमित्त शुद्ध जल) पञ्चामृतं (पञ्चामृत), गन्धं (श्रीखण्डचन्दन), अक्षतां (अक्षता), पुष्पं (फूल) नैवेद्यानि (अनेकौं खाले नैवेद्य), दक्षिणाद्रव्यं (भेटी) चढाउनू ।

अनि तलका मन्त्रहरूद्वारा नमस्कार गर्नू–

ॐ नमः कमलनाभाय नमस्ते जलशायिने ।

नमस्ते कौशवानन्त वासुदेव नमोऽस्तुते ।

ॐ शुभं भवतु कल्याणमारोग्यं सुखसम्पदः ।

सर्वदुःख (शत्रु) विनाशाय दीपज्योतिर्नमोऽस्तुते । ।

कलशस्थापन विधि
हातमा फूल अक्षताहरू लिएर सर्वप्रथम “ॐ भूरसि भूमिरसि” भन्ने मन्त्र पढेर भूमिमा छुनू, अनि अष्टदलकमलको रेखीमाथि “ॐ धान्यमसि” भन्ने मन्त्र पढेर धानको टपरी राख्नू, त्यसपछि “ॐ आजिघ्रकलशम्” भन्ने मन्त्रले धानको टपरीमाथि जलपूर्णकलश राख्नू, अनि त्यो कलशमा “ॐ वरुणस्योत्तम्भनमसि” भन्ने मन्त्रले गङ्गाजलहरू हाल्नू, अनि “ॐ या ओषधी”ः भन्ने मन्त्रले सर्वौषधिहरू (मुरा, जटामसी, बोझो, कूट, पत्थरकुंकुम, चुत्रो, हलेदो, कच्चुर, नागरमोथे, चाँप अथवा सेतो सस्र्यूं हाल्नू, अनि “ॐ हिरण्यगर्भः” भन्ने मन्त्रले पञ्चरत्न (सुन, चाँदी, मुगा, मोती, राजावर्त) अथवा सुन, हीरा, पद्मराग, नीर, मोती हाल्नू । “ॐ गन्धद्वाराम्” भन्ने मन्त्रले सेतो र रातो श्रीखण्ड चन्दन, काँचो अबीर हाल्नू, “ॐ काण्डात् काण्डात्” भन्ने मन्त्रले सेतो र कालो दूवो हाल्नू, “ॐ स्योनापृथिवी” भन्ने मन्त्रले सप्तमृत्तिका (तवेला, गोठ, धमिरा, हात्तीसार, चौबाटा, राजद्वार, दोभानका साथै मतान्तरअनुसार दहको समेत शुद्ध माटो हाल्नू, अनि “ॐ अश्वत्थेव” भन्ने मन्त्रले पञ्चपल्लव (वर, पीपल, डुम्री, पाखरी, आँप, चाँपको पात) हाल्नू, अनि “ॐ बृहस्पते” भन्ने मन्त्रले कलशलाई रातो वस्त्रले बेरिदिनु, अनि फूल अक्षता लिएर “ॐ तत्वायामि” भन्ने मन्त्र पढ्नू, अनि “साङ्ग सपरिवार वरुण इह आगच्छ इह तिष्ठ मम पूजां गृहाण, यावत्पूजां करोमि, तावत् त्वं सुस्थिरो भव सुप्रसन्नोभव सुवरदो भव” भनी फूल, अक्षता चढाउनू, यसरी आवाहन गरी आसनं (दुईटा टुक्रा कुश), पाद्यं (जल), अघ्र्यं (अर्घ) आचमनीयं (जल), पञ्चामृतं (पञ्चामृत), स्नानीयं (स्नानको लागि जल), शुद्धोदकस्नानम् (शुद्ध जल), वस्त्रम् (वस्त्र), गन्धम् (श्रीखण्डचन्दन), अक्षताम् (अक्षता), सिन्दूरं (अबीर), यवतिलान् (जौतिल), सर्षपान् (सेतो सस्र्यूं), पुष्पाणि
(अनेक सुगन्धित फूलहरू), दशधूपं (दश किसिमका) धूपहरू, कर्पूरदीपं कपूर राखेको बत्ती, द्राक्षादीनि नैवेद्यानि (दाख आदि नैवेद्यहरू), ताम्बुलं (धर्मशास्त्रअनुसारको ताम्बुल), द्रव्यं (भेटी) सपरिवाराय वरुणाय समर्पयामि भनी क्रमशः मन्त्र पढेर चढाउनू बत्ती र धूप चाहिं बालिदिनू अनि फूल, अक्षताहरू दाहिने हातमा लिएर “ॐ वरुण त्वं महाभाग सर्वदेवप्रपूजित । वितते मम यज्ञेऽस्मिन्नविघ्नं कुरु सर्वदा” भनी प्रार्थना गर्नू । फेरि फूल अक्षताहरू लिएर कलशको मुखमा गङ्गादि तीर्थहरूको “ॐ सर्वे समुद्रा”ः भन्ने मन्त्रले आवाहन गर्नू, अनि “ॐ कलशस्य मुखे विष्णु” भन्ने मन्त्रले कलशमा छोएर अभिमन्त्रण गर्नू, अनि “ॐ देवदानवसंवादे” भन्ने मन्त्रहरूले कलशको प्रार्थना गर्नू । अनि गणेशको आवाहन पूर्वक सामान्य पूजा गर्नू । यसलाई अग्रपूजा मात्र भन्नु वेश हुन्छ । त्यसपछि निम्न विधिअनुसार रक्षासूत्रको पूजा गर्नू ।

रक्षासूत्र विधि
जौ, सेतो सस्र्यूं, दूबो, चन्दन, दही, गोबर राखेको तामाको थालीमा रक्षासूत्र राम्ररी राखेर सो पात्र छोई “ॐ पूर्वे रक्षतु गोविन्दः” भन्ने नारायणकवच पाठ गर्नू, त्यसपछि “न तद्रक्षांसि ‘यदाबन्धनम्’, ‘ॐ रक्षोहणम्’, ‘स्वराडसि’, ‘ॐ रक्षोहणाव, त्वं यविष्ठ, ‘सप्त ऋषयः’ यी मन्त्रहरूले रक्षा सूत्रको पञ्चोपचार गर्नू । अनि कलशको मुखमा फेरि गणपत्यादिपाञ्चायतनेभ्यो नमः, सूर्यादिनवग्रहेभ्यो नमः, विनायकादिपञ्चलोकपालेभ्यो नमः, ईश्वराद्यधिदेवेभ्यो नमः, अग्न्यादिप्रत्यधिदेवेभ्यो नमः, इन्द्रादिदशदिक्पालेभ्यो नमः, ध्रुवाद्यष्टवसुभ्यो नमः, धात्रादिद्वादशादित्येभ्यो नमः, वीर भद्राद्येकादशरुदे्रभ्यो नमः, प्रजापतये नमः, वषट्कारस्वरूपायाग्नये नमः भनी षोडशोपचारले पूजा गर्नू ।

गणेश पूजा विधि
सङ्कल्पवाक्य निम्नअनुसार कुश, जल लिएर पढ्नू– हरि ॐ तत्सत् तत्सत् तत्सत् विष्णुः विष्णुः विष्णुः पूर्वोक्त सङ्कल्पसिद्धिरस्तु अत्रिगोत्रोत्पन्नस्य अत्रि, अर्चनाना, श्यावाश्वेति त्रिप्रव्ररस्य अमुकशर्मणो मम कुलदेवतापूजाकर्मणो निर्विघ्नपरिसमाप्तिपूर्वकं स्वाभिलषितसिद्धये वंशस्य कल्याणाय च सिद्धिदातुः श्रीमन्महा गणाधिपतेर्यथालब्धोपचारैर्यथाबुद्धि कुलदेवत्वेन च पूजामहं करिष्ये भनी कुश, जल भुईंमा छाडिदिनू ।

आवाहन
तलको मन्त्रले आवाहन गर्नू

ॐ गणानान्त्वा गणपतिं हवामहे प्रियाणान्त्वा प्रियपतिं हवामहे निधीनान्त्वा निधिपतिं हवामहे वसो मम । आहमजानि गर्भधमात्वमजासि गर्भधम् । । ॐ भूभुर्वः स्वः सिद्धिबुद्धिसहितसाङ्गसायुधसवाहनसपरिवार श्रीमन् गणाधिपते ! इहागच्छ इह तिष्ठ यावत्पूजां करोमि तावत् त्वं सुस्थिरो भव” भनी आवाहन गर्नू । “निषुसीद गणपते, ज्येष्ठराजम्, नमो गणेभ्यः भन्ने मन्त्रहरूद्वारा प्रार्थना गर्नू । अनि ॐ नमः सिद्धिबुद्धिसहिताय साङ्गाय सायुधाय सवाहनाय सपरिवाराय श्रीमते गणाधिपतये इदमासनम् (कुशको टुक्रा), पाद्यम् (जल) अघ्र्यम् (अर्घ), आचमनीयम् (जल), स्नानीयम् (जल), पुनराचमनीयम् (जल), वस्त्रम् (वस्त्र), यज्ञोपवीतम् (जनै), चन्दनम् (श्रीखण्ड चन्दन), दूर्वाक्षतान्
(दूबो र रातो अक्षता), पुष्पाणि (फूल), धूपं (धूप), दीपम् (बत्ती), नैवेद्यम् (नैवेद्य), पूंगीफलम् (सुपारी), दक्षिणां (भेटी द्रव्य) समर्पयामि भनी क्रमशः अर्पण गर्नू । गं गणपतये नमः” भनी पूजा गर्नू ।

नैवेद्यमा पाएसम्म लड्डू बनाएर चढाउनू । अनि नरिवल, केरा आदि फलहरू बोहतामा राखेर तलको मन्त्रले चढाउनू–

“ॐ रक्ष रक्ष गणाध्यक्ष रक्ष त्रैलोक्यरक्षक । भक्तानामभयंकर्ता त्राता भव भवार्णवात् । ।

द्वैमातुरकृपासिन्धो षाण्मातुर जगत्प्रभो । वरदस्त्वं वरं देहि वाञ्छितं वाञ्छितार्थद ।

अनेन फलदानेन सफलोऽस्तु सदा मम । ।”

अनि तलका मन्त्रहरूले प्रार्थना गर्नू–

“सुमुखश्चैकदन्तश्च कपिलो गजकर्णकः ।

लम्बोदरश्च विकटो विघ्ननाशो गणाधिपः ।

धूम्रकेतुर्गणाध्यक्षो भालचन्द्रो गजाननः ।

द्वादशैतानि नामानि यः पठेच्छृणुयादपि । ।

वक्रतुण्ड महाकाय कोटिसूर्य समप्रभ ।

अविघ्नं कुरु मे देव प्रसन्नो भव सर्वदा । ।”

गणेशको पूजाको लागि निम्न मन्त्र पाठ गर्ने गर्नू–

नि षु सीद गणपते गणेषु त्वा माहुर्विप्रतमं कवीनाम् ।

न ऋते त्वत् क्रियते किं चनारे महामर्कं मघवञ्चित्रमर्च । (ऋ. १० ।११२ ।९)

ॐ गणानां त्वा गणपतिं हवामहे कविं कवीनामुपमश्रवस्तमम् ।

ज्येष्ठराजं ब्रह्मणां ब्रह्मणस्पत आ नः श्रृण्वन्नूतिभिः सीद सादनम् । (ऋ. २ ।२३ ।१)

गणानां त्वा गणपतिं हवामहे प्रियाणां त्वा प्रियपतिं हवामहे निधीनां त्वा निधिपतिं हवामहे वसो मम ।

आहमजानि गर्भधमा त्वमजासि गर्भधम् । (शु. य. वेद २३ ।१९)

नमो गणेभ्यो गणपतिभ्यश्च वो नमो नमो व्रातेभ्यो व्रातपतिभ्यश्च वो नमो नमो गृत्सेभ्यो गृत्सपतिभ्यश्च वो नमो नमो विरूपेभ्यो विश्वरूपेभ्यश्च वो नमः (शु. वे. १६ ।२५)

यसै सन्दर्भमा गणेश गायत्री मन्त्रका साथै गणेश सहस्रनामले पूजा गर्नू । अथवा गायत्री जप्नू र सहस्रनाम पाठ गर्नू ।

गणेश तत्व
विघ्ननिवारण गर्ने, सिद्धि दिने, सर्वत्र मङ्गल गराउने, विद्या बुद्धि एवं सन्तान सुखका साथै ऐहिक भुक्ति र पारलौकिक मुक्ति दिने । साक्षात् ब्रह्मरूप आत्मा र परमात्मरूपका भनी ऋग्वेदमा गाणपत्यथर्वशीर्ष (उपनिषद्) मा र गणेशतापनी उपनिषद्मा समेत उनको वर्णन गरिएको छ ।

उनलाई प्रसन्न गराउने गायत्री मन्त्र– ॐ तत्पुरुषाय विद्महे वक्रतुण्डाय धीमहि तन्नो दन्ती प्रचोदयात् । ।

विशेष
जुन कुनै कार्यमा सफल हुन सर्वत्र मङ्गल हुन सकोस् भनेर र इच्छासिद्धिका लागि एवं ज्ञान विवेक बुद्धि मेधावृद्धिका निमित्त समेत गणेशको अग्रपूजा प्रार्थना जप होम गर्नुपर्ने कुरा “गाणपत्यथर्वशीर्ष उपनिषद्, गणेशतापनी उपनिषद् गणेशपुराण–शिवपुराण–स्कन्द–पद्मपुराणहरूमा बताइएको छ । उनको अग्रपूजा नगरी कार्य गर्न थालेमा विघ्न पर्न गई सफल नहुने कुरा लेखिएको छ । अतः जुन कुनै कार्य गर्दा पनि उनको अग्रपूजा प्रार्थना गर्ने गरिन्छ ।

कुलदेव महारुद्र
महारुद्र नै द्युलोकमा सूर्य, अन्तरिक्षमा वायु र इन्द्र, पृथ्वीलोकमा अग्नि रूप लिएर रहन्छन् । उनी दैवि र भौतिक अनेक दुर्घटना एवं प्राकृतिक प्रकोप शमन गर्दछन् । सुवृष्टि गराउने, प्राणीमात्रलाई शान्ति र सुख दिने, वाक्सिद्धि गराउने, कार्यको फल दिने, शत्रुको नाश गर्ने र मित्रको उदय गराउने, आबालावृद्ध, (युवा) सबैको सधैं रक्षा गर्ने, अनेक रूपका (२४०) रूपका उनी विश्वब्रह्माण्डकै हर्ता, भर्ता, कर्ता, सर्वव्यापक, आत्मा र परमात्मारूपका, ऐहिक सुख, शान्ति, सद्बुद्धि र सद्ज्ञा नदिई पारलौकिक मोक्ष दिने पनि उनै हुन् भनी वेद (शु. य. १६ ।१–६६ मा र रुद्रहृदय उपनिषद्) मा बताइएको छ ।

अभीष्टसिद्धिका लागि उनको पूजा होम विधि
जुन कुनै कार्य सिद्धिका लागि पनि महारुद्रको पूजा (शु. य. वे. १६ ।१–१६) का मन्त्रहरूले गर्नुपर्ने शास्त्रीय विधि छ । पुरुषसूक्तले षोडश उपचार पूजा पनि गरिन्छ । तर कामनासिद्धिका लागि निम्न मन्त्रहरूले पूजा र घिउ र तिलले होम गरी तिनै मन्त्रले कलशको जल मन्त्रेर सेचन गर्नुपर्ने शास्त्रीय विधि छ । ग्रहभूत–दोष र दुर्घटनादि प्रकोप निवारण गर्न–

अध्यवोचद्. (शु.वे. १६ ।५) ले ।

बालस्वास्थ्य (शिशुरोग निवारण) को निमित्त–

मानो महान्तम्. (शु. १६ ।१५) ले ।

आबालबृद्ध स्वास्थ्यका लागि–

नमः सिकत्याय च. (शु. १६ ।४३) ले ।

विविध ऐश्वर्य प्राप्तिको निमित्त–

नमो वः किरिकेभ्यः (शु. १६ ।४६) ले ।

वृष्टिका निमित्त

शखर हालेको जौको सातुले गाईको दूधमा भिजाएका जलवेतका समिधा बालेर (शु. य. १६ ।१–६६) का मन्त्रले अथवा असौ यः र असौ यो (१६ ।६७) ले रुद्रको पूजा र होम गर्नू ।

मानसिकरोगनिवारण गर्न

शु. य. वेद (१६ ।१–६६) का मन्त्रहरूले रुद्रको पूजा गरी तिनै मन्त्रहरूले काला तिल र गाईको घिउ मिलाई हवन गर्नू र तिनै मन्त्रहरूद्वारा मन्त्रेको कलशको जलले रोगीलाई सेचन र स्नान पनि गराउनू ।

मानसिक शान्तिका निमित्त

शु. य. वेद (३४ ।१–६) का मन्त्र पाठ गर्ने ।

मृत्युकारकदोषशमन गर्न

“त्र्यम्बकं यजामहे” भन्ने वैदिक र तान्त्रिक (मृत्युञ्जय) मन्त्रले गाईको घिउ र काला तिल मिलाएर महारुद्रका निमित्त दश हजार होम गर्नू ।

महारुद्रप्रीतिका लागि जप्ने गायत्री मन्त्र–

ॐ तत्पुरुषाय विद्महे महारुद्राय धीमहि । तन्नो महारुद्र प्रचोदयात् । । तत्पुरुषाय विद्महे महादेवाय धीमहि । तन्नो रुद्रः प्रचोदयात् । ।

विशेष
हज्जारौं भेद भएका महारुद्रका (२४०) मुख्य रूपहरू हुन्छन् । उनी खुशी भएमा सबै देवीदेवताहरू र उनका गणहरूसमेत अनुकूल हुन्छन् अर्थात् शिवरूपका हुन्छन् । तर महारुद्र रिसाएमा त सबै देवीदेवताहरू रुद्र रूपका हुन्छन् । दैवी र भौतिक दुवै थरी उपद्रव भई आंशिक र महाप्रलयसमेत हुन सक्तछ । त्यसकारण दैवी, आध्यात्मिक र भौतिक ‘प्राकृतिक’ उपद्रवहरूसमेत शमन हुन सकून् भन्ने उद्देश्यले र शारीरिक र मानसिक स्वास्थ्य लाभ एवं शत्रुको नाश– इच्छा सिद्धि, पारिवारिक र पशु स्वास्थ्यलाभ, ऐहिक सुखका साथै पारलौकिक मुक्तिका लागि समेत महारुद्रको पूजा होम रुद्री पाठ गर्नु पर्ने कुरा शुक्लयजुर्वेद (१६ ।१–६६) मा र रुद्रहृदय उपनिषद्का साथै शिव–लिङ्ग–स्कन्द र पद्मपुराणमा उल्लेख गरिएको छ । उक्त विधाहरूमा यो संसारमा जे गर्दछन् उनै गर्दछन् । रुवाउने र हँसाउने एवं विभिन्न शक्तिदिने, विजय गराउने आदि सम्पूर्ण कार्य उनै शिवले नै रुद्र रूपबाट गर्दछन् भनी उपदेश गरिएको छ ।

महारुद्र पूजा विधि संक्षेप
पहिला “ध्यायेन्नित्यं महेशम्” भन्ने मन्त्रले महारुद्रको ध्यान गर्नू, अनि ॐ नमस्ते रुद्रः मन्यवः भन्ने मन्त्रले आवाहन गर्नू अनि “रम्यं सुशोभनं र ॐ या ते रुद्र ।” भन्ने मन्त्रले आसन कुशको टुक्रो चढाउनू, अनि “उष्णोदकम्, र ॐ यामिषुम्” भन्ने मन्त्रले जल चढाउनू, अनि “अध्र्यं गृहाण, ॐ शिवेन वचसा” भन्ने मन्त्रले अघ्र्य चढाउनू, अनि “सर्वतीर्थसमायुक्तम् र अध्यवोचत्” भन्ने मन्त्रले आचमनीय जल चढाउनू, “गङ्गासरस्वती र ॐ असौ यः” भन्ने मन्त्रले स्नानका लागिको जल चढाउनू, “कामधेनु समुद्भूतम् र ॐ पयः पृथिव्याम्” भन्ने मन्त्रले पञ्चामृत चढाउनू, अनि ॐ आपोऽअस्मान्” भन्ने मन्त्रले शुद्ध जल चढाउनू अनि “पयसस्तु र ॐ दधिक्राब्णो” भन्ने मन्त्रले दही चढाउनू, अनि फेरि “ॐ आपोऽअस्मान्” भन्ने मन्त्रले शुद्ध जल चढाउनू, अनि “नवनीतसमुत्पन्नम् र घृतम्मिमिक्षे” भन्ने मन्त्रले घिउ चढाउनू, अनि फेरि “ॐ आपोऽअस्मान्” भन्ने मन्त्रले शुद्ध जल चढाउनू, अनि “तरूपुष्प समुद्भूतम् र ॐमधुव्वाता, भन्ने मन्त्रले मह चढाउनू, अनि “इक्षुसार” र “ॐ अपांरसम्” भन्ने मन्त्रले शखर चढाउनू, श्रीखण्ड चन्दन मिलाएको जल “मलयाचल” भन्ने मन्त्रले र “ॐ गन्धद्वाराम्” भन्ने मन्त्रले चढाउनू, अनेक सुगन्धद्रव्य मिसाएको उद्वर्तन जल चाहिं “नानासुगन्धिद्रव्यम्” र “ॐ अहंः सुनाते“ भन्ने मन्त्रले चढाउनू, प्रत्येक वस्तु चढाएपछि “ॐ आपोऽअस्मान्” भन्ने मन्त्रले शुद्ध जल चढाउन चाहिं नबिर्सनू । अनि “ॐ महारुद्राय नमः” भनी रुद्रगायत्री जपेर चन्दन, अक्षता, बेलपत्र, धूप, दीप, नैवेद्य चढाउनू । फेरि रुद्रीको आठ अध्याय पाठ गरिसकेपछि “असौ यो” भन्ने मन्त्रले र “सर्माभूषाधिके” भन्ने मन्त्रले वस्त्र र “नवभिस्तन्तुभिः” र “ॐ नमोऽस्तु नीलग्रीवाय” भन्ने मन्त्र पढेर जनै, श्रीखण्डचन्दनं, अक्षताश्च र ॐ अक्षन्नमीमदन्त भन्ने मन्त्रले अक्षता, ‘माल्यादिनं’ र ‘विज्यन्धनु’ भन्नेले फूलमाला, त्रिदलम् र “ॐ शिवोभवः” भन्ने मन्त्र पढेर बेलपत्र ‘वनस्पतिरसोद्भूतः’ “ॐ याते हेतिः” यी दुई मन्त्रले धूप “आज्र्यंच वत्र्तिसंयुक्तम”् र “ॐ परिते” भन्ने यी दुई मन्त्रले दीप, “शक्कराघृतसंयुक्तम् र ॐ अवतत्यं” भन्ने मन्त्रले नैवेद्य, ‘एलोशीर’ ले आचमनीय जल, पुङ्गीफलम्ले र नमस्तऽआयुधाय भन्ने मन्त्रले पान–सुपारी ‘हिरण्यगर्भ’ ले र “ॐ हिरण्यगर्भः” भन्ने दुई मन्त्रले दक्षिणाद्रव्य, अनि “ॐ इदं हविः, र कदली गर्भसम्भूतम्” भन्ने मन्त्रले कर्पूरदीपको आरति । यानिकानि र “ॐ मानोमहान्तम्” ले प्रदक्षिणा, अनि “ॐ मानस्तोके” ले अनेक फूलमाला चढाउने गर्नू ।

महालक्ष्मी तत्व
ज्ञान र धनकी अधिष्ठात्री, सर्वत्र व्याप्त, पराशक्ति, जगज्जननी हर्ता, भर्ता र कर्ता आदि सबै रूपकी ऋद्धि र सिद्धि रूपकी ऐहिक सुख र पारलौकिक मुक्ति दिने, सबै देवी र देवता भनेकै उनै हुन् । जे गर्दछिन् उनै गर्दछिन् । उनीभन्दा भिन्न यो संसारमा केही छैन भनी देव्यथर्वशीर्ष (उपनिषद्) मा बताइएको छ । उनलाई खुशी गराउन देवताहरूले वैदिक देविसूक्त, श्रीसूक्त पाठ गरेको र इन्द्रले (लक्ष्याष्टक स्तोत्र) पाठ गर्ने गरेको उल्लेख पुराणहरूमा छ । उनलाई प्रसन्न गराउने गायत्री पनि वेदमै निम्नअनुसार उल्लेख गरिएको छ–

महालक्ष्म्यै च विद्महे सर्वशक्त्यै च धीमहि ।

तन्नो देवि प्रचोदयात् । ।

ऋग्वेदको श्रीसूक्तमा र तन्त्रमा चाहिं सर्वशक्त्यैको स्थानमा विष्णुपत्न्यै र देवीको स्थानमा ‘तन्नो’ लक्ष्मी भनी उल्लेख भएको छ ।

महालक्ष्मी रिसाएमा रुद्ररूपिणी हुन्छिन् भने खुशाएमा शिवरूपिणी भई इच्छा गरेका सम्पूर्ण कुराहरू प्राप्त गराउँदछिन् भनी ऋग्वेदको श्रीसूक्तमा प्रकारान्तरबाट उल्लेख गरिएको छ ।

विशेष
कसैले आफ्ना कुलमा पूजा गरिने प्रत्येक देवीदेवताबाट छुट्टाछुट्टै सङ्कल्प गरी छुट्टाछुट्टै तोकिएका विधिद्वारा अनेकौं इच्छा पूर्ण गर्न चाहेमा तदनुसार गर्न पनि सक्ने शास्त्रीय विधि भएको हुँदा यहाँ त्यस्ता छुट्टाछुट्टै पूजा गर्ने सङ्कल्पवाक्य र संक्षिप्तपूजाविधिसमेत लेखिएको हो । देवता फरक भएमा पनि त्यस्तै सङ्कल्प र पूजाविधि अपनाउन सकिन्छ भन्ने कुरा जानकारी गराउन मात्र यहाँ कुलमा पूजा गरिने केही देवीदेवताहरूको मात्र नामै लेखी तल लेखिएअनुसार उदाहरण दिन खोजिएको हो ।

महालक्ष्मी पूजा विधि संक्षेप
सड्ढल्प
हरिः ॐ हरिः ॐ हरिः ॐ तत्सत् तत्सत् तत्सत् विष्णुः विष्णुः विष्णुः पूर्वोक्तसङ्कल्पसिद्धिरस्तु अत्रिगोत्रोत्पन्नस्य, अत्रि, अर्चनान, श्यावाश्वेति, त्रिप्रवरस्य अमुकशर्मणो मम कुले स्थिरलक्ष्मीप्राप्त्यर्थं श्री महालक्ष्मीप्रीतिद्वारा, आयुरारोग्यैश्वर्यादिवृद्धयर्थं सर्वत्र विजयलाभप्राप्त्यर्थं दीपकलशगणेशपूजनपूर्वकं कुलदेव्या महालक्ष्म्या यथाबुद्धि ‘र्देशकालोद्भवैद्र्रव्यैः’ पूजनञ्चाहं करिष्ये । भनी हातमा लिएको कुश र कर्मपात्रको जल भुईंमा छाडिदिनू ।

अनि ध्यानं, आवाहनम्, आसनं, पाद्यं, अघ्र्यं, आचमनीयं, स्नानीयं जलं, पञ्चामृतं, शुद्धोदकस्नानीयं, वस्त्रं, उपवस्त्रं, मधुपर्कं, आभूषणं, गन्धं, रक्तचन्दनं, सिन्दुरं, कुंकुमं, अक्षताम्, नारिकेलदुग्धं, नानाविधानिपुष्पाणि माल्यादीनि सुगन्धितद्रव्याणि च गृहस्य कुलदेव्यै समर्पयामि भनी “श्रीश्चते” भन्ने वैदिक मन्त्रका साथै तान्त्रिक र पौराणिक तोकिएका मन्त्रहरूले अर्पण गर्नू ।

अनि कुलदेवीको अङ्ग पूजा, अष्टलक्ष्मी र अष्टसिद्धिको पूजा गरी धूप दीप नैवेद्य चढाई “श्रीसूक्त” र महालक्ष्म्याष्टक पाठ गर्नू । महालक्ष्मीको गायत्री जप्नू, महालक्ष्मीको र रुद्रको पूजामा यथासम्भव कमलको फूल खोजेर चढाउनू । देवताहरूले र इन्द्रले महालक्ष्मीलाई खुशी गराउन सबै खाले ऐश्वर्य पाउन पाठ गर्ने गरेको ऋग्वेदको श्रीसूक्त र इन्द्रकृत महालक्ष्म्याष्टक पाठ गर्न चाहिं नभुल्नू । “महालक्ष्म्याष्टक” “स्तोत्ररत्नावलीमा पनि छ । पूर्वतर्फका गौतमहरूले पूजा गर्ने गरेका अष्टबहिनीहरूमा चाहिं अष्टलक्ष्मी, अष्टसिद्धि, अष्टदिशाका देविहरू र अष्ट मातृकाहरूलाई पनि लिन सकिन्छ । सो पूजा गर्दा चाहिं “पञ्चकन्या” वा “महालक्ष्मी” लाई मूल देवी मान्नु पर्दछ । तब उनका भगिनीरूपमा अरूको प्रतीकात्मक आधारमा पूजा गर्न मिल्दछ । सो पूजा कलशमुखमा हुन्छ ।

लटदेवको पूजा विधि संक्षेप
सड्ढल्प वाक्य
दाहिने हातमा कर्मपात्रको कुश जल लिई तलको सङ्कल्प पढेर कुश भुईंमा छाडिदिनू–

हरिः ॐ हरिः ॐ हरिः ॐ तत्सत् तत्सत् तत्सत् विष्णुः विष्णःु विष्णुः पूर्वोक्तसङ्कल्पसिद्धिरस्तु अत्रिगोत्रोत्पन्नस्य त्रिप्रवरस्य अमुकशर्मणो भार्यापुत्रपौत्रादिसहितस्य मम शारीरिक मानसिकस्वास्थ्यलाभाय, कुलस्य कल्याणाय राष्ट्रे च अतिवृष्टि–अनावृष्टि–दुर्भिक्ष्यादिसर्वदोष–निवारण पुरःसरं “निकामे निकामे नः पर्जन्यो वर्षतु फलवन्त्यो न ओषधयः पच्यन्ताम् योग क्षेमो नः कल्पताम् ।” इति हेतोः अन्तरिक्षस्य प्रमुखदेवस्य वायुरूपस्य लटदेवस्य कुलदेवत्वेन यथाबुद्धि– र्देशकालोद्भवैद्र्रव्यैः पूजनञ्चाहं करिष्ये । यसरी सङ्कल्प गरिसकेपछि आवाहन निम्नअनुसार गर्नू– (फूल अक्षता लिई)– भो लट् देव ! इहागच्छ इह तिष्ठ यावत्पूजां करोमि तावत्त्वं सुस्थिरो भव सुप्रसन्नो भव सुकदो भव भन्नू ।

अनि पाद्यं, अघ्र्यं आचमनीयं–पुनराचमनीयं–स्नानीयं जलं समर्पयामि, भनी जल चढाउनू, त्यसपछि गन्धम्, अक्षतान्, पुष्पाणि, नैवेद्यं, धूपं दीपं समर्पयामि भनी क्रमशः– उग्रश्च, भीमश्व, आशुः शिशान, त्रायन्ताम्, कुलायनी, वायोयेते, सङ्क्रन्दनेन आदि वायु र इन्द्रसम्बन्धी मन्त्रहरूद्वारा पूजा गर्नू अथवा पाठ गर्नू । यं वायवे नमः भनेर पूजा गर्नू । केही गौतमहरूले पूजा गर्ने ‘लाटा वायु’ भनेका पनि उनै हुन् ।

मल्लदेवको पूजा विधि संक्षेप
सड्ढल्पवाक्य
हरिः ॐ हरिः ॐ हरिः ॐ तत्सत् तत्सत् तत्सत् विष्णुः विष्णुः विष्णुः पूर्वोक्त सङ्कल्प सिद्धिरस्तु, अत्रिगोत्रोत्पन्नस्य अमुक शर्मणो मम कुलस्य संरक्षणार्थं दुष्टदमन– (आसुरी–प्रवृत्तिनिराकरण)– शक्तिसंवृद्धयर्थं अल्पमृत्यु, अकालमृत्युनिवारणाय तत्स्वरूपस्य मल्लदेवस्य कुलदेवत्वेन पूजनमहंकरिष्ये भनी दाहिने हातले समाएको कुशजल भुईंमा छाडिदिनू । अनि आवाहन गरी षोडशोपचारले पुरुषसूक्तका मन्त्रहरू पढेर पूजा गर्नू र पछि “कुलायनी” भन्ने मन्त्रले पनि पूजा होम गर्नू । (शु वे. १६ ।१–१६) मन्त्र पाठ गर्नू ।

आसुरि–प्रवृत्तिनिवारकाय दुष्टराक्षसादिदमनकत्र्रे सज्जनोद्धारकाय अल्पमृत्यु–अकालमृत्युनिवारकाय । मल्लस्वरूपभूताय शिवस्वरूपाय नरनारायणाय नमः भनी पूजा गर्नू ।

विशेष
लटदेव (पवन देव) को पूजा, पाठ, होम गर्नाले कुनै पनि पीर पीराउ, उन्माद रोग, काम्ने रोग, अन्य शारीरिक र मानसिक रोग कुलमा हुँदैन । यथा समयमा सुवृष्टि भई राष्ट्रमा सुभिक्ष्य हुन्छ, पारिवारिक र पशुस्वास्थ्य राम्रो हुन्छ । हावाहुरी, अतिवृष्टि र अनावृष्टिले दुःख दिंदैन भन्ने कुरा वायुसूक्त वायवीयसंहिता र वायुपुराणको अध्ययनबाट स्पष्ट हुन्छ ।

मल्लरूपका मुष्टि चाणू कंशादि दुष्ट नाश गर्ने शिवस्वरूपका नरनारायणको पूजाबाट चाहिं दुष्ट दानवादि प्रवृत्तिका भूतादिहरूले समेत मानवहरूलाई दुःख दिन सक्तैनन् । अल्पमृत्यु र अकालमृत्यु कुलमा हुँदैन । त्यस्तो प्रवृत्तिबाट कुलको रक्षा हुन र व्यक्ति एवम् समाजकै कल्याणका लागि पनि त्यस्तै दैवि शक्तिको पूजा, उपासना, होम गर्नुपर्ने कुरा श्रुति र पुराणको अध्ययनबाट स्पष्ट हुन्छ । ऋग्वेदको कथाअनुसार– “अत्रि ऋषिलाई दैत्यहरूले ‘शतद्वार यन्त्र’ मा समाधि अवस्थामा हाल्दा मल्लरूपका नारायण र वायुदेवले सहायता गरेको र अश्विनी कुमारले बचाएको हुँदा त्यस्ता देवताको कुलमा पूजा हुँदै आएको हो ।” भन्ने बुझिन्छ । अत्रिवंशको गौतम कुलमा धेरै पहिलेदेखि नै मल्लरूपका “महामृत्युञ्जय” नरनारायणको पूजा गर्ने गरिएको बुझिन्छ । पछि कुललाई उपकार गर्ने त्यस्तै गुणका राजाको स्मृतिमा सोही नामका ‘कटार मल्ल’ को समेत कुलमा आदरसम्मान क्षेत्रीय रूपमा गर्ने गरिएको हो भन्न सकिन्छ ।

कुलदेवता–पूजा–विधि (वैदिक पुरुष सूक्तका मन्त्रद्वारा षोडशोपचार पूजा विधि)
कुलका सबै देवताहरूलाई आवाहन गर्ने मन्त्र– “ॐ सहस्रशीर्षा पुरुषः सहस्राक्षः सहस्रपात् । स भूमिं सर्वतस्पृत्वा त्यतिष्ठदशांगुलम् । भो कुलदेवता ( …………………………. ) यूयं इह आगच्छथ, इह तिष्ठथ यावत् पूजां करोमि तावत् यूयं सुस्थिरा भवथ, सुप्रसन्ना भवथ सुवरदा भवथ” भनी एकै पटक सबै कुलदेवताहरूको नाम उच्चारण गरी आवाहनपूर्वोक्तमन्त्रद्वारा गर्नू ।

अनि सबै कुलदेवताहरूलाई तलको मन्त्रले कुशका टुक्राका आसनहरू क्रमशः राखिदिनू (आसनं समर्पयामि) भनेर

ॐ पुरुष एवेदं सर्वंयद् भूतं यच्च भाव्यम् ।

उतामृतŒवस्येशानो यदन्नेनातिरोहति । ।

पाद्य चल चढाउने मन्त्र– (पाद्यं समर्पयामि)

ॐ एतावानस्य महिमातो ज्यायाँश्चपूरुषः पादोऽस्य विश्वाभूतानि त्रिपादस्यामृतन्दिवि ।

अघ्र्य चढाउने मन्त्र– (अघ्र्यं समर्पयामि)

ॐ त्रिपादूदध्र्वउदैत्पुरुषः पादोस्येहाभवत्पुनः ।

ततो विष्वङ्व्यक्रामत्साशनानशनेऽअभि । ।

आचमनीयजलचढाउने मन्त्र

ॐ ततो व्विराडजायत व्विराजोऽअधिपूरुष ।

सजातोऽअत्यरिच्यत पश्चात् भूमिमथो पुरः । ।

स्नानीय जल चढाउने मन्त्र– (स्नानजलं समर्पयामि)

ॐ तस्माद्यज्ञात्सर्वहुतः संभृतं पृषदाज्यम् ।

पशूँस्तांश्चक्रे वायव्यानारण्या ग्राम्याश्चये ।

वस्त्र चढाउने मन्त्र– (वस्त्रं समर्पयामि)

ॐ तस्माद्यज्ञात्सर्वहुतऋचः सामानि जज्ञिरे ।

छन्दासिं जज्ञिरे तस्माद्यजुस्तस्मादजायत । ।

यज्ञोपवीत जनै (सूत्र) चढाउने (यज्ञोपवीतं समर्पयामि)

ॐ तस्मादश्वाऽअजायन्त येकेचोभयादतः ।

गावोह जज्ञिरे तस्मात्तस्माज्जाताऽअजावयः ।

चन्दन चढाउने मन्त्र– (श्रीखण्डचन्दनं समर्पयामि)

ॐ तं यज्ञम्बर्हिषिप्रोक्षन्पुरुषञ्जातमग्रतः । तेन देवाऽ अयजन्त साध्याऽऋषयश्च ये ।

फूल चढाउने मन्त्र– (पुष्पं समर्पयामि)

ॐ यत्पुरुषं व्यदधुः कतिधाव्यकल्पयन् ।

मुखङ्किमस्या सीत्किम्बाहू किमूरू पादा उच्च्येते । ।

धूप बाल्ने मन्त्र– (धूपं समर्पयामि)

ॐ ब्राह्मणोऽस्य मुखमासीद्वाहूराजन्यः कृतः ।

ऊरू तदस्य यद्वैश्यः, पदाभ्यां शूद्रोऽजायत । ।

धूप बाल्दा ‘धूरसि’ भन्ने मन्त्र पनि पढिन्छ ।

बत्ती बाल्दा पढ्ने मन्त्र– (दीपं समर्पयामि)

ॐ चन्द्रमा मनसो जातश्चक्षोः सूर्योऽअजायत ।

श्रोत्राद्वायुश्च प्राणश्च मुखादग्निरजायत । ।

नैवेद्य चढाउँदा पढ्ने मन्त्र– (नानाविधं नैवेद्यं समर्पयामि)

ॐ नाभ्याऽऽआसीदन्तरिक्षं शीष्र्णो द्यौः समवर्तत । पद्भ्यां भूमिर्दिशः श्रोत्रान्तथालोकाँऽअकल्पयन् । ।

नमस्कार गर्ने मन्त्र– (कुलदेवताभ्यो नमस्करोमि) भनी तलको मन्त्रले ढोग्नू–

ॐ यत्पुरुोण हविषा देवा यज्ञमतन्वत ।

वसन्तोऽस्यासीदाज्यं ग्रीष्म इध्मः शरद्धविः ।

प्रदक्षिणा गर्ने मन्त्र– (प्रदक्षिणां करोमि)

ॐ सप्तास्यासन्परिधयस्त्रिः सप्तसमिधः कृताः ।

देवा यद्यज्ञन्तन्वानाऽअवध्नन्पुरुषं पशुम् । ।

अन्तिमनमस्कार चाहिं “यज्ञेन यज्ञम्” भन्ने मन्त्रले गर्नू ।

(द्र. यो पूजा विधि अनुष्ठानप्रकाशमा र बृहतपाराशरसंहितामा छ, साथै हरिनाथ ढुङ्गेलले लेखेको, सङ्कल्प रत्नावली पृ. १७३–१७६ मा पनि छ ।)

कुलदेवतालाई विभिन्न द्रव्य चढाउने वैदिक मन्त्र र लौकिक मन्त्र संक्षेप
दूध चढाउँदा–

ॐ पयः पृथिव्यां पय ओषधीषु पयो दिव्यन्तरिक्षे पयोधा ।

पयः स्वतीः प्रदिशः सन्तु मह्यम् ।” भन्ने वैदिक मन्त्रले र “कामधेनुसमुद्भूतं सर्वेषां जीवनं परम् । पावनं यज्ञहेतुश्च पयःस्नानार्थमर्पितम् ।” भन्ने लौकिक मन्त्रले (गोर्दुग्धं नारिकेलदुग्धं समर्पयामि) भनी गाईको दूध र नरिवलको दूध चढाउनू ।

दही चढाउने मन्त्र–

ॐ दधिक्राब्णो अकारिषं जिष्णो रश्वस्य वाजिनः ।

सुरभिनो मुखाकरतत्प्रण आयूं षि तारिषत् । । भन्ने मन्त्रले र “पयसस्तु समुदभूतं मधुराम्लशशिप्रभम् । दध्याऽऽनीतं मयादेव स्नानार्थं प्रतिगृह्यताम् ।” भन्ने मन्त्रले (दधि समर्पयामि) भनी दही चढाउनू ।

घिऊ चढाउँदा पढ्ने मन्त्र–

ॐ घृतं मिमिक्षे घृतमस्य योनिर्घृते श्रितो घृतमस्य धाम । अनुष्वधमावह मादयस्व स्वाहा । । “नवनीत समुत्पन्नं सर्वंसन्तोषकारकम् । घृतं तुभ्यं प्रदास्यामि स्नानार्थं प्रतिगृह्यताम् । । यी दुई मन्त्रद्वारा (घृतं समर्पयामि) भनी घिऊ चढाउनू ।

महचढाउने मन्त्र–

ॐ मधुव्वाता ऋतायते मधुक्षरन्ति सिन्धवः माध्वीर्नः सन्त्वोषधीः । । भन्ने वैदिक मन्त्रका साथै “तरुपुष्प समुदभूतं सुस्वादु मधुरं मधु । तेजः पुष्टिकरं दिव्यं स्नानार्थं प्रतिगृह्यताम् । ।” भन्ने मन्त्रले (मधु समर्पयामि) भनी चढाउनू ।

शखर उखू चढाउँदा पढ्ने मन्त्र–

ॐ अपां रसमुद्वयसं सूय्र्ये सन्तं समाहितम् । आपां रसस्यो रसस्तम्बो गृह्णम्युत्तम उपयामगृहीतोसीन्द्राय त्वा जुष्टं गृह्णम्येषते योनि रिन्द्रायत्वा जुष्टतमम् । । इक्षुसार समुद्भूता शर्करा पुष्टिकारिणी । मलापहारिणी दिव्या स्नानाय प्रतिगृह्यताम् । । यी दुई मन्त्रले (शर्करा इक्षुसारं समर्पयामि भनी शखर चढाउनू । आवाहन गर्दा ‘सहस्रशीर्षा’ पढ्नू, आसन दिंदा रम्यं सुशोभनम् र पाद्य जल चढाउँदा “उष्णोदकम्” आचमनीय जल चढाउँदा “सर्वतीर्थ समायुक्तम्” भन्ने मन्त्रले र स्नानीय जल चढाउँदा “गङ्गासरस्वती” ले, शुद्ध जल चढाउँदा “आपोऽअस्मान्” भन्ने मन्त्रले, “गन्धद्वारान्” भन्ने मन्त्रले चन्दन, “अक्षन्नमीमदत्त” ले अक्षता, “गन्धकर्पूरः” भन्ने मन्त्रले कपूर, ‘बृहस्पते” भन्ने मन्त्रले वस्त्र, “हिरण्यगर्भः” भन्ने मन्त्रले दक्षिणा, “तिलोऽसि” भन्ने मन्त्रले तिल र “यवोऽसि” भन्ने मन्त्रले जौ, “श्रीश्चते” भन्ने मन्त्रले फूल चढाउनू, पायसं समर्पयामि भनी खीर र फलानि समर्पयामि भनी फल, अपुपादीनि समर्पयामि भनी मालपुवा, बाबर, पुरी, नानाविधानि नैवेद्यानि समर्पयामि भनी अनेक किसिमका नैवेद्य चढाउनू, दशधूपं, अर्पयामि भनी दशथरीका धूप र कर्पूरदीर्प समर्पयामि भनी कर्पूरदीप बालिदिने गर्नू अनि “अग्निज्ज्र्योतिः” भन्ने मन्त्रले निराजन गर्नू । छुट्टाछुट्टै पूजा गर्ने हो भने त देवी र देवता अनुसारका छुट्टाछुट्टै अनेकौं पद्धतिहरू पनि छन् । तदनुसार गर्न पनि सकिन्छ । जस्तै– रुद्रको पूजाको निमित्त “गौरीशङ्कर गुटिका” को पूजा पद्धति महालक्ष्मी पूजाको र अन्य देवीदेवता पूजाका निमित्त “नित्यकर्म–पूजाविधि” । सबै देवीदेवताका षोडश उपचार मन्त्रका निमित्त सङ्कल्परत्नावली हेर्नु वेश हुन्छ । त्यस्तै “दशमहाविद्या पूजा विधि” चाहिं तान्त्रिक काली तारा, त्रिपुरा सुन्दरी आदिको पूजाका निमित्त हेर्नू । विभिन्न देवीदेवताका स्तोत्रहरू बृहत्–स्तोत्र–रत्नाकरबाट लिनू । तान्त्रिक पद्धतिअनुसार पूजा गर्न महीधर भट्टले सङ्कलन गरेको “मन्त्रमहोदधि” हेर्नू ।

रुद्राष्टाध्यायी, देव्यथर्वशीर्ष, चण्डीको एघार अध्याय र तान्त्रिक र वैदिक देविसूक्त, पुरुषसूक्त, श्रीसूक्त, महालक्ष्याष्टक पाठ गर्नू । गतिशील पवन देवका निमित्त वायु पुराणको सम्बद्ध श्लोकहरू (स्तोत्र) पाठ गर्नू । अथवा ऋग्वेद र यजुर्वेदका वायुसंबद्ध मन्त्रहरू पाठ गर्नू ।

उपसंहार
प्रत्येक व्यक्ति र समाजका साथै सिङ्गो राष्ट्रको समेत निम्नअनुसारको उच्च आदर्शमय आकाङ्क्षा हुने गर्दछः

१. सबै कार्यहरू सधैं नै निर्विघ्नपूर्वक सफल हुन सकून् ।

२. सधैं सर्वत्र मङ्गलमय वातावरण भइरहोस् ।

३. अभीष्टसिद्धिका साथै षड्ऐश्वर्य प्राप्त भइरहोस् ।

४. आबालबृद्धका साथै द्विपाय र चौपायको समेत स्वास्थ्य राम्रो भइरहोस् ।

५. यथासमयमा सुवृष्टि भई सुभिक्ष्य सर्वत्र भइरहोस् ।

६. राष्ट्रको सबैतर्फ जे जति उपलब्धिहरू प्राप्त भएका छन्, तिनीहरूको संरक्षण र संवर्धन हुनुका साथै आवश्यक यावत् वस्तुहरूको समेत प्राप्ति यथासमयमा हुँदै जाओस् ।

७. कुनै पनि दैवी र प्राकृतिक एवम् भौतिक दुर्घटना व्यक्ति र समाजले झेल्नु नपरोस् ।

यी माथि लेखिएका उद्देश्यहरू परिपूर्ति हुन सकून् भन्ने हेतुले नै अत्रिवंशको गौतम समूहले परापूर्वकालदेखि नै दैवि, आध्यात्मिक र भौतिक वातावरणविज्ञानमुताविकका कुलदेवता पूजापद्धतिका आधारमा तीनै उद्देश्य पूर्ण गराउने गणेश–महारुद्र–महालक्ष्मीका साथै पवनदेव तथा महामृत्युञ्जय सज्जन उद्धारक “नरनारायण” को र प्रतीकात्मकरूपमा–आद्यमष्ट र ‘दूधेमष्ट’ (महारुद्र नृसिंह वराह, भैरवमध्ये एकको) ज्ञानगुणन्यायका प्रतीक गोकुमाला श्यामसुन्दर (भगवान् श्रीकृष्ण) को र पुरुषोत्तम भगवान् विष्णु एवं वारामण्डली (द्वादश आदित्य) कोर शतभैया (कुलमा मन्त्रद्रष्ट्रा भएका र सिद्धमहात्मा भएका स्वर्गद्वारिमहाप्रभुजस्ता योगिहरूको र कुलशिरोमणिहरूका साथै पञ्चकन्या र अष्टवहिनी भन्नाले कुलदेवीरूपका नारीरत्नहरूको र (चौरासीसम्मका मष्टका भेद मान्नेहरूले त सायद उनीहरूको ध्यानविधिलाई विचार गर्दा मच्छेन्द्रनाथ गोरक्षनाथ लगायतका चौरासी सिद्धहरूलाई पूजा गर्ने गरेको पनि हुन सक्तछ) त्यस्तै क्षेत्रपालहरूको समेत अग्निःस्थापनविधिपूर्वक प्रति वर्ष नै पूजा, उपासना, जप, होम, पाठ आदि गर्दै आएको हो । तीन लोकमा रहने तीनै किसिमका वातावरणहरू पार्थिव जनजीवनका लागि अनुकूल गराउनु नै उक्त कुलदेवता पूजा पद्धतिको मूल लक्ष्य रहेको बुझिन्छ । प्रकृतिलाई प्राकृतिक रूपमा नै विकास गरी प्राणीमात्रको कल्याण गर्नु नै उक्त पूजा पद्धतिअन्तर्गतको होमको पनि उद्देश्य रहेको बुझिन्छ । संक्षेपमा भन्ने हो भने नेपालका सबै जातजातिको कुलदेवता पूजाको मूल उद्देश्य पनि त सायद त्यहीं नै हुनुपर्दछ भन्ने मेरो धारणा रहेको छ ।

आधार ग्रन्थसूची
१. वाजसनेयि माध्यन्दिन शुक्लयजुर्वेद संहिता (१९७१) वाराणसी ।

२. वैदिक संस्कारमध्ये गर्भाधानादि संस्कारहरूको विश्लेषणात्मक अध्ययन (विद्यावारिधि शोध प्रबन्ध ले. हरिप्रसाद गौतम । म. स. वि. अ. प. २०५२–२०५३ ।

३. हरिप्रसाद गौतम “वेदका मन्त्रहरूमा– पाइने व्यवहारिक पक्ष २०३८ त्रि. वि. सं. अ. अनुस. मि. ।

४. हरिनाथ ढुङ्गेल सङ्कल्प रत्नावली पृ. ३२–१९६ ।

५. गौरीशङ्कर गुटिका प्र. ठाकुरप्रसाद एण्ड सन्स बु. वाराणसी, पृ. १०–३६ ।

६. सामग्री रत्नावली, वाराणसी ।

७. ऋषितर्पणी पूजाविधि जयनेपाल प्र. कचौडी गली वाराणसी ।

८. प्रज्ञा ने. रा. प्र. प्र. ८४ अङ्क २०५४ ।

९. मर्यादा प्र. वा. वि. पीठ, २०५२ ।

१०. नगेन्द्र शर्मा, नेपाली जनजीवन दो. सं., २०५२, साझा प्रकाशन ।

११. रामणि ढुङ्गेल चेपाङ् समुदाय र संस्कृति २०५१, सझा प्रकाशन, काठमाडौं ।

१२. परशुराम तामाङ तामाङजाति ने. रा. प्र. प्र., २०५१ ।

१३. केशरजंग बराल मगर र मगर संस्कृति ने. रा. प्र., २०५० ।

१४. ऋतम्भरा (म. सं. वि.) २०५३, वर्ष १ अङ्क १ ।

१५. प्रज्ञा, जातजाति विशेषाङ्क, २०५१–२०५२÷पूर्णाङ्क ८२ क, वर्ष २५–२६ ।

१६. नित्यकर्मविधि, जयनेपाल प्र. वाराणसी (१९९१ ई.) देवपूजा पद्धतिसहित ।

१७. रथी धनेश्वर ज. ब. रा., पं. कृष्णप्रसाद भट्टराई गर्भाधानादि अन्नप्राशनान्त संस्कार पद्धति, २०२८ ।

१८. डा. चमनलाल गौतम (मन्त्रशक्ति से रोगनिवारण) १९९२ बरेली ।

१९. ऋग्यजुः सामाथर्ववेद सभाष्य ।

२०. देव्यथर्वशीर्ष (उपनिषद्) ।

२१. गाणपत्यथर्वशीर्ष (उपनिषद्) ।

२२. गणेशतापनी उपनिषद् ।

२३. चरकसुश्रुतहारीत र काश्यप संहिता ।

२४. भावप्रकाश (निघण्टु) ।

२५. शतपथब्राह्मण ।

२६. कात्यायन श्रौतसूत्र ।

२७. वसन्तपराञ्जपे– अग्निहोत्र पद्धति (२०४१ देखि २०४५ सम्मको डाटा सङ्कलित भएको (अमेरिका वासिङ्गटनबाट सोही मितिमा प्रकाशित) ।

२८. डा. चमनलाल गौतम षोडश संस्कार पद्धति, संस्कृति संस्थान बरेली (उ. प्र.) १९७७ ।

२९. कल्याणका, संस्कृति, धर्मशास्त्र र नारी एवम् वेदाङ्क ।

३०. अग्निःस्थापना विधि, वाराणसी ।

३१. यास्काचार्य निरुक्तम् (१–१४ परिशिष्ठसहित) ।

३२. कुलचन्द्र गौतम टीका भएको अमरकोश ।

३३. सं. कोषनाथ, नेपाली निघण्टु, रा. प्र. प्र. ।

३४. शिवगणेश पुराणहरू ।

३५. रुद्रहृदय उपनिषद् ।

३६. पं. माधवाचार्य क्यों ।

३७. सन्तशरण, सद्धर्म अहिंसा प्रकाश (२३०) प्रकाशन ललितपुर ।

३८. महीधरभट्ट– “मन्त्रमहोदधि” चौखम्बा, वाराणसी (१९८१) ।

कर्मकाण्डसम्बन्धी अत्यावश्यक जानकारी

वंश परम्परामा गोत्र, प्रवर र थरका विषयमा पनि विचार गरिन्छ । जुन ऋषिको सन्तति विस्तार भएको हो, त्यस वंशमा ती ऋषिलाई गोत्र भनिन्छ । एउटै गोत्रका सन्ततिमा विशिष्ट व्यक्ति वा श्रेष्ठ पुरुषलाई नै प्रवर भनिन्छ । कुनै गोत्रमा २, कुनै गोत्रमा ३ र कुनै गोत्रमा ४ प्रवर पाइन्छ । एउटै गोत्रमा पनि निवास, काम र यस्तै कारणले अनेक थर हुन्छन् । जस्तैः– अत्रि, श्यावास्य, अर्चनानस, गौतम, खतिवडा, अधिकारी आदि ।

सामान्यतया जूठो सूतक बार्नुपर्ने
प्रत्येक वंशमा सपिण्ड , सोदक, सगोत्र र बन्धु हुन्छन् । पुस्ता भनेको पीढी हो । मूल पुरुषबाट सात पुस्तासम्म सपिण्ड ८ पुस्तादेखि १४ पुस्तासम्म सोदक र १५ पुस्तादेखि २१ पुस्तासम्म सगोत्र बन्धु हुन्छन् । एउटै ऋषिका टाढाका सन्तान भने सगोत्री हुन्छन् । जस्तै ः– अत्रि, श्यावास्य, अर्चनानस, गौतम, खतिवडा, अधिकारी आदि । यिनीहरूलाई सगोत्रीय भाइबन्धु पनि भनिन्छ । सगोत्रीमा विवाह गरिंदैन । धर्मशास्त्रअनुसार सपिण्ड बन्धुको दश दिन, सोदक बन्धुको तीन दिन र सगोत्र बन्धुको एक दिन जूठो र सूतक (सुत्केरी) लाग्छ ।

सपिण्ड ७ पुस्ता हुने कारण
लेपभाजश्चतुर्थाद्याः पित्राद्याः पिण्डभागिनः ।

पिण्डदः सप्तमस्तेषां सापिण्ड्यं साप्तपौरुषम् । ।

निर्णयसिन्धुः

श्राद्धमा पिण्ड दिइने पिता, पितामह, प्रपितामह (पिण्डभागी) र ती भन्दा माथिका लेपभागी वृद्ध पितामह, वृद्धतर पितामह र वृद्धतम प्रपितामह गरी ६ पुस्ता र पिण्ड दिने कर्ता एक पुस्ता गरी ७ पुस्तामा सापिण्ड्य हुन्छ । तिनीहरूलाई सपिण्डी भनिन्छ । विवाह गर्न, आशौच बार्न र हकवाला छुट्याउन सपिण्डतालाई आधार मानिन्छ ।

जूठो–सूतकमा ७ पुस्तासम्मका व्यक्तिलाई १० दिन, ८ देखि १० पुस्तासम्मका व्यक्तिलाई ३ दिन र ११ पुस्तादेखि माथिका व्यक्तिलाई १ दिन लाग्छ र स्नानले शुद्ध हुन्छ । जूठो सूतक परेको दश दिनपछि तीन महिनाभित्र सुनेमा ३ दिन, तीन महिनापछि ६ महिनाभित्र सुनेमा १२ प्रहर, ६ महिनापछि नौ महिनाभित्र सुनेमा १ दिन आशौच बार्नुपर्छ । त्यसपछि सुने स्नानले शुद्ध हुन्छ । सुत्केरीमा भने १० दिन नाघेपछि सुनेको भए सूतक लाग्दैन । ब्रतबन्ध नभएको पुरुष र विवाह नभएकी कन्याको ३ दिन आशौच लाग्छ । आफ्नो कुल–परम्परामा चले अनुसार गरिन्छ । विस्तृत जानकारी चाहिएमा सम्बन्धित विषयका विद्वान्सँग सोध्ने वा पुस्तक हेर्ने गर्नु बेस हुन्छ ।

आशौच बार्ने विषयमा पुस्ता शव्दको प्रयोग पुरुष–परम्परामा मात्र लिने गरिन्छ । विवाहमा पुस्ता शव्दको अर्थ स्त्री–परम्परामा पनि गरिन्छ । कन्या र वरका बाबु मूल पुरुषबाट सातौं पुस्तामा सपिण्ड निवृत्त हुने हुँदा उनीहरूका छोरा छोरीका बीचमा विवाह हुन सक्छ तर कन्या र वरकी आमा मूल पुरुषबाट पाँचौ पुस्तामा सपिण्ड निवृत्त हुने हुँदा त्यसपछिको पुस्तामा विवाह गर्न हुन्छ भन्ने शास्त्रीय वचन छ ।

तीन – मङ्गल

कस्मिन् कुले मङ्गलपञ्चर्क वा

कस्मिन् कुले मङ्गलःसप्तकं स्यात् ।

त्रिमङ्गलं चापि कुले विशुद्धो ।

नो लङ्घनीय ः कुल –देश–धर्मः ।

ग्रहशान्तिविधि
कुनै कुलमा पाँच अङ्कलाई शुभ मानिएको हुन्छ भने कुनै कुलमा सात अङ्कलाई पनि शुभ
(मङ्गल) मानिएको हुन सक्छ । तीन मङ्गल पनि कुनै कुल परम्परामा शुभ नै मानिएको पनि हुन सक्छ । त्यसैले परम्परा अनुसार देश–धर्म र कुल–धर्मलाई उल्लंघन गर्नु हुँदैन ।

हाम्रो आर्य शास्त्रीय परम्परामा ३ मङ्गल हुनुलाई शुभ मानिएको छैन । तीन मङ्गल पर्न लाग्यो भने संवत्सर भिन्न (अर्कै) वर्ष पार्ने चलन छ । यो चलन उचित नै हो । शास्त्रमा पनि भनिएको छ ः– न कुर्यात् मङ्गलत्रयम् ।

तीन मङ्गल पर्ने कार्य पनि ६ महिना भित्रमा गर्नु हुँंदैन । मङ्गलकार्य भन्नाले विवाह, ब्रतबन्ध र कुलदेवताको पूजा आदिलाई लिनुपर्छ । संवत्सर ( वर्ष) फरक भएमा ३ मङ्गलको दोष लाग्दैन । छोरकिो विवाह गरेर ६ महिनाभित्रमा छोराको विवाह गर्न हुन्छ तर ६ महिना भित्रमा नै पहिले छोराको विवाह गरेर पछि छोरीको विवाह गर्नु हुँदैन । हाम्रो कुल–समाजमा पनि यही चलन छ । यस विषयमा नारदको वचन छ ः– पुत्रोद्वाहात्परं पुत्री न विवाह ऋतुत्रये ।

नारदस्मृति तीन मङ्गल भन्ने कुरा सपिण्डका ३ पुरुषलाई लिइन्छ । चारौं पुस्तामा ३ मङ्गल लाग्दैन । हाम्रो समाजमा ३ मङ्गल पर्न लाग्यो भने कुनै शुभ कार्य गरी आभ्युदयिक श्राद्ध गरी चारौं मङ्गलको रूपमा विवाह ब्रतबन्ध गर्ने चलन पनि देखिन्छ तर शास्त्रसम्मतबाट विचार गर्दा आभ्युदयिक श्राद्ध त वर्ष र कार्यभेदले जति पटक पनि गर्नुपर्ने हुन्छ । तर मङ्गल कार्य भन्नाले विवाह, व्रतबन्ध, कुल देवताको पूजा, सप्ताह आदि यज्ञलाई दिइएको छ । त्यसैले एक वर्षभित्रमा वा ६ महिना भित्रमा २ मङ्गल भएपछि (३ पिढी सम्मका सपिण्डमा) ३ मङ्गल पु–याउनु हुँदैन– शास्त्रीय मत यही देखिन्छ ।

गौतम वंशको इतिहासका केही कुरा
– टेकनाथ गौतम, दाङ

पं वाणीविलासद्वारा वि.सं. १८५० मा रचित ४४ श्लोकको गौतम वंशावली (वंशपंक्ति) मा शुक्लयजुर्वेदाध्यायी कर्मकाण्डी ब्राहृमण लल्लकका सन्तान काशीदास कन्नौजबाट धर्मरक्षार्थ शिष्यहरूका साथ सिंजा क्षेत्रमा आए भन्ने उल्लेख छ । अग्निहोत्री, अग्नीगोत्रीय ब्राम्हण काशीदास तत्कालीन सिंजा नरेशबाट सम्मानित भई जग्गा समेत विर्ता पाएर त्यसै क्षेत्रमा बसोबास गरेको विवरण उक्त लिखित कागजातबाट प्रमाणित हुन्छ ।

यसैगरी दाङ हापुर नारेवाङ्ग गढी टाकुरा देवस्थलको शिवालयको शिलालेखमा उल्लेख गरीएको छ–

स्वस्ति श्री गिरिराजचक्रपतिना संप्राथ्र्य सेंजापुरीम् ।

गंगोल्लासितकान्यकुब्जविषयादानीय वृत्तिं स्थिराम् । ।

दत्वा वैदिकधर्मपालनकृतेऽत्रेर्गोत्रिणामग्रणी ः ।

काशीदास इति श्रुतो बुधवर ः संवासितोऽभूत पुरा । ।

यस शिलालेखबाट पनि कान्यकुब्जबाट आएका अत्रिगोत्रीय विद्वान् काशीदासलाई सिंजानरेशले सम्मान विर्ता दिएर बसोबास गराएको प्रमाणित हुन्छ ।

सम्राट् हर्षवर्धनपछि हालका फर्रुखाबाद जिल्लाभित्र पर्ने कान्यकुव्ज (कन्नौज) पूरा उत्तर भारतको ५०० वर्ष जतिसम्म प्रभावशाली राजधानीका रूपमा रहेको थियो । त्यहाँ तिब्बतको गुँगेबाट मानसरोवर, सिंजा(हाल जुम्ला जिल्लाम पर्ने), दुल्लु, सुर्खेत, श्रीवस्ती र साकेत (अयोध्या) हुँदै कन्नौज पुग्ने चल्तीको बाटो थियो । राजधानीका आसपासमा आफ्नो विद्याबुद्धिले राज्यको सेवा पु¥याउन सक्ने धेरै बाहुनहरू खेदिएका रहेछ । कन्नौजमा केही समयसम्म गौडका पालवंशी राजाहरूको पनि अधिकार रहेको थियो । त्यहाँबाट ती पालवंशीहरूको वंशको प्रभाव बढ्दै गयो र सिंजालाई राजधानी बनाई ठूलो साम्र्राज्यको विस्तार गरे । पं. वाणीविलासद्वारा रचित सल्यानी राजवंशावली (वंशपंक्ति) अनुसार यता कन्नौजमा वि.सं.१२५० (१२५१ तिर शाहबुद्नि गोरीले आक्रमण गरी कन्नौज विजय गरेर त्यहाँका हिन्दु प्रजालाई जवर्जस्ती इस्लाम धर्म ग्रहण गराउने र अनेक प्रकारबाट दुःख दिने गर्न थाले । कन्नौजका नजिक हरियाना भन्ने गाउँमा अत्रिगोत्री ब्राहृमण बस्दै आएका रहेछन् । तीमध्येका लल्लकका खनाति, विलल्लका पनाति, भास्करका नाति, प्रभाकरका छोरा ठूला विद्वान् काशीदास पहिलेदेखिका पालवंशी राजाहरूको सम्बन्धले हुन सक्छ, पालवंशीहरूबाट बोलाइएर या आफै उपर्युक्त बाटोबाट शिष्यहरूका साथ सिंजा (हालको जुम्लाको उत्तरी भाग) मा पुगी त्यहाँ बिर्ता पाएर बसी राज्यको सेवामा लागे ।

काशीदासका कति पिंढीपछिका सन्तान निम्बुक हुन्, उनका चार भाइ छोराहरूमध्ये जेठा गोलास्य सिंजामै बसेछन् । माहिला कापडि (काब्रु) लाई सम्राट्ले गोताम भन्ने ठाउँमा विर्ता दिई पठाएछन् । साहिला सिगरुलाई रारा दहको निकास खत्याड खोलामा विर्ता दिई पठाएछन् । कान्छा केदारहरूलाई लेव्रम भन्ने ठाउँमा विर्ता दिई पठाएछन् । पछि यिनका सन्तानहरू क्रमश ः गोचामे, खत्यौडा र मिश्र या ओस्ती भनिन लागेछन् ।

गोलास्यका सन्तान मयराजले सिंजाली सम्राट् सम्भवत ः अभयमल्लकी छोरीसित विवाह गरेछन् । उनका छोरा नहुँदा अभयमल्लकी छोरी र मयराजका छोरा गजभीम सिंजाली सम्राट् भएछन् । गजभीमकै नाति या पनाति मलयबम या मलयबर्मा ठूला प्रतापी राजा भएको थाहा लाग्छ । यिनले काठमाडौंसमेत जिती त्यहाँबाट कर लिने गरेका थिए । कान्तिपुरको नाउँ काठमाडौं बनाउने गोरखनाथको काष्ठमण्डप काठको मन्दिर यिनैले बनाएका हुन् भनी इतिहास लेख्ने मोहनबहादुर मल्लले लेखेका छन् । यिनलाई तराईबाट सिंजासम्म हात्ती हिंड्न सक्ने बाटो बनाउन लगाई सिंजामा हात्ती पु¥याई ढलौटे मूर्तिसमेत राख्न लगाएका छन् । उनको त्यहीनेरका रैका साँघुनेर १४४२ को शिलालेख पाइएको छन् ।

हाम्रा जेठातिरका भैयाद उपयुक्त मलयवर्माका मेदिनी वर्मा सल्तानबम, प्रितम वम र सुरति वम ४ छोरा थिए । जेठा मेदिनी वर्मा (चल्तीको नाम जक्तिपुर) ले पुख्र्यौली राज्य समाली हिउँदे राजधानीका निम्ति जाजरकोटभित्र जक्तिपुर बसाली त्यसलाई सिंगार्न लागे ।

माहिला सुल्तान वमले वनगाड् (कसैका लेखाइमा कालगाउँ) जिती त्यहाँका राजा भए । साहिला प्रितम वम( पृथ्वी वम, पीताम्वर वम) खस मगरहरूका आहृवानमा वोगसा भन्ने जाट (जार) लाई मारी सापकोट (वर्तमान रुकुमकोट का राजा भए । कान्छा सुरति वमलाई पर्वतका मगरहरूले राजा बनाउन लगे ।तिनका सन्तानपछि गलकोट र घिरिंगका राजा भए । यिनै गलकोटकै राजाका सन्तान हालका नेता हृषिकेश शाह हुन् ।

यसरी कन्नौजबाट सिंजा पुगेका काशीदासका सन्तानका बाहुनी पट्टिका सन्तान खत्यौडा, गोताम, मिश्र, ओस्ती, मानिएर जताततै पाँजिए । तिनै गोतामेका सन्तान हालको रोल्पा जिल्लाको रुमटीमा जन्मेका वासुदेव बाहुनका नाति अनिरुद्ध खत्रीका छोरा नारायण खत्री गोतामे बाल्यावस्थामा नै संन्यास लिई हंसानन्द गिरी भनिन लाग्नुभएको थियो । प्युठान जिल्लाको पहाडको टाकुरामा उहाँले १९५२ सालमा स्थापना गर्नुभएको यज्ञाश्रम स्वर्गद्वारी आश्रमका नामले प्रसिद्ध भई अहिले १०५ वर्षसम्म यथावत् चल्दै मात्रै छैन कि उत्तरोत्तर यसको प्रतिष्ठा बढ्दैछ । आश्रम स्थापना गरेपछि हंसानन्द गिरीजी “स्वर्गद्वारी प्रभु” नामले प्रसिद्ध हुनुभएको थियो । वहाँ १९९७ सालमा व्रहृमलीन हुनुभयो । ३ वर्षअघि त्यसको शतवार्षिक समारोहको उद्घाटन वर्तमान श्री ५ माहाराजाधिराजबाट गरिबक्सेको हो । त्यहाँ नेपालबाट भन्दा भारतबाट बढी दर्शनार्थी आउने गर्दछन् ।

ठकुर्नी पट्टिका एक सन्तान अछाम, दुल्लु, दैलेखका राजा भए । काशीदासकै केही पिंढी पछिका सन्तानले राजाकी आर्की छोरीसँग विवाह गरेर तिनका जेठा सन्तानपट्टि मलय वर्मा भए भन्ने कुरा माथि लेखियो । मलयवर्माका जेठा छोरा मेदिनी वर्मा जाजरकोटका राजा भए । तिनका सन्तान पछि दर्ना, धुलिकोट, खाँडाचक्र, सान्नी, ज्याकोटका राजा भए ।

माहिला सुल्तान वमका सन्तान सल्यानका राजा भए । तिनका सन्तान साउँकोट मानेटा र फलावांगका पनि पछि राजा भए । साहिंला प्रितम वमका सन्तान पछि मुसिकोट जहारी, वाफी आठविस, गोताम, खगेना र गुर्तासमेतका राजा भए ।

पूर्वाञ्चलनिवासी मेरै समान नाम भएका टेकनाथ गौतम शास्त्री र विद्वत् शिरोमणि कुलचन्द्र गौतमले हामी गोतामे पुर्खा औरंगजेवको शासनकालमा भरतबाट नेपाल पसेका भन्ने लेखेको कहीं पढेको छु । मैले आदरणीय उक्त विद्वान्हरूको लेखलाई खण्डन गर्न खोजेको होइन वस्तुस्थितिलाई यथार्थ देखाउन खोजेको मात्र हुँ । उहाँहरूले कन्नौज र काशीदासको नाम लेखेको जस्तो मलाई लाग्दैन । आउने काशीदिास र छाडेर आएको ठाउँँ कन्नौज भन्ने कुरा उपर्युक्त शिवालयमा उल्लिखित शिलालेखको संस्कृत उद्धरणका पद्यहरूबाट निश्चित हुन्छ ।

आएको समयको विषयमा सोच्दा उहाँहरूको भनाइ औरंगजेवको शासनकालमा भन्ने छ । औरंगजेवको शासन भरतमा सम्बत् १७१५–१६७४ सम्म चलेको थियो । हामी हापुरे भनिने दाङका गौतमहरूका पुर्खाहरू सम्वत् १४८० देखि १४८८ सम्ममा गोतामबाट दाङमा आएको प्रमाणित छ । उता मलयवर्माको सम्बत १४४२ को रैंका साँधु भन्ने ठाउँँमा शिलालेख पाइएको छ । हामी दाङमा गएको समयभन्दा अढाइ सय वर्षपछि र मलय वर्माको समयभन्दा ३०० वर्षजति पछि औरंगजेवको शासन चलेकोे देखिनाले हाम्रा र मलयवर्माका पुर्खा काशिदास औरंगजेवको शासन कालमा भारतबाट पहाड पसेका भन्न मिल्दैन ।

सिंजाको इतिहासको डोरेटो भनी कोर्ने मोहनबहादुर मल्लले उक्त पुस्तकको पेज ३८ मा सल्यानी जाजरकोटे आदि बाइसी प्रदेशका राजाहरू र हामी गोताम, खत्यौडा, मिश्र, ओस्ती आदि बाहुनका मूल पुर्खा काशीदासलाई कन्नौजबाट बाहुनका भेषमा आएका राठौरवंशी क्षेत्री थिए भन्ने लेखेको देखिन्छ । अहिलेसम्म प्राप्त वंशावली सबैमा काशीदासलाई ब्राहृमण नै लेखिएको छ । क्षेत्री भन्ने कही लेखिएको छैन् । उहाँले सो किताबमा लेखेको यस्ता गलत कुरा सप्रमाण खण्डन गर्ने हो भने त्यो भन्दा ठूलो किताब तयार हुन्छ । मल्लजीको लेखाइअनुसार काशीदासलाई हामीसित भएका प्रमाणअनुसार काशीदासका सन्तानलाई सिंजा सम्राटकी छोरीले आफूलाई बाहुनलाई दिन लागेको थाहा पाई छोरी हारमता मैयाले मलाई बामनी भन्ने होकि रानी ? भन्ने हो भनी सोधिन् भन्ने कुरा मल्लजीले आफै लेख्नुभएको छ । हारमाताको विवाह बाहुनसँग गरिदिएको र उनलाई सामाचौर विर्ता दिएको हुनाले हारमताका सन्तान समाल भनिएर र त्यही समाल शब्द हमाल बनेको हुनाले अहिलेसम्म बाहुनबाट ठकुर्नीमा जन्मेका सबै ठकुरीहरूले आफूलाई हमाल लेख्दै छन् ।

अर्को कुरा हाम्रा पुराण, धर्मशास्त्र र २०२० सालभन्दा अघिका ऐनमा अत्रिका जातअनुसार बाहुनबाट ठकुरी क्षेत्री आदि पैदा हुने व्यवस्था छ । तर क्षेत्रीबाट बाहुन पैदा हुने कहीं व्यवस्था थिएन । यस हालतमा हामी गोतामे, खत्यौडा आदि बाहुन पुर्खा काशीदासलाई क्षेत्री थिए भन्नुभन्दा हास्यास्पद के हुन सक्छ ? त्यसै गरी कुनै वंशावलीमा काशीदासदेखि मलय वर्मासम्म २०–२१ पुस्ता बितेको देखाइएको छ । २०–२१ पुस्ता बित्नलाई ४०० वर्ष जतिको समय चाहिन्छ ।

मलयवर्माको समयदेखि ४०० वर्षअघि काशीदास आएको भन्नलाई त्यो बेला सिंजामा बलियो साम्राज्य खडा भएको थिएन । उता कन्नौजको स्थिति पनि उत्कर्षमा थियो । त्यो बेला कन्नौजमा मुस्लिमहरू पस्न पाएका पनि थिएनन् । त्यस हालतमा काशीदासले मुससलमान भरिएकाले यहाँ बस्न भएन भनी कन्नौज छोडेर सिंजा आउनुपर्ने परिस्थिति देखिन्न । अत ः वि.स. १२५१ मा शाहबुद्दिन गोरीबाट कन्नौजमा भएको आक्रमणपछि मात्र काशीदास पहाड पसेको देखिन्छ र काशीदास आएका समयदेखि मलयवर्माको १४४२ को समयसम्म १८०–९० वर्षमा २०–२१ पुस्ता बित्न नसक्ने हुनाले वंशालीको त्यो संख्या ठीक ठहर्दैन ।

कापडीलाई गोताम पठाएको र उनीहरू गोतामे भनिन लागिएको कुरा माथि लेखियो साधारणत ः सबै हामीले गोतामबाट आएको हुनाले गोतामे कहिन्छौैैैैं भन्दछौं । बसेको या आएको ठाउँँबाट थर बन्ने भए हामी पहिले सिंजाबाट आयौं । त्यसपछि कैयौं गोतामेहरू अरू ठाउँबाट अरू ठाउँँमा सरे हुन् । ती ठाउँको नामबाट थर बन्न पर्ने, त्यसो भएको देखिन्न ।

म २०३० सालतिर गोताम हेर्न गएको थिएँ । गोतामको लेकका चुलीमा सधैं हिउँ रहिरहन्छ । सो हिउँ चुलीका धेरै तल पश्चिमतिर फर्केको ठूलो गोताम इलाका छ । हिउँचुलीबाट निक्लेर पश्चिमतिर भेरी नदीमा मिसिने सानो खोलाले गोतामलाई २ भागमा विभाजन गरेको छ । खोलाको उत्तरमा राजा बस्ने भागको ठाउँँलाई कोट गोताम भनिन्छ । दक्षिणतिरको रिभ्क अथवा विर्ता गोतम नै गोतामेहरूको निवास हो । त्यहाँ अब खत्री गोतामे मात्र छन् । बाहुन गोतामे एकजना पनि छैनन् । संयोगले एउटा ठूलो घरमा मैले ८५ वर्षकी तर तगडा नेता खालकी रिजाल्नी बाहुनी कहाँ डेरा गरेछु । उनी बाहुन गोतामेकी छोरी रहिछन् । उनीसित फुपू, हामीले गोताम छाडी गएका हुनाले गोतामे भनिन्छौं भन्ने सोच्थ्यौं । यही बस्ने पनि गोतामे भनिदा रहेछन् । फेरी यहाँ बसेर गोतामे भनिने भए तपाईंहरू रिजाल कसरी हुनुभयो ? अर्को कुरा विर्ता गोताममा मैले बाहुन गोतामे कोही पनि पाइँन किन हो भनी सोधेपछि उनले माइतीको गावै देखाउँदै भनिन् ः जसलाई राजाले गोताममा विर्ता र गोतामे भन्ने मान दिएका गिए तिनले पो आफूलाइ गातामे भनी लेख्न पाएछन् । जल्ले पायो उसले गोतामे लेख्न पाइँदैन । गोतामेहरू धेरै पढेका र पुरेत्याइँ गर्न जान्ने हुन्थे । त्यसै कारणले अन्यत्रबाट मानिस आई बाहुन जातिलाई लिई गए ।

नपढेकाहरूले यहाँ खत्रिनी, मगर्नी स्वास्नी ल्याए तिनका सन्तान खत्री गोतामे भए । त्यसैले यहाँ बाहुनको बस्ती कम छ । तिमीले उपाध्याय बाहुन त यहाँ पाउँदैनौ । तल भेरीको तिरमा दत्तु जैशी छन् भन्ने जवाफ दिइन् । अनि मैले भेरीका तीरको धरवाडा भन्ने ठाउँँमा दत्तु जैशीलाई भेटेर सोधे, उक्त कुरा सोध्दा हाम्रा मूल पुर्खा काशीदास हुन् । गोतामे राजाले दिएको पद हो, भनेबाट सिंजाको एक अभिलेखमा मलयराजभन्दा पनि अघिका बाहुनलाई कुनै सिंजा पतिले बाहुनलाई छोरी दिंदा सामाचौर विर्ता र समालपद दिएका थिए भन्ने कुरा माथि नै लेखियो । दाङका पोख्रेल बाहुनलाई दाङ छिल्लीका राजा वीरभद्रले गरिदिएको दानपत्रमा मजगाउँ विर्ता बक्स्यौं र मजगैया पद पायौं भन्ने लेखिएको हुनाले र त्यसपछि दाङका ती पोखरेलहरू मजगैया भनिन लागेकाले गोतामे शब्द गोताममा बसेकाले र गोताम छाडी हिडेकाले बनेको थर होइन किन्तु राजाले विर्ताका साथै दिएको पदवी हो । हाम्रो थर खास गोतामे नै हो । गोतामे जस्तो एकाराना शब्द संस्कृतमा नभएको हुँदा त्यसबाट विभक्ति ल्याई प्रयोग गर्न र अर्थ बुझाउन असजिलो पर्ने हुनाले तथा गोतामबासीलाई बुझाउने पद दिंदा शुद्ध पद संस्कृत व्याकरणको (सोऽस्य निवास) भन्ने नियमले गौतम शब्द बन्ने हुँदा पहिले विद्वत् शिरोमणि कुलचन्द्र र त्यसपछि मेरा दाजु पं. शालिग्रामले गौतम लेख्न लगाउन थाल्नु भयो । पछि सबैले गौतम लेख्न लागेका हुन् ।

गोतामेहरूले मष्टा या मष्टो भनी कुल देवताको पुजा गर्छौं । मादि ष्टान्तो रुमादिर्लः पालान्तो वंशगोमुखौ राहान्तोे वो ब्राहृमणानां पञ्चैता ः कुलदेवता ः ।

प्राचीन परम्परादेखि प्रसिद्ध भई आएको उपर्युक्त श्लोकमा मष्टा, रुमाल, वंशपाल, गोपाल र वराह यी ५ ब्राहृमणहरूका कुलदेवता हुन् भनिएकोले मष्टा नै हाम्रा कुलदेवताको नाम हो । मष्टो होइन ।

अब यी मष्टा भनेका को हुन् त भनी जान्न खोज्दा मष्टाकन आछाम र जाजरकोट जिल्लामध्ये पैंक गा.वि.स. अन्तर्गत बिजुली डाँडाका स्थान मुख्य मानिन्छन् । अछामको कुरा थाहा छैन, बिजुली डाँडामा शिवलिंगलाई मष्टा भनी पुज्दछन् । त्यहाँ बलि पनि चढाइन्न भन्ने कुरा मेरा दाजु र त्यहाँ गई आएका कैयौं मानिसहरूबाट मैले सुनेअनुसार मष्टा भनेको शंकर हुन् भन्ने स्पष्ट हुन्छ ।

अब १२ भाइ भष्टा भन्ने चलन छ । ती कोहुन् ? कसरी १२ भाइ भए ? भन्नलाई एकादश रुद्रमा महेशितालाई थपेर १२ पु¥याइएको हुन सक्छ । कसैले दुधे, कसैले अर्कै नामका मष्टाहरू भन्छन् । ती एकादश रुद्रका अलग–अलग नाम भए झै आफुखुशी राखिएका नामहरू हुन सक्छन् । त्योभन्दा पनि उपयुक्त कुरा मलाई के लाग्छ भने पहिले मष्टा मनेका शंकर हुन् भन्ने थाहा पाउन्जेलसम्म सबैले दूधको धारा चढाई पुज्ने गरेका हुँदा हुन् । पछि–पछि आफ्ना इष्ट देवताका पूजा–आराधनाको पूर्णता बलि दिएर मात्र मान्ने मासु खाने खस मगरको समाजमा हाम्रा पुर्खाहरू बसेका हुनाले तिनैका चलनको अनुकरण गरी बलि दिन थालियो होला र बलि चढाउन लागेपछि दूध चढाइने र बलि चढाइने मष्टालाई अलग–अलग मानी दुधे मष्टा, दाह्रे मष्टा आदि नाम राखिएको हुनसक्छ । उल्टो बलि दिई काट्ने चलन किन चल्यो त ? भनी शंका गर्दा हाम्रा समाजमा धेरै कुराहरू मुसलमानहरूबाट पनि आएका छन् । मुसलमानहरूले जवह (बलि) दिंदा बलिलाई उल्टो गरी रेट्छन् । तिनकै देखासिकी यो उल्टो गरी बलि दिने चलन चलेको हुनुपर्छ ।

हाम्रा पुर्खाहरू वि.स. १४८०–८५ तिर यस ठाउँँमा आएको प्रमाणित हुन्छ र यही ठाँउ विर्ता पाई बसेका हौं । अहिलेसम्म यो जमिनमा अविच्छिन्न अधिकार छदैछ । यसका साथै हामीहरूमा रहेको अर्को विर्तामा गई बसेका बेलामा गाउँका मानिस बिरामी परेको बखत मष्टा चढे भन्दै कामेर भूत, बोक्सी धपाउने चलन थियो । काम्नेलाई डाँगर भन्दथे । हाम्रा २ काकाहरू गोवर्धन र लीलाधर डांगर हुनुहुन्थ्यो । उहाँहरू स्वर्गीय भएपछि मलाई डांगर बनाउन ठाँउ ठाउँँमा डांगर र धामी झाक्री ल्याई कोशिस गरिएको थियो तर उनीहरूले कति प्रयास गर्दा पनि म दृढ रहेकोले कमाउन सकेनन् र हाम्रो माइला दाइको छोरा वामदेव( जो पछि खरदार भए) लाई डाँगर बनाएका थिए । २००२ सालतिरबाट क्रमश ः विस्तारै विस्तारै यो काम्ने चलन छुट्दै गयो ।

भारतमा पनि गौतम थर भएका मानिस पाइन्छन् । अघि मैले इलाहावादमा पढ्दा मारतीय कांग्रेसका नेता मोहनलाल गौतमजीलाई पनि गौतम थरको बारेमा सोधेको थिएँ । उहाँले हाम्रो अत्रि गोत्र होइन भनेर अर्कै गोत्र बताउनु भएको थियो र गौतम थरबारे उहाँले बाउ बाजेले लेख्दै आएको हुनाले मैले पनि लेख्ने गरेको हुँ किन लेख्ने गरेको भन्ने कुरामा मैेले छानवीन गरेको छैन भनी पन्छिनु भएको थियो । त्यसपछि भारत वहराइचका शेखर सिंह गौतम भन्ने इतिहासका अन्वेषक १७–१८ सालतिर मेरो घरमा आई निकै दिन बस्नुभएको थियो । उहाँले आफुलाई गौतम गोत्री बताउनु हुन्थ्यो । त्यसकारण नेपालबाट गएका गौतमबाहेक भारतीय गौतमसँग हाम्रो कुनै सम्बन्ध छैन ।

दामोदर पाण्डेका पालामा नक्साका टोलीमा काठमाडौं आई ३ महिनापछि सुगौलीमा बसेका हेमिल्टनले पश्चिम नेपालको इतिहास बुझ्न पैसा दिई मानिस पठाई तिनले दिएको रिपोर्टअनुसार र कर्क पेट्रिकको लेखाइका आधारमा नेपालको इतिहास भनी लेखेका छन् ।

त्यसमा उनले भारतबाट डिम्बाराय भन्ने गोतामे बाहुन ताकम (थाक) भन्ने ठाउँँमा पुगे । त्यहाँका कुनै ठुला राजाकी एकमात्र सन्तान छोरीसँग विवाह गरे । राजाकी छोरीबाट उनका २२ भाइ छोरा भए । ती छोराहरूले सो राज्य बाँडेर २२भाग लगाएकाले ती बाइसे राज्य भनिए भनेर जाजरकोटी, सल्यानी आदि राजाहरू र हामी गोतामेहरूलाई पूर्वदेखि पश्चिम लागेका र साथै उनले डिम्वाराय गोतामेको सम्बन्ध इलाहावादको नजिकका प्रभावशाली गौतम राजपुतसँग हुन सक्छ भन्ने देखाएका छन्, यो कुरा बिल्कुलै नमिल्दो र असाय तथा काल्पनिक कुरा हो ।

यस्तो नमिल्दो कुरा कसरी लेखे हुन् भनी सोद्धा उनको इतिहास बुझ्न पठाएका मनिसहरूले उनलाई इतिहासको सूचना दिंदा, जाजरकोटी सल्यानी आदि बाईसे राजाहरूका पुर्खा मलयवर्मा या वर्मा हुन् भन्नेसम्म दिए हुन्, बुझ्नेलाई नै थाहा नभएकाले ती मलयवम सिंजाली हुन् भन्ने दिएन हुन् । यता सिंजालीमलयवमका कान्छा छोरा सुरतिवमलाई पर्वतमा लगी राजा बनाए भन्ने कुरा माथि लेखिसकिएको छ । यिनै पर्वते राजा सुरति वमका कैयौं पिढीपछिका सन्तान मलय वम भन्ने नामका थिए । यिनी पनि निकै प्रतापी विद्वान थिए भन्ने बुझिन्छ । उनले मल्ल आदर्श नामको संस्कृतमा किताब लेखेका छन् । त्यसको अदिमा निम्नश्लोक छ ः

राज्ञी महत्य वसन्ताराजा च श्री मल्लै वम्म ः

अज्ञोद्धारकृतेऽमुं कुरुतेग्रन्थं महारत्नम् । ।

यिनै दोस्रा पर्वतका मलय वमलाई सल्यानी जाजरकोटेका पुर्खा सम्झी हेमिल्टनले त्यसो सम्झी त्यस्तो लेखे होलान् जस्तो मलाई लाग्छ ।

गौतम वंशको संक्षिप्त परिचय
– प्रा. गोपीकृष्ण शर्मा गौतम

गौतम शब्द ऋषिवाचक नाम हो । सप्तर्षिहरूमा अत्रि ऋषिसँगै गौतम ऋषिको पनि नाम रहेको छ । ती सात ऋषिहरू हुन्– कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ । ऋषितर्पणी र ऋषिपञ्चमीका दिन प्रायः हिन्दू नर–नारीहरूले यी ऋषिहरूको पूजा–आजा गर्ने र व्रत बस्ने परम्परा छ । खास गरी ब्राह्मण–क्षत्रिय वर्गका विवाहित नारीहरूले अरून्धतीसहित सप्तर्षिको पूजा–अर्चना गर्ने प्रक्रिया कायमै रहेको पाइन्छ । यिनै गौतम ऋषिसँग गौतम थर हुने अत्रिगोत्रीय ब्राह्मण–क्षत्रियहरूको गौतम वंशका रूपमा सम्बन्ध रहनु राम्रो सुयोग हो । गोत्रप्रवर्तक ऋषिपरम्पराका दृष्टिले भने गौतम थर हुनेहरूको सम्बन्ध अत्रि ऋषिसँग रहेको छ, गौतम ऋषिसँग होइन । पूर्व गौतम आश्रमका बासिन्दा अथवा गोताम गाउँका पुराना रैथाने घर–परिवारका सन्तान–दरसन्तानका रूपमा फैलिएका व्यक्तिहरू नै गौतम थरका हुन् र यिनलाई गोतामे पनि भनिएको पाइन्छ । ‘गोतामे’ बाट नै निकटतम ऋषिवाची शब्दपरिवर्तन गरी अधिकतम ध्वनिसाम्य कायमै राखेर ‘गौतम’ भन्न थालिएको हो ।

गौतम शब्दको व्युत्पत्ति ‘गोतम’ बाट भएको छ । गोधनद्वारा दारिद्र्यरूपी अन्धकार ध्वस्त गर्ने अथवा इन्द्रियनिग्रहद्वारा सांसारिक माया–प्रपञ्चमाथि विजय गर्ने भन्ने अर्थमा ‘गोतम’ शब्द निष्पन्न भएको (गोभिध्र्वस्तं तमो यस्य, बहुव्रीहिः, पृषोदरादित्वात् साधु–आप्टे) छ । गोतम शब्द पनि ऋषिकै नाम हो । यिनी अङ्गिरा कुलका ऋषि हुन् र अहल्याका पति हुन् । यिनैलाई गौतम पनि भनिएको छ । यही ‘गोतम’ शब्दबाट गोतमका सन्तान भन्ने अर्थमा गौतम (गोतम+अण्) शब्द व्युत्पन्न भएको छ । अत्रिगोत्रीय द्विजातिको थरका रूपमा आएको गौतम शब्दले उक्त पौराणिक वा प्राचीन सन्दर्भलाई सम्झाए पनि अत्रिगोत्रीहरूको ‘गौतम’ भन्ने थर प्रकारान्तरबाट आएको पुष्टि हुन्छ ।

गौतम वंश भन्नाले यहाँ गोताम, गोतामे वा गौतम थर हुने अत्रिगोत्रीय ब्राह्मण–क्षत्रियवर्गलाई लिइएको छ । गौतम थर हुनेहरू गौतम ऋषिका वंशज होइनन्, गोत्रप्रवर्तक अत्रि ऋषिका परम्पराका वंशज हुन् । अत्रिगोत्रकै कुल–परम्परामा अत्रि ऋषिसँग सम्बन्धित पुस्तौनी शृङ्खलामा गौतम थरको साइनो गाँसिएको छ ।

थर भनेको पुख्र्यौली वंशपरम्पराको पहिचान गराउने वंशानुगत उपनाम हो । यो पूर्व–परम्पराबाट पुस्ता–प्रतिपुस्ता हुँदै नामसँगै गाँसिएर आएको हुन्छ । पुर्खाले बसोबास गर्ने थलोलाई सम्झाउने अर्थमा समेत ‘थर’ आएको छ । संस्कृत ‘स्थल’ बाट ‘थल’ हुँदै ‘थर’ शब्द बनेको हो । पुरानो बासस्थानका आधारमा ‘थर’ बनेका उदाहरण प्रशस्त पाइन्छन् । अहिले पनि बसाइँ सरेर नयाँ थलोमा आउने कतिपय घर–परिवारलाई नयाँ ठाउँँका रैथाने बासिन्दाहरूले पुरानै थलोको नाम लिएर चिन्ने–चिनाउने चलन छँदै छ । आँधीखोले, कालीपारे आदि यस्तै उदाहरण हुन् । पश्चिम भेगका विकट पहाडी भूभागबाट पूर्वतर्फ केही सुगम र सहज पहाडी प्रदेशमा बसाइँ सर्दा पुरानो थलोलाई लिएर नव आगन्तुक घर–परिवारलाई परिचित गराउन थालियो र पछि त्यही नै थरका रूपमा परिणत भयो । ‘गोताम’ भन्ने ठाउँँमा बस्ने वा ‘गोताम’ बाट आएका भन्ने अर्थमा गोतामे (पछि गौतम पनि), पराजुलबाट आएका पराजुली आदि यसरी बनेका थरहरू हुन् ।

ईशाको एघारौं शताब्दीदेखि नै विविध गोत्रका ब्राह्मण जातिहरू मुसलमान शासकहरूको आक्रमणबाट बच्न पश्चिम भारतबाट नेपालको तत्कालीन कर्णाली प्रदेशमा प्रवेश गरे । जातिगत इतिहास र कतिपय वंशावलीमा यस कुराको प्रमाण पाइन्छ । वर्तमान नेपालको पश्चिमी विकट पहाडी भूमिमा बसाइँ सर्नुको मुख्य उद्देश्य हिन्दू धर्म र संस्कृतिको सुरक्षा गर्नु थियो । भारतमा मुसलमानहरूको आक्रमणका साथै हिन्दू धर्म तहसनहस पार्ने अभियान थालिएकाले यी ब्राह्मण जातिहरू हिन्दू धर्म र सनातन वैदिक संस्कृतिको संरक्षण गर्न भारतका कन्नौज, उज्जैन आदि प्रदेशबाट यस हिमाली प्रदेशमा प्रवेश गरेका हुन्. । यही प्रवेशका क्रममा अत्रिगोत्रीय ब्राह्मणहरू विशाल जुम्ला साम्राज्यको ‘गोताम’ भन्ने ठाउँँमा आएर बसे । ईशाको तेह्रौं शताब्दीसम्ममा यिनीहरूको आगमन त्यस पहाडी भूभागमा भइसकेको अनुमान छ । जुम्लाका नरेशबाट पनि उचित आश्रय र सम्मान पाएको हुनाले यसरी आउने ब्राह्मणवर्गलाई अनुकूल स्थिति रहेको प्रतीत हुन्छ । गोताम वा गौतम गाउँमा यसप्रकार अत्रिगोत्रीय ब्राह्मणहरू भारतबाट आए भन्ने विवरण चाहिं कुलचन्द्र गौतमको ‘गौतम वंशवृत्तम्’ भन्ने अप्रकाशित कृतिमा समेत रहेको भन्ने उल्लेख प्रा. माधवराज गौतमबाट भएको छ । उक्त ग्रन्थमा मुसलमानहरूको आक्रमणबाट सुरक्षित हुन र धर्मरक्षा गर्न अत्रिगोत्रका ब्राह्मणहरू पश्चिम पहाडी भेगको गोताम नाम गरेको गौतम ग्राममा आए भन्ने उल्लेख छ । जस्तै– “केचित्तेषु ब्राह्मणा अत्रिगोत्रा गोतामाख्यं गौतमग्राममापुः” ।

गोताम गाउँका बारेमा पनि केही जनश्रुति पाइन्छ । गाईहरू प्रशस्त पालिने ठाउँँ भएकाले गोधाम भनियो र त्यही नै उच्चारणक्रममा पछि गोताम भयो भन्ने किंवदन्ती छ । यसै गरी गौतम ऋषिको प्राचीन आश्रम भएकाले ठाउँँको नाम गौतम, गोताम आदि रहेको भन्ने अनुश्रुति पनि छ । यस प्रदेशमा आएका ब्राह्मणहरू अत्रिगोत्रीय थिए र अग्निहोत्री ब्राह्मण थिए । वैदिक धर्म मान्ने र सात्विक भोजन गर्ने गोतामेहरू मांसाहारी थिएनन् । गोतामेहरूले माछामासु खान हुँदैन भन्ने परम्परा पनि धेरै पछिसम्म चलेको पाइन्छ । यिनै गोतामेहरूले नै विद्वान् कुलचन्द्र गौतमको अनुसरण गरेर गौतम लेख्न थालेका हुन् भन्ने चर्चा विद्वान्हरूले गरेका छन् । अहिले पढाइ–लेखाइका क्रममा र नागरिकता प्रमाणपत्र आदि बनाउँदासमेत धेरै गोतामेहरू गौतम भएका छन् । यसरी गोतामे र गौतम पर्यायवाची शब्द हुन्, समान थर बुझाउने लवज हुन् ।

भवानी गौतमले गौतम वंशमञ्जरी (२०४१) भन्ने कृतिमा भारतबाट वर्तमान नेपालको कर्णाली प्रदेशमा सर्वप्रथम प्रवेश गर्ने गौतमवंशीय पुर्खाहरूको वर्णन गरेका छन् । उक्त वंशमञ्जरीका अनुसार भारतको कन्नौज
(कान्यकुब्ज) र हरियाणातर्फबाट अत्रिगोत्रीय लल्ल (लल्लक) र काशीदास नाम गरेका बाबु–छोरा मुसलमानको आक्रमणबाट सुरक्षित हुनका लागि जुम्लाको सिंजा प्रान्तमा आए । सिंजा क्षेत्र नेपाली भाषाको मूल थलो पनि मानिन्छ र खस साम्राज्यको चकचकी भएको बेला सिंजा अधित्यका प्रशासकीय केन्द्र भएकाले पनि विशेष महŒव राख्छ । योगी नरहरिनाथले पनि इतिहासप्रकाशमा अत्रि गोत्र, थर गौतम भएकाहरूको पुरानो थलो जुम्लाको गोताम रहेको उल्लेख गरेका छन् । हाल राप्ती अञ्चल, रुकुम जिल्लाको गोताम भन्ने ठाउँँ तत्कालीन विशाल जुम्ला साम्राज्यभित्र नै पर्ने हुनाले त्यसै ठाउँँलाई यी विद्वान्हरूले उल्लेख गरेका हुन् भन्ने अभिमत पनि छ । जुम्ला–क्षेत्रमा सर्वप्रथम प्रवेश गर्ने लल्ल र काशीदासमध्ये काशीदास एक्लै आएका हुन् र गौतमवंशका नेपाल प्रवेश गर्ने आदि पुर्खा काशीदास हुन् भन्ने मत अधिकांश विद्वान्हरूको छ । कतिपय गौतमहरूको वंशवृक्षमा काशीदासको नाम जुम्ला–क्षेत्रमा प्रवेश गर्ने आदिपुरुषका रूपमा उल्लेख भएको छ । यसरी अहिलेसम्मको खोजीनीतिमा गौतमवंशीय अत्रिगोत्रका आदिपुरुष काशीदासबाट नेपालमा गौतमवंशको परम्परा वृद्धि हुँदै गएको र उनैको सर्वप्रथम वर्तमान नेपालको जुम्ला–क्षेत्रमा आगमन भएको हुनाले गौतमवंशका आदिपुर्खा नेपालका सन्दर्भमा काशीदास रहेको भन्ने अवगत हुन्छ ।

काशीदासपूर्वका वंशजहरूको खोजी गर्दै जाँदा प्राचीन समयमा भारतको कन्नौजमा बसोबास गर्ने अत्रिगोत्रीय अग्निहोत्री ब्राह्मण ऋतुभद्रको नाम देखा परेको छ । यस प्रकार अत्रिगोत्र, गौतम वंशका सबभन्दा पहिलेका आदिपुरुष ऋतुभद्र हुन् र यी अत्रि ऋषिका पुस्तौनी सन्तान हुन् । यिनैका वंशज काशीदास भारतबाट हिन्दू धर्म र संस्कृतिको सुरक्षा गर्न वर्तमान नेपालको कर्णाली प्रदेशमा प्रवेश गरेका हुन् । यसरी धार्मिक आश्रयको खोजीमा पसेका काशीदासलाई सिंजा–नरेश (विशाल जुम्ला साम्राज्यका खस नरेश) ले ससम्मान आश्रय दिए । यिनलाई विर्ता पनि प्रदान गरे । काशीदासका सन्तानलाई सिंजा नरेशले र जुम्लाप्रदेशका नरेशले पनि यी विद्वान् धर्माधिकारीहरूलाई गोताम, खत्याड, रिम, दह, पोखरी आदि नाम गरेका गाउँ बिर्ताका रूपमा प्रदान गरे । यिनै स्थानका आधारमा गोतामे, खतिवडा आदि थर रहेको भन्ने चर्चा प्राचीन वंशावली आदिमा पाइन्छ । गौतम वंशका सगोत्री अन्य थरहरूमा खतिवडा, चापागाईं, वस्ती, मिश्र, ओझा आदि थर रहेका छन् ।

नेपाल एकीकरण हुनुभन्दा पूर्व जुम्लाको विशाल खस साम्राज्यअन्तर्गत दैलेख, जाजरकोट, रुकुम आदि क्षेत्रहरू पनि पर्दथे । यिनमा रुकुम जिल्लालाई गौतमवंशको आदिथलो मानिन्छ । वर्तमान राप्ती अञ्चलको रुकुम जिल्लामा गोताम कोट भन्ने गाउँ अहिले पनि छ । यो ठाउँँ गौतमवंशहरूको पुरानो आदिथलो हो र यहीँबाट गोतामे थरका मानिसहरू बसाइँ सर्ने क्रममा नेपाल अधिराज्यभरि विभिन्न जिल्लामा फैलिएर रहेका छन् । भवानी गौतमको ‘अत्रिवंशदर्पण’ का अनुसार यिनै गोतामेहरू नै पं. कुलचन्द्र र शालिग्रामले गौतम थर चलाएअनुरूप गौतम भएका हुन् । केही परिवारमा भने ‘गोतामे’ थर कायमै रहेको पनि पाइन्छ ।

गोत्रका दृष्टिले गौतम वंशका गोत्र र प्रवरका समेत प्रवर्तक आदि ऋषिका रूपमा महर्षि अत्रि रहेका छन् । अत्रि ऋषि ब्रह्माका मानसपुत्र हुन् र तपोवलले सप्तर्षिमध्ये एक ऋषिका रूपमा रहेका छन् । रामवनवासका सन्दर्भमा राम र सीता यिनै अत्रिका आश्रममा केही समय रहेको उल्लेख रामायण तथा पौराणिक ग्रन्थहरूमा पाइन्छ । यिनै अत्रि ऋषिकै वंशपरम्परामा गौतम थरका आदिपुरुष ऋतुभद्रको नाम आएको छ । अत्रिदेखि ऋतुभद्रसम्मको वंशपरम्परा अतीतको गर्भमा रहेको छ र यसको यथासम्भव खोज–अन्वेषण हुनु वाञ्छनीय पनि छ ।

अत्रिगोत्र हुने गौतम थरका गौतम वंशजशहरूको आदिथलो पश्चिम नेपालको कर्णाली क्षेत्र हो भन्ने स्पष्ट भइसकेको छ । वर्तमान नेपालको कर्णाली क्षेत्रमा सर्वप्रथम प्रवेश गर्ने गौतम वंशका पुर्खा काशीदास हुन् भन्ने प्रमाण विभिन्न अभिलेख र वंशावलीबाट ज्ञात हुन्छ । “गोतामे बन्धु २०५६” दाङबाट २०५६ सालमा प्रकाशित गोतामे वंशावलीमा वाणीविलासद्वारा वि. सं. १८५० मा लिखित हस्ताक्षर प्रतिको फोटो कापी छापिएको छ । उक्त फोटो कापीमा पनि गौतमका आदिपुर्खा काशीदास कन्नौज क्षेत्रको हरियाना ग्रामबाट आएको भन्ने उल्लेख छ । हिन्दू धर्म र वैदिक संस्कृतिको रक्षाका लागि षट्शास्त्रवेत्ता तथा चतुर्वेदमा पारङ्गगत काशीदास सिंजा प्रदेशमा आई नरेशबाट सम्मानित भएर बिर्ता समेत पाई बस्न थाले भन्ने प्रमाण त्यहाँ पाइन्छ । त्यसैले भारतबाट नेपालमा आउने अत्रिगोत्रीय गौतम वंशका प्रथम व्यक्ति काशिदास हुन् भन्ने प्रमाणित हुन्छ ।

वर्तमान परिप्रेक्ष्यमा गोतामे थर हुने गौतम वंशका व्यक्तिहरू आदिथलो पश्चिम कर्णाली क्षेत्रदेखि लिएर पूर्व मेची अञ्चल र नेपाल बाहिर पनि छरिएर रहेका छन् । नेपाल अधिराज्यका प्रायः सबैजसो अञ्चलहरूमा गोतामे वा गौतम थर हुने व्यक्तिहरूको बसोबास छ । नेपालका विविध जिल्लाहरूमा सर्वप्रथम उक्त गोतामे वा गौतम थरका कुन व्यक्ति कहाँबाट आएका हुन् भन्ने विषयमा यसप्रति अभिरुचि राख्ने महानुभावहरूबाट खोजीनीति हुँदैछ र केही भएको पनि छ । खिदिममा मूल पुरुषका रूपमा श्रीधर गौतमको आगमन भएको भन्ने नारायण गौतम, प्रेमनारायण गौतम आदिको खोजपूर्ण धारणा छ । गौतम वंशको खोज–अध्ययनमा धेरै पहिलेदेखि नै लागिपर्ने अनुुसन्धाता भवानी गौतमको प्रयास निकै स्तुत्य छ । २०१७ सालदेखि नै गौतम कुलको खोजीमा लागेको सन्दर्भ २०१७ सालमा प्रकाशित ‘गौतम कुलको सुन्दर कुसुममा’ बाट समेत अवगत हुन्छ । भवानी गौतमले यस क्रममा पुगनपुग एक दर्जन किताब प्रकाशित गरेका छन् । यिनका केही उल्लेख्य कृतिहरूमा ‘गौतम वंश वटवृक्षाकार’ (२०२४), ‘गौतम वंशपरिचय’ (२०२७), ‘गौतम कुलदेवतापूजा’ (२०३८), ‘अत्रिवंशदर्पण’ (२०३९), ‘गौतमवंशमञ्जरी’ (२०४१) आदि उल्लेखनीय छन् । यस क्रममा कुलचन्द्र गौतमको ‘गौतमवंशवृत्तम्’ (अप्रकाशित) र हरिहर संस्कृत विद्यालयको स्वर्णजयन्ती स्मारिका (२०४४) मा नारायण गौतम शास्त्रीद्वारा प्रकाशित ‘ऐतिहासिकी गौतमवंशावली’ नामक संस्कृत ग्रन्थहरूले पनि गौतम वंशबारे राम्रो प्रकाश पारेको प्रतीत हुन्छ ।

गौतम वंशका आदिपुरुष को थिए र नेपालमा सर्वप्रथम प्रवेश गर्ने आदि पुर्खा को हुन् भन्ने बारेमा विभिन्न कृतिका आधारबाट यहाँ संक्षिप्त चर्चा गरिएको छ । गौतम समाज, काठमाडौंद्वारा २०५६ सालमा प्रकाशित स्मारिकाबाट पनि हामीलाई गोतामे वा गौतमहरूका बारेमा धेरै कुराको जानकारी हुन्छ । यस परिप्रेक्ष्यमा गौतम समाज (२०५४) द्वारा प्रकाशित भएको ‘गौतम वंशावली’ खोज–अनुसन्धानका साथै यथासम्भव अधिकांश गौतम
(गोतामे) हरूको विवरण दिने उल्लेख्य ग्रन्थ हुने तथ्य निर्विवाद छ । हामी गौतम बन्धुहरू आफ्नो कुल–परम्परा र वंशगत समृद्धिमा अझ समाहित हुन सकौं, कुल–धर्म र कुल–मर्यादालाई अरू समुन्नत पार्न सकौं । यिनै भावनाका साथ गोत्रप्रवर्तक अत्रि ऋषिप्रति श्रद्धावनत हुँदै समस्त गौतम–बन्धुसँग आत्मीय सम्मानभाव व्यक्त गर्दछु ।

गोताम र गोतामे (गौतम) थर
– भुवनेश्वर उपाध्याय गौतम, भू.पू.रा.प.स.,रुकुम,

‘गोताम’ भन्ने प्रसिद्ध स्थान रुकुम जिल्लामा पर्छ । रुकुमकोटको ठीक उत्तरमा यो गोताम भन्ने ठाउँँ छ । रुकुम जिल्ला भित्र पर्ने गोताम र जुम्ला जिल्लाका १८ दरा मध्ये भोटान दरा (हाल डोल्पा जिल्ला) सीमाना जुधेको छ । त्यस जुधेकोे ठाउँँलाई कवगाड भन्दछन् । रुकुमकोटको उत्तरमा रहेको सो गोतामकोट भन्ने ठाउँँ डोल्पा जिल्लाबाट बगेर आएको ठूलो भेरी नदीको देब्रे किनारामा अवस्थित छ । गोताम एउटा रमणीय उपत्यका हो । रुकुमकोट, मुसीकोट, गोतामकोट, आठबीसकोट, वौफीकोट, समेतका यी सबै कोट (ठाउँ) हरू रुकुमका नमुना हुन् ।

गोतामे ब्राह्मणका साथै जैसी,खत्री, दमाई आदि बसेको ठाउँँ र निजहरूले चर्चेका खेत, पाखा, वन–बुट्यान सबैलाई आला जफती भनिन्छ भने अन्य जातहरू जस्तै ठकुरी, नेवार, गुरुङ्ग,छन्तेल, कामी, सार्कीहरू बसेको ठाउँँलाई आला रैकर भनिन्छ । यी दुवै नाम माल अड्डाको स्रेस्तामा किटिएको छ ।

अघि गोतामे ब्राह्मणहरूको गोतामदेखि रुकुमसम्म बीर्ता थियो । पछि श्री ५ रणबहादुर शाहका पालामा (१९६२सालमा) भएको बीर्ता जफत भन्ने अर्थमा जफती भनिएछ । अनि त्यसैलार्ई आला जफती र बीर्ता बाहेक अरू खेत भएका ठाउँँलाई आला रैकर भन्ने नामबाट स्रेस्ता खडा गरिएको भनिन्छ ।

यस क्रममा एउटा जनश्रुति पनि छ । त्यो के भने रुकुमकोटका पुराना साबिक राजाको नाम बोगसा जाट (स्थानीय बोलीमा बोक्से जाट पनि भनिन्थ्यो, तर जाट भनेको भोट प्रदेशको भन्ने हुनाले भोटे राजा पनि भन्न सकिन्छ ) थियो । ऊ शोषक र अत्याचारी भएकोले गाउँकै जनता मिलेर उसलाई गद्दीच्युत गरी जुम्लाका प्रतापी राजा मलय बमका छोरा प्रीत बम (पिथीबम)लाई ल्याएर रुकुमका पहिला ठकुरी राजा बनाए । उनीपछि पाँचौं पुस्ताका दारे जैतम राजाका सन्तान र भाइ–भैयादहरू थुम,थुमका राजा भए । यिनै राजाहरू नै बाइसी राजा भनिएका हुन् । विशाल जुम्ला साम्राज्य भित्र रुकुम पनि पर्ने हुनाले रुकुमकोट पनि बाइसी राज्यहरू मध्ये नै एक राज्य भएको देखिन्छ ।

गोतामे भन्ने थर कसरी भयो भन्ने कुरामा दुई,तीन सम्भावनाहरू देखा पर्छन् । गोताममा बस्ने हुनाले गोतामे भनिएको एउटा अर्थ लगाइन्छ भने बूढा, पाकाहरूको भनाई अनुसार जुम्लाका सम्राट मलय बमले अत्रिगोत्रीय ब्राह्मणलाई खत्याड बीर्ता दिई खत्यौडा (खतिवडा) पदवी दिए जस्तै अत्रिगोत्रीय ब्राह्मणलाई नै गोताम बीर्ता दिई गोतामे पदवी समेत दिएका हुन् । गोताम भन्ने बीर्ता र गोतामे भन्ने पदवी पाएका प्रथम अत्रिगोत्रीय ब्राह्मण काबरु (कापडी) हुन् भनिन्छ । गोतामेहरू कसरी गौतम भए भन्ने प्रसङ्गमा कुलचन्द्र गौतमको चर्चा आउाछ । यिनी रुकुमबाट पूर्वतर्पm बसाईं सरी धादिङ्ग जीवनपुरमा आई बस्ने बद्रीनाथ गोतामेका आठौं पुस्ताका वंशज कुलचन्द्र गौतमले बनारसमा गएर विद्वान् तैलङ्ग गङ्गाधर शास्त्री सी.आई.ईबाट शिक्षा अध्ययन गर्दै जाँदा गोतामे किन ? गौतम भन्ने गर, यो शुद्ध पनि हुन्छ । भन्ने सुझाव, सल्लाह पाएछन् । यसपछि अरू गोतामेले पनि क्रमशः गौतम थर लेख्न थालेका हुन् ।

अधिकांश गोतामेहरूले ‘मष्ट’कुलदेवताको पूजा गर्छन् । कतै कतै भने अरू देव–देवीलाई पनि कुलदेवता मान्ने गरेको पाइन्छ । ‘मष्ट’ वा ‘मष्टा’ भनेको कसैको मतमा बराह (विष्णुुको अवतार मष्ट बराह) को रूप हो र कसैको मतमा शिव (महोष्ट–मष्ठ) को रूप हो । यसबारे एउटा प्रसिद्ध संस्कृत श्लोक पनि छ –

मादिष्टान्तो रुमादिर्लः पालान्तो वंश गोमुखौ ।

राहान्तो वै ब्राह्मणनां पञ्चैते कुलदेवताः । ।

म आदि ष्ट अन्त–मष्ट । रुम आदि ल अन्त–रुमाल । पाल अन्त, वंश, गो आदि –वंशपाल तथा गोपाल । राह अन्त, व आदि–वराह, यी पाँच कुलदेवता हुन् । रुकुम, मुसीकोट र चौंरजहारीका अत्रिगोत्रीय गोतामे ब्राह्मणहरूले कुलदेवताको पूजा गर्दा बलि चढाउने चलन छैन । शुद्ध दुध र घ्यूमा बनेका परिकार मात्र चढाउने चलन छ । अर्को कुरा, प्रतिवर्ष गहुँ, धान आदि बाली भित्र्याउँदा कुलदेवतालाई भनेर एक,दुई पाथी अन्न छुट्याउने चलन छ । अनि मात्र अरू अन्न भण्डारण गरिन्छ । यसरी कुलदेवतालाई छुट्याएको पहिलो बालिको अन्नलाई स्थानीय भाषमा पोखल भनिन्छ । यो पोखल अन्नबाट कुलपूजाको प्रसाद बनाइन्छ । कुल पूजाको बेलामा छालाका बस्तुहरू घरभित्र भए हटाउने समेत चलन छ ।

स्वर्गद्वारी प्रभु (बाल तपस्वी) को संक्षिप्त जीवनी

सौजन्य ः काजीबाबु ओमभक्त कार्की
(सदस्य सञ्चालक समिति) स्वर्गद्वारी, प्यूठान

बाल तपस्वी स्वर्गद्वारी प्रभुको जन्म वि.सं. १९१६ श्रावण शुक्लपक्ष पुत्रदा एकादशी, बिहीवारको शुभ मुहूर्तमा भएको हो । तत्कालीन सल्यान जिल्ला अन्तर्गत सिद्ध भगवन्त नाथको गुठी मौजा, रुमरी भन्ने ग्राममा गौतम परिवारमा पिता अनिरुद्र गौतम खत्री (के.सी.) र माता सेत कुमारीबाट तपोमूर्ति स्वर्गद्वारी प्रभुको जन्म भएको हो । जन्म नक्षत्र ज्येष्ठा भएकाले सोहीअनुसार नारायण नाम रहे पनि उहाँ आरम्भमा जयराम गौतमका नामले परिचित हुनुभयो । अनिरुद्र्र गौतमका तीन भाइ छोरा भए– जयराम गौतम (स्वर्गद्वारी प्रभु), उदयराम गौतम र मोतीराम गौतम । यीमध्ये जेठा जयराम गौतम सानैदेखि ईश्वरीय अनुष्ठानमा लागेर निवृत्तिमार्गलाई अँगालेर बाल तपस्वी हुनुभयो ।

अनिरुद्रका अरू दुई भाइ छोराहरू घरगृहस्थी सम्हालेर प्रवृत्तिमार्गतर्फ लागे । माहिला भाइ उदयरामका रूपा र कालु दुई भाइ छोरा भए भने कान्छा मोतीरामका विष्णु र दतु दुई भाइ छोरा भए । यिनका सन्तान छोरा नातिहरू पुरानो थलो रुमटी गाउँबाट वसाइ–सराइ गरेर दाङ्ग, रामपुर, पटासे, झिंगौरा, नैनावार आदि ठाउँंमा फैलिएर खेती किसानी गरी जीवनयापन गर्दै रहेका छन् ।

जेठा जयराम गौतम नारायणका नामले पनि चिनिनुभएको हो । उहाँको जन्मकालदेखि नै केही जनश्रुति पनि चलेका छन् । स्वर्गद्वारी प्रभुको जन्म हुँदा रातमा घनघोर वर्षा भइरहेको थियो र पानीका साथ पुष्पवृष्टि समेत भएको थियो । भिक्षाका निहुँले आएका अनेक सिद्धहरूले सद्योजात शिशुको दर्शन गरेका थिए । अर्का अनुश्रुति अनुसार महाप्रभुको छैंटी उत्सव धुमधामसँग मनाइएको थियो । त्यसबखत प्रभुकी माताद्वारा मांसाहार गरेको कारणले प्रभुबाट आमाको स्तनपान गरिएन । सोही रात सपनामा घर परिवारलाई अब उप्रान्त माताको स्तनपान नगर्ने भन्ने जानकारी पनि दिइएछ । यस घटनापछि प्रभुको पोषण गाईको दूधद्वारा हुन थाल्यो । सानैदेखि नै गाउँघरमा हुने गरेका पूजाआजा र कथावाचनमा सामेल हुने बानी उहाँमा विकसित भयो । सोहीअनुकूल चार वर्षको उमेरमा नै एकान्तमा गएर माटा–ढुङ्गाको मूर्ति स्थापना गरी घन्टौसम्म पूजा गर्ने र ईश्वर–चिन्तन गर्ने काममा उहाँ लाग्नुभएको थियो । सानैदेखि प्रभुमा भविष्य ज्ञान गर्ने शक्ति प्राप्त भएको देखिन्छ । आफू पाँच वर्षको हुँदा प्रभुले गोठालालाई त्यस गाउँमा नजाऊ, त्यहाँ पैह्रो जाने छ भनी रोक्नुभएछ । केही समयपश्चात् त्यस ठाउँंमा पैह्रो गएछ । यस कुराको प्रचार–प्रसार चारैतिर भयो । मानिसहरूले उहाँलाई यसै बखतदेखि प्रभु भन्न थाले र हात देखाई भाग्य सोध्न र ग्रहदशा वताइदिन भनी जम्मा हुन थाले । यसरी हरबखत मान्छेद्वारा घेरिएका कारणले उहाँ एकान्तको खोजीमा अन्तध्र्यान हुनुभयो । त्यसको तीन वर्षपछि गुफामा ध्यानमग्न अवस्थामा प्रभुृ फेला पर्नुभयो । यस क्रममा गाउँलेहरूले र मातापिताले समेत विशेष अनुनय–विनय गरी एकान्त स्थलमा कुटी बनाइदिने वाचाका साथ गाउँमा ल्याए । प्रभुले कुटीमा रहेर सधैं नै ईश्वरीय चिन्तन–मननमा ध्यानमग्न रहने हुँदा उहाँलाई मानिसहरूले बालतपस्वी पनि भन्न थाले । प्रभु महाराज ६ वर्षको उमेर भएपछि घर छाडेर गाउँदेखि उत्तर पश्चिमको पहाड ओडारमा पानी नजिक भएको ठाउँ हेरेर तपस्या गरी बस्नुभयो र त्यही अवस्थामा उहाँका पिताज्यू अनिरुद्र गौतमको देहावसान हुँदा पिताजीको अन्त्येष्टि दाहसंस्कारको कार्यमा जंगलबाट आएर सहभागी भई १३ दिनको कार्य सम्पन्न भएपछि उहाँ पुनः आफ्नो तपस्याको काममा संलग्न हुनुभयो । यसरी १२ वर्ष पूरा भएपछि केही योगसिद्धि प्राप्त गरी आए गएका जन मानिसहरूलाई केही भविष्यवाणी पनि गर्न थाल्नुभयो । जसले गर्दा उहाँको दिनानुदिन प्रचार–प्रसार हुन थाल्यो ।

१२ वर्ष वनमा ओडारमा तपस्या गरेपछि उहाँमा योगसिद्धि प्राप्त हुनगयो र उहाँको योगशक्तिको प्रभावले गर्दा मानिसहरू वरपरबाट आकर्षित हुँदै आएर त्यसै अवस्थामा रुकुमबाट शेष आचार्य नामका एकजना ब्राम्हण वटुक आउनुभयो र प्रभु महाराजसँग दीक्षा लिएर पुजारी भई उहाँको साथमा सेवा गरेर बस्नुभयो, उहाँ पुजारी महाराजको नामले पछि प्रख्यात हुनुभयो ।

रुमटिमा बस्दा उहाँहरू गुरुचेला भएर जन–सहयोगको आधारमा केही वर्ष यज्ञहोमादि कार्य पनि गराउनुभयो । त्यसपछि बालतपस्वी प्रभुले सखीको लेकमा तपस्या गरी बस्ने स्वामी सच्चिदानन्द गिरीबाट विधिवत् सन्यास आश्रम लिएर अर्थात् सन्यास ग्रहण गरेर बस्नुभई त्यहाँबाट विस्थापित भएर प्यूठान जिल्लाको स्वर्गद्वारीको लेकमा गएर बस्ने विचार गर्नुभयो ।

पहिले स्वर्गद्वारी लेकमा आफू बस्ने र हवन यज्ञ गर्ने ठाउँं–थलो खोज्न मानिस पठाउनुभयो, हेर्न गएका आफ्ना मानिसहरू ठाउँं–थलो हेरेर आएपछि गाउँलेहरूलाई थाहा नै नदिएर रातको वीचमा रुमटि छाडेर स्वर्गद्वारी प्रभु १९५१ साल माघ–फाल्गुणतिर स्वर्गद्वारी लेकमा आएर कुटि वनाएर हरिभजन गरेर बस्नुभयो ।

त्यसपछि उहाँले जिल्ला सरकार तत्कालीन प्युठानको वडा हाकिमकहाँ र केन्द्रमा तत्कालीन राणा प्राइममिनीष्टर श्री ३ वीर शम्सेर महाराजमा जाहेर गरी आफ्नो झोलीको पैसाबाट खर्च गरेर विश्व–कल्याण, राष्ट्रहितको लागि अखण्ड यज्ञको शुभारम्भ १९५२ साल वैशाख पूर्णीमादेखि थालनी गरी आई अहिलेसम्म अखण्ड रूपले चल्दै आएको लगभग १०५ वर्षको लामो अवधि भइराखेको छ ।

सो अखण्ड यज्ञलाई निरन्तरता दिन र जीवन्त राख्नलाई स्थायी आयस्रोतको दाङ देउखुरीतर्फमा झिगौरा, नैनावार, रामपुर, साइपुर, नयाँगाउँ र काढाखुट्टी र पड्डाहा गरी ७ जिमीदारी मौजाहरू र देउखुरीतर्फ मजगाउ, वनगाउँ, चैलाही, अर्नाहा, उच्चा, निम्वु समेत ५ मौजा गरी जम्मा १२ वटा जिमीदारी मौजाहरू विभिन्न व्यक्तिहरूबाट विभिन्न मितिमा १९८३ सालदेखि १९९६ सम्ममा आफ्ना झोलीको पैसाबाट खरिद गरेर लिई, निजी गुठीको रूपमा राखेर त्यसैका आयस्ताबाट र तीर्थयात्रीहरूबाट प्राप्त भएको भेटी घाटी समेतबाट सो अखण्ड होमादि काम अद्यावधिसम्म चल्दै आइराखेको छ ।

स्वर्गद्वारी प्रभुको मिति १९९७ ।८ ।१७ ।२ मा देहान्त भयो र त्यसपछि श्री ३ महाराज जुद्ध शम्शेरको हु.प्र. ले र कमाण्डर इन्चिफ पद्म शम्शेरको १ छापे दस्तखतले स्वर्गद्वारी आश्रमको सो यज्ञ चलाउनलाई के कति खर्च लाग्ने रहेछ ? दरबन्दी लगत गराउन लगाउँदा सालको रु २१,०८१ ।– खर्च चाहिने भनी रिपोर्ट जाहेर हुँदा स्वर्गद्वारी प्रभुले आर्जन गरी राखेकै जग्गा जमीनको आय समेतले पु–याएर होमादि काम चलाउनु भन्ने १९९८ ।२ ।२८ ।३ मा श्री ३ जुद्ध शम्शेरबाट खड्ग निसाना हु.प्र. भयो ।

त्यसपछि सो यज्ञको खर्चको सम्बन्धमा दोहो¥याएर जाहेर गर्नु भन्ने हुकुम प्रमाङ्गी अनुसार प. क. ज. मोहन शम्शेरको दौडाहाबाट रिपोर्ट जाहेर हुँदा मो १२०० ।– पोतका ३ मौजाहरूको तिरो मिनाहा १९९९ ।१२ ।१७ मितिको खड्ग निसानाबाट भयो र तिरो स्वर्गद्वारी आश्रमले उठाएर खर्चगर्ने गरि आएको छ भने श्री ३ पद्म शम्शेरले पनि मोरु १२०० ।– पोत भएको दाङ झिगौरा मौजाको स्वर्गद्वारी आश्रमले देउखुरी अर्नाहा मौजाको र वनगाउँ मौजाको पाँच आनापंक्ति जग्गाको तिरो मिनाहा गरी दिएकाले २००४ सालदेखि उपरोक्त मौजाको तिरो उठाएर यज्ञको काममा खर्च गर्ने काम हुँदै आएको छ ।

त्यसपछि श्री ३ मोहन शम्शेरले पनि स्वर्गद्वारीका बाँकी मौजाहरूको तिरो मालपोत रु ६३७२ ।– माफि मिनाहा गरि दिएर सो तिरो स्वर्गद्वारीले नै उठाउने कुराको कारवाही चलाइराखेकै अवस्थामा २००७ सालको जन आन्दोलन भएकाले श्री ३ मोहन शम्शेरको शासन कालमा सो काम पूरा हुन सकेन ।

तर प्रजातन्त्र भएपछि पनि त्यसबारेमा कारवाही चल्दै गयो र २०१३ सालमा गएर सो तिरो ६,३७२ ।– को रकम दाङ मालले पूजा खर्चबापत भनी श्री ५ को सरकारको निर्णयअनुसार स्वर्गद्वारी आश्रमलाई दिने गरी राखेको छ ।

स्वर्गद्वारी आश्रमको नाममा र रजबन्धकी विर्ता त्यस मौजाको र देउखुरी मजगाउँको प्यूठान भिङ्ग्री, टाकुरा, सिउवाङ्ग मौजाको पोत तिरो उठाउन खर्च गर्न पाउने कुराको श्री ५ त्रिभुवन सरकारबाट २ थान लालमोहर हुनुको साथै अर्को चर्सा मदभट्री रकमको लालमोहर २००४ सालमा भैराखेको छ । यी सब अभिलेख चाहिएको अवस्थामा स्वर्गद्वारी आश्रमतर्फबाट उपलव्ध हुन सक्छ ।

स्वर्गद्वारी प्रभुले स्वामी सच्चिदानन्द गिरीलाई सन्यास गुरु स्थापना गरी उहाँबाट आफूले सन्यास आश्रम ग्रहण गरे तापनि उहाँले जे जति जग्गा जमिन खरिद गरेर लिनुभएको छ, राजिनामा लिखतमा र मालले दिएको जिमीदारी चलन बहाली पत्रमा पनि वालतपस्वी नै उल्लेख भएको कुरा सो अभिलेखहरूबाट देखिनाले उहाँको चलन चल्तीको नाम वालतपस्वी प्रभु नै कायम रहनु नै समयसापेक्ष एवं सान्दर्भिक देखिन आउंछ ।

अतः तत्कालीन सल्यान जिल्लाको रुमटीको अपठित समाजमा जन्मेका स्वर्गीय बालतपस्वी प्रभुले न कतै देश विदेश गएर शिक्षा हासिल गर्नुभयो, फगत बाल्यावस्थामा १२ वर्षसम्म एकान्त ओढारमा बस्दा खेरीको आफ्नो अनुभवले स्वर्गद्वारी आश्रममा आएर गौ, ब्राहृमण, अग्नि, वेद तथा अतिथिसेवा निष्काम भावले गर्दै आएकाले राप्ती अञ्चलको मात्र होइन कि समस्त नेपाल राष्ट्रको हित–कल्याण गर्नुका साथै गौतम वंशको, अत्रि गोत्रको नामलाई पनि समुज्ज्वल पार्नु भएको कुरा उल्लेख गर्नुमा अत्युक्ति नहोला ।

उहाँकी माता सेतकुमारी गौतम पनि वृद्धावस्थामा स्वर्गद्वारी आश्रममा नै संन्यास आश्रम ग्रहण गरी हरिभजन गर्दै आफ्नो भौतिक कलेवर स्वर्गद्वारीमा नै परित्याग गरेर आफू व्रहृमलीन हुनुभएको छ ।

स्वर्गद्वारी आश्रम, स्वर्गद्वारी खाल गा.वि.स.को वार्ड नं. ४ मा ६९६० फीटको उचाइ भएको स्वर्गद्वारी लेकको पर्वत शिखरमा अवस्थित छ र उत्तरमुख फर्किएर अवस्थित भएकाले त्यहाँबाट धौलागिरी, माछापुच्छ्रे, हिमशिखर दृश्यावलोकन राम्ररी गर्न सकिन्छ ।

तपोभूमि स्वर्गद्वारी रहेको कारणबाट अञ्चल विभाजन गर्दा राप्ती अञ्चलको पहिलो नामाकरण स्वर्गद्वारी अञ्चल रहेको र पछि मात्र राप्ती अञ्चल नामाकरण गरिएको हो । यो जिल्ला महाभारतको प्रदेश भित्र पर्दछ । यसको पूर्वमा गुल्मी, दक्षिणपूर्वमा अर्घाखांची, पश्चिममा सल्यान, उत्तरमा रोल्पा र वाग्लुङ्ग जिल्ला पर्दछ । स्वर्गद्वारी आश्रम ६,९६० फीट अग्लो स्वर्गद्वारी लेकमा अवस्थित छ । माडी (माण्डवी) र झिमरुक (धर्मावती) यी दुई नदीको फाँट यस जिल्लाको सबभन्दा ठूलो उर्वरा फाँट मानिन्छ ।

प्युठान चौविसे राज्यहरूको समूहमा पर्ने र मध्यकालमा भिंग्री उदयपुर र खुंग्री भुरे राज्यहरू पनि थिए । लिच्छवीकाल पछि मल्ल राज्यहरू र सेनवंशी राज्य समेत रहेको तथा उदयपुरका राजा व्राम्हण रहेको देखिन्छ । हैमिल्टनले उल्लेख गरे अनुसार खंग्री, भींग्री, इस्मा र मुसिकोट प्यूठानको अनुयायी र समर्थक रहेको पाइन्छ । प्यूठानलाई काजी दामोदर पांडेले सम्वत् १८४३ मा नेपाल अधिराज्यमा एकीकृत गरेको र उदयपुरका राजालाई जीवनभर राजाको उपाधि पाउने व्यवस्था गरेका थिए । विक्रम सम्वत् २००९ सालमा प्यूठान जिल्लाको प्रशासन, पाल्पाबाट छुट्टिई प्यूठान गोश्वाराबाट नै चल्ने व्यवस्था भएको हो ।

विद्वच्छिरोमणि पं. कुलचन्द्र गौतमको संक्षिप्त परिचय

– प्रा. माधवराज गौतम

विद्वच्छिरोमणि कुलचन्द्र गौतम नेपाली माटोमा उदाएका सारस्वत पुरुष हुनुका साथै आफ्ना समकालीन विद्वानहरूमा अद्वितीय पनि छन् । नेपाली र संस्कृतवाङ्मयमा समान रूपमा अव्याहत गतिमा कलम चलाउने विद्वच्छिरोमणिले संस्कृत भाषामा दर्जनौं काव्य, नेपाली भाषामा काव्य र काव्यशास्त्र रचना गरेर भाषका भण्डार भएका छन् । यस अतिरिक्त आयुर्वेद, कोश, कर्मकाण्ड जस्ता विषयमा पनि उपयोगी ग्रन्थ रचेर गौतमले आफ्नो बहुमुखी प्रतिभा, त्याग र निष्ठाको परिचय दिएका छन् । यसैले उनी संस्कृत तथा नेपाली साहित्याकाशमा अजर र अमर छन् ।

धादिङ्ग जिल्लाको जीवनपुर गाउँमा वि.स. १९३४ मा पं. रमाकान्त शर्मा (गौतम) का सुपुत्रको रूपमा विद्वच्छिरोमणि पं. कुलचन्द्र गौतमको जन्म भएको हो । आफ्नै वुवाको प्रेरणाबाट अध्ययनमा संलग्न भएका सो गौतमले आफ्नो सबै अध्ययन राजकीय संस्कृत महाविद्यालय काशीबाट पूरा गरेका हुन् । उनी संस्कृतका विशिष्ट कविका साथै आयुर्वेद र दर्शनशास्त्रका पनि आधिकारिक विद्वान् थिए । संस्कृत वाङ्मयका प्राचीन आदर्शको अनुुकूल व्यवहार गर्ने कवि गौतमले अफ्ना काव्यहरूमा पनि प्राचीन आदर्शलाई कुशलतापूर्वक उतारेका छन् । उनमा काव्यको अर्थ गर्ने अद्वितिय क्षमता थियो । संसारका धेरैजसो विद्वान्हरूबाट अर्थलगाउन नसकिएको एउटा संस्कृत पद्यलाई अथ्र्याउने उद्देश्यले जर्मनिका विद्वानहरूबाट पठाइँदा उनले व्युत्पत्तिपूर्वक त्यसको चौध अर्थगरेर पठाएको प्रसँग यस सन्दर्भमा संस्मरणीय छ । उनलाई साहित्यमणि, साहित्यभूषण, विद्वच्छिरोमणि, प्रबल गोरखा दक्षिणवाहु जस्ता विभिन्न पदवीद्वारा विभूषित गरिएको थियो । साहित्याचार्य सम्मका सबै परीक्षाहरूमा प्रथम श्रेणीमा उत्तीर्ण स्व. गौतमले महामहोपाध्याय गंगाधरशास्त्री तैलंग र उनका भाइ महामहोपाध्याय रामशास्त्री तैलंग जस्ता विद्वान्हरूसँग अध्ययन गरेका हुन् । आफ्नो अध्ययन कार्य समाप्त गरी उनी केही समय नेपालमानै बसेपछि फेरी काशीतर्फ फर्किएका थिए । त्यहिँबाटनै उनका विभिन्न कृतिहरू प्रकाशित भएका हुन् । आफ्नो साधनामय जीवनमा निरन्तर संस्कृत वांगमय र मातृभाषा नेपालीको सेवामा समर्पित अद्वितीय प्रतिभाका धनी विद्वच्छिरोमणि कुलचन्द्र गौतम वि.स. २०१५ सालमा काशीमा ब्रहृमलीन भएका हुन् ।

कवि कुलचन्द्रद्वारा आफ्नो साधनामय जीवनमा लेखिएका तीन दर्जनभन्दा बढी उच्चकोटिका कृतिहरू संस्कृत साहित्य र नेपाली साहित्यका अनमोल रत्नका रूपमा रहेका छन् । यस लेखमा तिनको संक्षिप्त परिचय प्रस्तुत गरिदै छ । उनका प्रकाशित कृतिहरू निम्नअनुसार छन् । यसबाहेक दर्जनौं अप्रकाशित कृतिहरू पनि रहेका छन् ।

प्रकाशित कृति
१) शोक महोर्मि

२) स्वयंवैद्य

३) कृष्णकर्णाभरण

४) अलङ्कारचन्द्रोदय

५) भागवतमञ्जरी (वि.सं.१९८४)

६) गंगागौरवम् (वि.सं.१९९२)

७) प्रपञ्चचर्चा (वि.स.१९९३)

८) रामायणवन्दना (वि.सं.१९९३)

९) अमरकोश–परिशेष (वि.सं.१९९३)

१०) प्रेमपञ्चपञ्चाशिका (वि.सं.१९९५)

११) तुलसीदासकृत रामचरितमानसको भावबोधिनी नेपाली टीका (वि.सं.१९९६)

१२) भागवतवन्दना (वि.सं.२००५)

१३) विवाहपद्धति (वि.सं.२००७)

१४) आदर्शदम्पती सीतारामौ (वि.सं.२०१२)

१५) राघवालङ्कार (वि.स.२०१५)

१६) अमरकोशको नेपाली टीका (वि.स. २०२५)

१७) संस्कृत–नेपाली शब्दकोश (वि.सं.२०५४)

१८) योगकौमुदी –वि.सं.२०५७)

यसबाहेक अन्य संस्कृत कविताहरू पनि विभिन्न पत्र–पत्रिकामा प्रकाशित छन् ।

कीर्तिर्यस्य स जीवति
दानवीर स्वर्गीय श्री हरिहर गौतम
— युवराज शर्मा, गौतम

गौतम कुलमा ३ जना व्यक्तिको नाम उल्लेखनीय रहेको छ । यी तीन नक्षत्रहरू हुन्– एक अध्यात्म क्षेत्रबाट ठूलो प्रसिद्धि पाएका स्वर्गद्वारी महाप्रभु श्री वालतपस्वी । दोस्रोमा नेपाल र भारत (काशी) मा समेत अत्यन्त ख्याति प्राप्त ठूला विद्वान, विद्वच्छिरोमणि श्री कुलचन्द्र गौतम र तेस्रोमा पश्चिम नेपालका अति सम्पन्नशाली व्यक्तित्व श्री हरिहर गौतम ।

उपर्युक्त तीनै विशिष्ट व्यक्तिहरू ऐतिहासिक भैसक्नुभएको छ । उहाँहरूमध्ये श्री हरिहर गौतमको संक्षिप्त परिचय यस लेखमा प्रस्तुत गरिएको छ ।

श्री हरिहर गौतमको जन्म विक्रम सम्वत् १९५८ साल मार्ग शुक्ल पञ्चमीका दिन जलेश्वर, महोत्तरीमा भएको हो । उहाँका पिताको नाम तारानाथ गौतम र माताको नाम टीकाकुमारी हो । उहाँको स्थायी वसोवासको घर आार्घाखाँची जिल्लाको खिदिम, पोखराथोक हो । राणाकालमा उहाँका पिताजी जागीरे भई सुव्वाको पदसम्म प्राप्त गर्नु भएको र जागिरकै सिलसिलामा जलेश्वरमा कार्यरत रहँदा हरिहरजीको त्यहीं जन्म भएको हो । श्री हरिहर गौतम सानै उमेरदेखि प्रखर बुद्धिका प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । पण्डित दधिराम मरासिनीबाट उहाँको प्रारम्भिक शिक्षाको साथै उपनयन (व्रतवन्ध) संस्कार मन्त्रदीक्षा भयो । संस्कृत व्याकरण आदिको शिक्षा पनि गुरुबाटै सम्पन्न भएकोे थियो । हरिहर जी वैदिक सनातन धर्म एवं आर्य संस्कृतिका अनुयायी, निष्ठावान् साधक र कर्मठ व्यक्ति हुनुहुन्थ्यो ।

सम्पन्न परिवारमैं जन्मेका हरिहर आफ्नो पैतृक सम्पत्ति (वर्दियाका १० मौजा) मा समय अनुसार अझ वृद्धि गर्ने महŒवाकांक्षा लिई प्रौढ अवस्थासम्ममा खिदिम, बर्दिया, बाँके, कपिलवस्तु, काठमाडौं, त्रिशुली र दाङमा समेत गरी करीव सोह्रहजार (१६०००) विघा जमीन आर्जन गरी नेपाल अधिराज्यकै धनाढ्य एवं सम्पन्नशाली व्यक्तिहरू (जमीनदारहरू) मध्येमा गनिनुभएको थियो ।

अथाह सम्पत्ति खास गरी हजारौं विगाहा जग्गा तराई बर्दियामा भएका व्यक्ति हरिहर धेरैजसो उतै बस्ने हुनाले पहाड घर खिदिम कमै जाने गर्नुहुन्थ्यो । एक समयको कुरा हो— खिदिम गएको बेला आफ्नो घरमा रहेको धान गोदाममा डेढसय मुरी धान राखिएकोमा गोदामको निदाल भाँचिएर थाम्न नसकी धान भुइँमा छितरिएको देखेपछि उहाँको मनमा केही विचार आएछ । हुन त त्यो धान बर्सेनी जसो बिक्री गरी नगद पार्ने चलन थियो तापनि आफ्ना गुरु पं. दधिरामलाई देखाउँदा गुरुले त्यो धान अनाजबाट संस्कृत विद्यालय संचालन गर्न सल्लाह दिनुभएछ । त्यही सुझावबाट प्रेरणा लिएर १९९४ सालमा आपूm ३६ वर्षको हुँदा ३६ जना छात्रहरूलाई भोजन एवं आवासको व्यवस्था गरी संस्कृत पाठशाला संचालन गर्ने संकल्पका साथ गुरु पं. दधिरामलाई नै प्रधान अध्यापक तोकी पाठशाला संचालन गर्ने अभिभारा पनि उहाँलाई नै दिई हरिहरजीले संस्कृत विद्यालयको स्थापना गर्नुभयो । उक्त पाठशालामा आवश्यकता अनुसार अन्य अध्यापकहरू पनि नियुक्त गरिए र शुक्ल यजुर्वेद, संस्कृत व्याकरण कौमुदी, कोश र काव्यहरू पढाउने व्यवस्था भयो

त्यस बखत, राणाकालमा शिक्षाको व्यवस्था न भएको समयमा, एक व्यक्तिबिशेषबाट विद्यालय भवनको व्यवस्था, अध्यापकहरूलाई तलब आदिको व्यवस्था एवं ३६ जना छात्रहरूलाई आवास भोजन आदिको प्रबन्ध गरी क्रमशः प्रतिवर्ष १ जना छात्र थप गर्दै जाने नीति अनुरूप भर्ना गर्ने र पढाउने व्यवस्था गरियो । निश्चय नै यो साधारण काम थिएन ।

राजधानी काठमाडौंमा सरकारबाट संचालित रानी पोखरी संस्कृत प्रधान पाठशाला पछि, भोजपुरको दिङला, जनकपुरको मटियानी र रिडी रुरु क्षेत्रको संस्कृत पाठशालाहरू भन्दा खिदिमको हरिहर संस्कृत पाठशालाले पढाइ र प्रबन्धको दृष्टिले धेरै प्रसिद्धि पायो । त्यहाँ अध्ययनरत विद्यार्थीहरूले पूर्वमध्यमा सम्मको पढाइ पूरा गरेपछि उनीहरूलाई परीक्षा दिनका लागि बनारस (काशी) पठाउने गरिन्थ्यो । काशीमा पनि हरिहर संस्कृत पाठशाला स्थापना गरी विद्यार्थीहरूलाई समुचित छात्रवृत्ति रकम उपलव्ध गराई संस्कृतमा मध्यमा (आई. ए.) सम्मको अध्ययन गराइने व्यवस्था भयो । यसले गर्दा पश्चिमाञ्चल क्षेत्रका अधिकांश जिल्लाका व्यक्तिले पढ्ने सुअवसर पाए । वस्तुतः हरिहर संस्कृत पाठशालाले सामान्यतः अधिराज्यव्यापी विशेष गरेर पश्चिमाञ्चल क्षेत्रमा शिक्षाको ज्योति फैलाएको हो ।

वर्तमान अवस्थामा— प्रारम्भमा उक्त विद्यालयमा अध्ययन गरेका छाात्रहरू डाक्टर, इन्जिनीयर, प्राध्यापक, वरिष्ठ प्रशासक एवं नेता र मन्त्री समेत भएका धेरै उदाहरणहरू छन् । यसरी हरिहरले आफ्नो अथक प्रयास र दुःखले आर्जित गरेको सम्पत्ति आफ्नै मोजमस्तीमा पनि लगाउन सक्नुहुन्थ्यो र धेरैले यस्तो गरेका पनि छन्, तर उहाँले त्यसो नगरी स्वआर्जित सम्पत्तिको अधिकांश हिस्सा शिक्षा विकासमा लगाउनुभयो । त्यसैले उहाँलाई महान् शिक्षाप्रेमी, शिक्षाप्रवर्तक र शिक्षाप्रवद्र्धक भन्नु अत्युक्ति नहोला ।

विक्रम सम्वत् २०२२ सालमा हरिहर गौतम दिवंगत हुनु भएपछि उल्लिखित खिदिमको हरिहर पाठशाला संचालनमा आर्थिक कठिनाइले बाधा पर्न गएको थियो । तर उहाँको शेषपछि, हरिहरजीका सुपुत्रद्वय विष्णुहरि गौतम र लक्ष्मीहरि गौतमले पिताश्रीको आकांक्षालाई ध्यनमा राखी कपिलवस्तु जिल्लामा राजमार्ग नजिग रहेको आफ्नो पैतृक ६८ विघाहा जग्गा उक्त पाठशालालाई प्रदान गर्नुभएकोले विद्यालयले निरन्तरता पाएको छ र सम्पन्न विद्यालयको रूपमा संचालित पनि छ ।

श्री हरिहरको शिक्षा क्षेत्रमा विशेष योगदानका अतिरिक्त धार्मिक जीवनशैलीका क्रियाकलापहरू र केही विकास सम्बन्धी कार्यहरू पनि उल्लेखनीय रहेका छन् । माथि पनि उल्लेख भएको छ कि उहाँ वैदिक सनातन धर्मका कट्टर अनुयायी, निष्ठावान् धार्मिक व्यक्ति हुनुहुन्थ्यो । त्यसैले उहाँले प्रातःकाल ४ वजे स्नान गरी गायत्रीजप, पूजापाठ, नित्य तर्पण वलिवैश्वदेव गरी दैनिक ३ घण्टा लामो नित्यकर्म गर्ने गर्नुहुन्थ्यो । आफ्नो जीवनकालमा उहाँले गायत्री पुरश्चरण, सहस्र शिवलिंग पूजन, शतरुद्री, धान्यपर्वत महायज्ञ, चारै धाम लगायतका तीर्थाटन, १०८ शैयादान,गोदान, लक्षहोम आदि धार्मिक कृत्यहरू गर्नुभएको थियो ।

विकासतर्फ पनि उहाँ को रुचि रहेको देखिन्छ । विक्रम सम्वत् १९९२ सालमा अर्घाखाची जिल्लाको डाँडा कटेरीदेखि कोप्चा भन्ने ठाउँँसम्मको घोडेटो बाटो वनाउनुभएको र त्यस्तै खिदिमदेखि मदेश(तराई) जाने अतिविकट दह भन्ने ठाउँँको बाटो विस्तार गरी मानिस र पशुवस्तुलाई समेत आवत– जावत गर्न सुगम तुल्याइएको थियो । बर्दिया जिल्लाको सदर मुकाम गुलेरियास्थित तत्कालीन मिडिलस्कुल (हाल नयाँ नामकरण भएको महाकवि लक्ष्मीप्रसाद देवकोटा हाइस्कुल) को निर्माण र विस्तार कार्यमा पनि आर्थिक सहयोग गर्नुभएको थियो ।

यसरी श्री हरिहर गौतमको जीवनी हेर्दा– उहाँ सनातन बैदिक हिन्दू धर्मका निष्ठावान् साधक, शिक्षा विकासका प्रण्ोता, उदार दाता एवं विकासप्रेमी भएको देखिन्छ र साँच्चै नै उहाँलाई दानवीर हरिहर भन्नु सही र सार्थकसिद्ध हुन् आउँछ ।

भवानी गौतमको संक्षिप्त जीवनी
– खेमलाल गौतम, चकचकी ४, झापा

नाम ः पं. भवानीप्रसाद गौतम

जन्म मिति ः १९९० साल जेठ १ गते

जन्म स्थान ः ताप्लेजुङ्ग, साङ्गलुप्पा गाउँ

हालको ठेगाना ः झापा दमक, हाल– विराटनगर न.पा., मोरङ्ग

पिताको नाम ः बलराम गौतम

माताको नाम ः गायत्रादेवी गौतम

पत्नीको नाम ः पुष्पादेवी गौतम

छोराको नाम ः (१) तोयनाथ गौतम (२) थलीन्द्रनाथ गौतम

छोरीको नाम ः (१) मुनादेवी (२) खेमकुमारी

गौतम वंशका कुलमणि पं. भवानीप्रसाद गौतम लगभग आधा शताब्दीदेखि गौतम वंशको खोज–अन्वेषणमा संलग्न कुलमणि नै हुनुहुन्छ । ताप्लेजुङ्ग जिल्लाको साङ्गलुप्पा गाउँ जस्तो अति दुर्गम क्षेत्रमा १९९० सालमा जन्मनु भएका तीक्ष्णबुद्धिका धनी भवानीज्यूले बाल्यकालमै माता–पिताको मृत्युपछि अनेकौं दुःख–कष्ट सहनुप¥यो । गाउँघरमै प्रारम्भिक शिक्षा हासिल गरेर शिक्षक भई औपचारिक नर्मल शिक्षा पास गरेका पं भवानीज्यूले स्वाध्ययन बढाएर संस्कृत शिक्षा समेत हासिल गर्नु भएको कुरा उहाँले सप्ताह यज्ञमा भागवतको वाचन र व्याख्यान गरेबाट पनि स्पष्ट हुन्छ । १५ वर्षकै उमेरमा २००५ सालदेखि शिक्षक पेशामा लागेर उहाँले २०१२ साल सम्म अफ्नै गाउँमा अनौपचारिक ढङ्गबाटै पाठशाला खोल्नुभयो र गाउँले बालबालिकालाई शिक्षा दिने काम गर्नुभयो । यस क्रममा नर्मल स्कूल तालिम हासिल गरेपछि २०१३ सालदेखि आफ्नै गाउँ साङ्गलुप्पामा महेन्द्र सुबोधिनी विद्यालय आफ्नै सक्रियतामा स्थापना गरेर प्रधान अध्यापक भई अध्यापन कार्यमा उहाँ संलग्न हुुनुभयो ।

यसै बीचमा कृषि गणनाको मुखिया, अदालतको नौसिन्दा, जनगणनाको मुखिया, भूमी सुधारको खरिदार आदि पदमा काम गर्दै सोही अवधिमा नै समय मिलाएर भवानीज्यू २०१६ सालदेखि वंशावली सङ्कलन कार्यमा लाग्नु भयो ।

ज्योतिष विद्यामा समेत प्रवीण भवानीज्यूले पञ्चाङ्ग (पात्रो) लेख्ने, प्रकाशन गर्ने आदि कार्य गर्नुभएको पाइन्छ । २०२३ ।०२४ बाट उहाँले साहित्य क्षेत्रमा तुवाँलो र मुहान नामक पत्रिका प्रकाशन गर्नुका साथै विभिन्न लेखहरू लेख्ने कामलाई निरन्तरता दिंदै आएको पाइन्छ । यस बाहेक विभिन्न ठाउँंमा विद्यालय, धर्मशाला, पाटी–पौवा, देवालय आदि स्थापना तथा सञ्चालनमा समेत उहाँँँँको योगदानका साथै गौतम वंश सेवा समिति, झापाको स्थापना उहाँबाट भयो । हाल उहाँकै संरक्षकत्वमा यो संस्था सञ्चालित छ । २०२५ सालमा ताप्लेजुङ्गबाट बसाईं सरी झापा दमकको वसोवासपछि २०२७ सालपछि झापा ढुकुरपानीमा अध्यापन पश्चात् दमककै भाङ्गबारीमा आफ्नै सक्रियतामा विद्यालय स्थापना तथा सोही विद्यालयको प्रधानाध्यपक भई २०४३ सालसम्म कार्यरत रहनुभयो ।

यसै बीच गौतम वंशावली खोज तथा प्रकाशन जस्तो कठिन कार्यलाई निरन्तरता दिंदै अनेकौं दुःख–कष्ट सहेर देश–विदेशका विभिन्न ठाउँंहरूमा पुगेर सबै गौतम परिवारलाई एकसूत्रमा गाँसेर वंशावली प्रकाशन गरी गौतम वंशका कुलमणि बन्नु भयो ।

२०४३ सालदेखि अध्यापन पेशाबाट अवकाश लिएर हाल अद्वैत संस्थामा संलग्न भई महाविद्यालयको प्रमुख देशिक भएर मेचीदेखि महाकालीसम्म धार्मिक कार्यमा उहाँ कार्यरत रहनु भएको छ । भवानीज्यूले वंशावली सङ्कलन तथा प्रकाशन जस्तो कठिन कार्य गरी जग बसाई दिएर २०३९ सालदेखि यस कार्यलाई संस्थागत रूपमा अघि बडाउने भनी संस्थालाई जिम्मा दिनु हुने भवानीज्यूको यस कार्यलाई निरन्तरता दिनु हामी सबै गौतम परिवारको जिम्मेवारी भएको छ । गौतम वंशका कुलमणि श्री भवानीज्यूको यस कार्यलाई निरन्तरता दिने ममा त्यति क्षमता नभए तापनि यस कार्यबाट प्रभावित भई उहाँकै प्रेरणाबाट २०४२ सालदेखि म खेमलाल गौतम वंशको खोज (वंशावली सङ्कलन) कार्यमा लागि उहाँको कार्यलाई निरन्तरता दिने प्रयास गर्दै आएको छु । १५ वर्षको अवधिमा जे जति नयाँ पुस्ता तथा छुट नामावली सङ्कलन भयो र गौतम समाज काठमाडौंद्वारा सङ्कलित नामावली तथा अन्य सङ्कलकहरूद्वारा सङ्कलित नामावली समेत समावेश गराई गौतम समाज काठमाडौंद्वारा प्रकाशित यो वंशावलीमा पनि अभैm धेरै छुटेको हुन सक्छ । अथवा गल्ती पनि हुन सक्छ । तसर्थ सम्पूर्ण गौतम बन्धुहरूमा सविनय अनुरोध यो छ कि भुल भए सच्च्याउनका लागि छुट भए समावेशका लागि गौतम समाजमा सम्पर्क, पत्रव्यवहार र स्वयं सरिक भई कार्य गर्न पनि विनम्र अनुरोध गर्दछु ।

पं भवानी गौतमद्वारा रचित तथा प्रकाशित कृतिहरू
१) गौतम कुलको सुन्दर कुसुम २०१७

२) गौतम वंश बटवृक्षाकार २०२४

३) गौतम वंश परिचय प्रमाण २०२७

४) गौतम वंशावली लता २०३१

५) गौतम पुस्तावली नामाङ्क २०३२

६) गौतम वंशावली छन्दोबद्ध २०३३

७) गौतम वृहत् अत्रिदर्पण २०३७

८) गौतम कुलदेवता पूजा २०३८

९) गौतम अत्रिवंश दर्पण २०३९

– १– कोष्ठान्तर्गत भाग स्थान भेदअनुसार परिवर्तन गर्नू ।
क्रम

विषय

पृष्ठ

अ.

सम्पादकमण्डलका सदस्यहरु

(ग)

आ.

गौतम समाजका संरक्षक, सल्लाहकारहरु

(घ)

इ.

गौतम समाज–कार्यसमितिका पदाधिकारीहरु

(ङ)

ई.

शुभकामना

(च)

उ.

सम्पादकीय

(छ)

ऊ.

प्रकाशकीय

(ट)

ए.

विषयसूची

(ङ)

१.

महर्षि अत्रि तथा माता अनसुयामा पुष्पार्पण

२.

कुल देवता पूजा पद्धति

३.

कर्मकाण्डसम्बन्धी अत्यावश्यक जानकारी

२४

४.

गौतम वंशको संक्षिप्त परिचय

२६

५.

गौतम वंशको इतिहासका केही कुरा

२९

६.

गोतम र गोतामे (गौतम) थर

३३

७.

स्वर्गद्वारी प्रभु (वाल तपस्वी)

३४

८.

विद्वच्छिरोमणि पं. कुलचन्द्र गौतमको संक्षिप्त परिचय

३७

९.

दानवीर स्व. श्री हरिहर गौतम

३८

१०.

भवानी गौतमको संक्षिप्त जीवनी

४०

११.

वंशावली हेर्ने तरिका

४२

१२.

वंशवृक्ष

४३

१३.

गौतम वंश मुल पुरुषसँग जोड्ने वंशलता

४४

वंशावली विवरण–तालिका
क्र.सं.

जिल्ला

वंश

पृष्ठ संख्या

१४

अर्घाखाँची, खिदिम

श्रीधर वंश परिचय

४८

हेमन्त पुत्र वालै पाध्ये वंश

४८

हेमन्त पुत्र विशु पाध्ये वंश

५३

हरिदास पुत्र माधव वंश

६१

सुन्दर पुत्र वलीभद्र वंश

६२

सुन्दर पुत्र नरपति वंश

६३

रामुदास वंश (श्रीधर पुत्र)

६३

वासुदेव वंश (श्रीधर पुत्र)

६४

गिरिधारी वंश (श्रीधर पुत्र)

६६

१५.

इलाम

इलाम, साँखेजु·ःहेमन्तपुत्र गंगाधर वंश

६९

इलामबाट धनकुटा सान्ने गएको पद्मलाल वंश

७१

१६.

ओखलढु·ा

सुकरुपुत्र पुन्नाखर वंश

७४

तुलाराम वंश

७९

१७.

कास्की पोखरा

जागेश्वर र पुरण वंश

८३

१८.

गुल्मी

श्रीकृष्ण वंश (जुहा·)

८९

अश्लेवा ः वालानन्द वंश

९३

थोर्गा ः जयनारायण वंश

९६

अर्सेवा ः रामचन्द्र पाध्ये वंश

९९

चन्द्रकोटः धुरुमणि वंश

१००

नारायणदास वंश

१०३

विशुखर्क ः श्रीदास पुत्र वशु वंश

११३

अमरपुर ः कालुपाध्याय वंश

११६

१९

ताप्लेजु·

सुकरुपुत्र गंगाधर वंश

११९

पशुपति वंश

१५२

२०.

तेह्रथुम

हेमन्त पुत्र शिरपति वंश

१५९

कोयाखोला ःहेमन्त पुत्र वैजनाथ वंश

१७२

२१.

दा·

प्युठान ः खलु वंश

१८२

घोराही ः कावरी पौत्र, दिवोदास वंश

१९४

हापुर ः दिवोदास वंश

१९९

२२

धादि·

जीवनपुर ः स्वामी वद्रीनाथ वंश

२०५

२३.

प्युठान

स्वर्गद्वारी ः इन्दीवर पुत्र वृहस्पति वंश

२२४

२४.

बाग्लु·

मुलपानी ः लक्ष्मीधर पुत्र हरिदास वंश

२२६

गल्कोट ः केदार पुत्र श्यामदास वंश

२३२

बाटाकाचौर ः मैत्रेपाध्ये वंश

२५७

२५.

भोजपुर

पापु·ा ः सुकरु पुत्र वालकृष्ण वंश

२६०

सिस्नेरी ः वेणुधर वंश

२७२

२६.

मोर·

पिपलडाँगी ः शान्तुपौत्र भाष्कर वंश

२७५

२७.

रुकुम

कालिदास, खडानन्द वंश

२८०

मुसिकोट ः जीवदास वंश

२८३

२८.

ललितपुर

सिस्नेरी ः सुकरु पुत्र, गंगाधर (गंगाराम) वंश

२८७

२९.

संखुवासभा

चैनपुर, भञ्ज्या·खर्क ः हेमन्त पुत्र, तुलाराम वंश

३००

चैनपुर, भञ्ज्या·खर्क ः हेमन्त पुत्र, ऋषिराम वंश

३०७

३०.

विभिन्न जिल्ला

छुट वंशहरु

३११

३१.

गौतम समाजका आजीवन सदस्यहरु

३२६

३२.

विभिन्न क्षेत्रमा योगदान पु¥याउने गौतमहरु

३६३

विविध

३६३

सांसद एवम् मन्त्रीहरु

३६५

वाङ्मय क्षेत्रका गौतमहरु

३७०

अध्यापन क्षेत्रका गौतमहरु

३७२

न्याय क्षेत्रका गौतमहरु

३७५

निजामती सेवाका गौतमहरु

३७६

३३.

गौतम समाजको निमित्त जिन्सी एवं नगद सहयोग गर्ने गौतम वन्धुहरुको विवरण

३७७

३४.

विभिन्न ठाउ“हरुबाट प्राप्त लालमोहरहरु

३८०

ज्यmभ ऋयलतभलत

Leave a Reply